मलंगवा, असार ११ : जिल्ला प्रशासन कार्यालय सर्लाहीले वैदेशिक रोजगारीमा ठगिएका एक व्यक्तिको ठगी भएको रकम फिर्ता गराएको छ ।
जिल्लाको चक्रघट्टा गाउँपालिका–३ का सूर्याकुमार साह ठगिएकोमा जिल्ला प्रशासन कार्यालयले ठगी भएको दुई लाख रुपैयाँ रकम फिर्ता गराइदिएको हो । साहलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ईश्वरपुर नगरपालिका–३, का वीरेन्द्र साहले दुई लाख रुपैयाँ लिएको तर पछि विदेश नपठाएपछि पीडितका तर्फबाट जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा ठगी गर्ने व्यक्तिसँग रकम फिर्ता गरी आज सूर्याकुमारका आमा रामरिखी देवीलाई कार्यालयमा बोलाइ उक्त रकम हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनायो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको हातबाट रामरिखी देवीलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
रामरिखीका छोरा सूर्याकुमार भने अर्कै व्यक्तिमार्फत वैदेशिक रोजगारीमा गइसकेका छन् । वैदेशिक रोजगारीमा भएका यस्ता किसिमका ठगीको घटनाबारे जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिन सक्ने कानून व्यवस्था छ ।