काठमाडौं : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले आम निर्वाचनमा पार्टीलाई पहिलो बनाउन सबै एक ढिक्का भएर लाग्नुपर्ने बताएकी छन्।
नेपाल महिला संघ केन्द्रीय समितिले राजधानीमा आयोजित कार्यक्रममा बोल्दै राणाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन सबै एक जुट भएर अघि बढनुपर्ने बताएकी हुन्।उनले भनिन्,’ स्थानी तह निर्वाचनको परिणामले कांग्रेसप्रति जनताको विश्वास बढेको छ। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि कांग्रेसलाई एक नम्बरको पार्टी ठूलो बनाउन सबै जुटौं।’
सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तय गरेको छ।राणाले सानातिना कुरामा नअल्झिएर महिलाका समस्यालगायतका मुद्दा उठाउनुपर्नेमा जोड दिइन्।
उनले पछिल्लो समय तीज गीतको मौलिकता हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरिन्। उनले भनिन,’ तीजमा महिला अधिकार, महिलाका मुद्दा उठाऔं, तीजको महत्व र गरिमा घट्न दिनुहुन्न।’
१ भदौ, काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने भएको छ । अध्यक्ष रवि लामिछानेले बुधबार एक भिडियो सन्देशमार्फत आफ्नो पार्टी प्रतिनिधि सभा चुनावमा सहभागी भए पनि प्रदेश सभा चुनावमा भने सहभागी नहुने जानकारी गराएका हुन । निर्वाचन आयोगले ४ मंसिरमा एकै पटक प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने तयारी गरिरहेको छ ।
प्रदेश सभाको चुनावमा सहभागी हुनु भनेको राज्यकोष दोहनमा सहभागी हुनु भएको तर्क लामिछानेको छ । तर, उनले आफूहरु व्यवस्था विरोधी नभएको जिकिर गरेका छन् । ‘यही संरचनामा हामी प्रदेश मातहतको चुनावमा सहभागी हुनु भनेको राज्यकोष दोहानमा सहभागी हुनु बाहेक केही होइन,’ उनको तर्क छ, ‘हामी व्यवस्थाविरुद्ध छैनौं । मात्र प्रदेशसभाको चुनावमा सहभागी हुन चाहँदैनौं ।’
प्रदेशसभा, प्रदेश प्रमुख र प्रदेश अन्तर्गतका सबै मन्त्रालय खारेजीको माग गरेका लामिछानेको पार्टीले मुख्यमन्त्री भने प्रत्यक्ष निर्वाचित हुनुपर्ने तर्क गरेको छ । प्रदेश मुख्यमन्त्री र फरक लिंगको एक उपमुख्यमन्त्री हुने र प्रत्यक्ष निर्वाचिन मुख्यमन्त्रीहरुले नै जिल्ला प्रमुख नियुक्त गर्नु पर्ने उनको भनाइ छ ।
मुख्यमन्त्रीले सोझै राष्ट्रपतिसँग सपथ लिने व्यवस्था हुनुपर्नेमा जोड दिएका लामिछानेले पालिका सभाका सदस्यबाट प्रदेश परिषद गठन गर्ने धारणा राखेका छन् । प्रदेश परिषदमा पालिका प्रमुख र उपप्रमुख मात्रै रहने छन् । प्रदेश परिषदले नै प्रदेशसभाको काम गर्ने छ । प्रदेश परिषदको बैठक वर्षमा २ पटक मात्रै बस्ने उनकाे प्रस्ताव छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाले श्रमजिवी वर्गकाे प्रतिनिधिमूलक पार्टी नेकपा एमाले भएकाेले राष्ट्रिय पूँजीकाे विकास गरेर जनतालाई अवसर प्रदान गर्ने , जनवादी शासन व्यवस्था कायम गर्ने र जनतालाई गरिवीकाे चपेटाबाट मुक्त गर्दै समाजवादका पुग्ने लक्ष्यका साथ नेकपा एमाले अगाडि बढिरहेकाे बताएका छन् ।
नेकपा एमाले हेटाैँडा उपमहानगरपालिका वडा नं. ८ कमिटीद्वारा अायाेजित प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै नेता रानाले शान्तिपूर्ण जनपरिचालनद्वारा राजनितिक जनक्रान्ति सम्पन्न भएपनि सामन्तवादका अवशेषहरू कायम रहेकाेले संघीय लाेकतान्त्रिक गणतन्त्रमा पनि जनताकाे समस्या र माग पूरा हुनसकेकाे छैन भन्दै अामुल परिर्वतनकाे अाधार सामाजिक, अाथिक र साँस्कृतिक रूपान्तरण भएकाे बताउनु भयाे । पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले पार्टीद्वारा सञ्चालित सुदृढीकरण तथा शुद्विकरण अभियानबारे, सचिव नवीन सिग्देलले जवजकाे मान्यतामा पार्टी संगठन निर्माण र परिचालन, जिल्ला कमिटी सचिवालय सदस्य राजन थापा स्थानीय तह निर्वाचनकाे सन्देश र अागामी निर्वाचनकाे तयारी,पार्टी जिल्ला कमिटी सदस्य मिलन पाठकले पार्टी र जनसंगठनबीचकाे अन्तरसम्बन्धबारे प्रशिक्षण दिनु भएकाे थियाे ।
कार्यक्रम वडा कमिटीका अध्यक्ष कृष्णबहादुर श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश कमिटीका सदस्य गाेपालबहादुर श्रेष्ठ, जिल्ला सचिवालय सदस्य गणेशकुमारी श्रेष्ठ, जिल्ला कमिटी सदस्य यसाेदा उप्रेती, हेटाैँडा उपमहानगरपालिका कमिटी अध्यक्ष शालिकराम पुडासैनी , सचिव बाेलबहादुर कार्कीलगायतकाे उपस्थिति रहेकाे पार्टी वडा कमिटीका सचिव शुसिला मल्लले जानकारी दिनुभयाे ।
साउनकाे अन्तिम साेमबार देवघाटमा लाखौं भक्तजनकाे भिड (भिडियाे सहित) चितवन ।पवित्र धार्मिक स्थल देवघाटमा आज साउनको अन्तिम सोमबार भक्तजनको घुइँचो लागेको छ । भक्तजनको घुइँचो लागेपछि मन्दिरमा पूजा गर्न र झोलुँगे पुल तर्न भक्तजन चर्काे घाममा लामो समय लाइन बस्नु परेको छ । यस पटक साउनमा पाँचवटा सोमबार परेका थिए । अन्तिम सोमबार विशेष हुने भएकाले भक्तजनको घुइँचो आज बढी देखिएको हो ।
त्रिशुली र कालीगण्डकीको संगमस्थल देवघाटमा स्नान गर्ने र शिव मन्दिरमा पूजा गर्ने भक्तजनको भिड लागेको हो । साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । भगवान शिवको व्रत बसेका भक्तजन बिहान ४ बजेदेखि नै देवघाट आउन थालेका थिए । अहिले पनि स्नान गर्ने जाने क्रम जारी छ । व्रत नबस्नेहरुको पुनि उत्तिकै ओहिरो लागेको छ । देवघाटको वारी चितवनतर्फ स्नान गरेर फर्कनेहरु पनि थुप्रै छन् । तर अधिकांश भक्त जन पारी तनहुँतर्फ वेणी संगममै पुगेका छन् । पुलमा भिड नहोस् भनेर पुल तर्नका लागि भक्तजनहरुलाई लाइनमा राखिएको छ । लाइन निकै लामो थियो । मन्दिरमा पूजा गर्नका लागि पनि भक्तजनको लामै लाइन लागेको छ । केही भक्तजनहरू खाली खुट्टै स्नान गर्न पुगेको देखिन्थ्यो । चितवनतर्फबाट गएका भक्तजन झोलुंगे पुलबाट मात्रै तनहुँतर्फ पुगेका छन् ।
यसपटक बाढीले वेणी संगम डुबाएको छ । भक्तजनलाई नदी तार्न प्रयोग गरिँदै आएको डुंगाको प्रयोगमा पनि यसपटक रोक लगाइएको छ । पानीको वेग भएकाले डुंगा नचलाइएको हो । तसर्थ झोलुंगे पुल तर्नका लागि लामो लाइनमा भक्तजनहरु बस्नु परेको हो । देवघाट जाने सवारी साधनको जामले गर्दा जंगलको कच्चि र ओरालो बाटोमा सवारी चालकलाई सवारी गुडाउन समेत निकै संघर्ष गर्नुपरेको देखिन्थ्यो । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । देवघाटमा आज झण्डै एक लाख भक्तजन पुगेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले जानकारी दिए । साउनको चौथो सोमबार करिब ७० हजार भक्तजन देवघाट पुगेको अनुमान गरिएको थियो ।
‘यसपटक साउनमा पाँचवटा सोमबार परेको र अन्तिम सोमबार विशेष हुने भएकाले भक्तजनको उल्लेख्य सहभागीता देखिन्छ’, उनले भने, ‘अहिलेसम्म नआएका भक्तजन पनि अन्तिम सोमबार भनेर आउनु भएको छ ।’ सुरक्षा व्यवस्थाका लागि तनहुँ र चितवनतर्फ गरी करिब २०० सुरक्षाकर्मी खटाइएको अध्यक्ष अधिकारीले बताए । ट्राफिक व्यवस्थापनका लागि रामनगर–देवघाट सडकलाई प्रवेश मार्ग बनाइएको छ भने आँपटारी–देवघाट सडकलाई बाहिरीने बाटो बनाइएको छ । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । यही विश्वासमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । देवघाटमा स्नान गर्न देशका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजन आउने गरेका छन् । साउनको अन्तिम सोमबार नयाँ व्रतालुले पनि साउने व्रत सुरु गर्ने गर्छन् । देवघाटको धार्मिक महिमा सत्यगुगदेखि रहेकाले पनि देवघाटमा अत्याधिक भिड लाग्ने गर्छ ।
३० साउन, काठमाडौं । ला लिगाको साविक विजेता रियल मड्रिडले नयाँ सिजनको पहिलो खेलमा अल्मेरियालाई २-१ ले पराजित गर्दै उपाधि रक्षा अभियान सुरु गरेको छ । अल्मेरियाको मैदानमा रियलले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै ३ अंक जोडेको हो ।
खेलको छैटौं मिनेटमै लार्जी रामाजानीले गोल गर्दै अल्मेरियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अल्मेरियाको अग्रता कायम रहे पनि दोस्रो हाफमा रियल खेलमा फर्कियो ।लुकास भाज्क्वेजले ६१ औं मिनेटमा रियलका लागि बराबरी गोल फर्काए । त्यसपछि डेभिड अलावाले ७५औं मिनेटमा फ्रि-किकमार्फत विजयी गोल गरे ।
बुधबार भएको युइएफए सुपर कपमा इङट्राट फ्रांकफर्टलाई हराएर उपाधि जितेको रियल उच्च मनोबलका साथ मैदानमा उत्रेपनि पहिलो खेलमै संघर्ष गर्नुपरेको थियो ।