लालबन्दी : भाषीक कवि तथा संस्कृतिकर्मी भक्ती रिजाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रादेशिक प्रतिभा पुरस्कार २०८० बाट सम्मान गरेको छ ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘संस्कृति’ विधातर्फ मधेस प्रदेशका लागि प्रादेशिक प्रतिभा पुरस्कार २०८० द्वारा रिजाललाई सम्मान गरेको हो ।

काठमाडौंको जमलमा रहेको सांस्कृतिक सस्थानमा भएको एक समारोहमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले रु पचास हजार राशीसँगै दोसल्ला ओडाएर रिजाललाई सम्मान गरेका थिए ।

मधेसमा रहेका भाषा तथा संस्कृतिको जगेर्ना गर्न उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रिजाललाई सम्मान गरेको हो । झन्डै ९ वटा भाषामा दखल भएका रिजालले पत्रकारिता पनि गर्दै आएका छन् ।

लालबन्दी । लालबन्दीमा शनिबार आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती मनाइएको छ ।

लालबन्दी नगर वाङ्मय परिषद्को आयोजना र भानु प्रतिष्ठान, नेपाल मधेश प्रदेशको समन्वयमा २११ औँ भानुजयन्ती मधेश प्रदेशस्तरीय रचना वाचन कार्यक्रम गरी मनाइएको हो ।

कार्यक्रममा मधेशका विभिन्न पालिकाका ३६ जना कवि तथा गजलकारहरूले आदिकवि भानुभक्त आचार्यलाई स्मरण गर्दै कविता तथा गजल वाचन गरेका थिए । कार्यक्रममा जनज्योति बहुमुखी क्याम्पसका अध्यक्ष दीपक अधिकारीको विशिष्ट तथा लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।

लालबन्दी नगरपालिकाका नगर प्रमुख तथा उक्त कार्यक्रमका प्रमुख अतिथि बासुदेव अधिकारीले कार्यक्रमलाई सम्बोधन गर्दै भानु सबै नेपालीका प्रेरणाका स्रोत हुन् र भानुले सबै नेपालीलाई नेपाली भाषाका माध्यमबाट एकताको सूत्रमा बाँध्ने काम गरेको बताएका थिए ।

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दी ९ बस्तिपुरमा रहेको जनज्योति माध्यमिक विद्यालयद्वारा आयोजित विज्ञान, प्रविधि तथा कला—संस्कृति प्रदर्शनीको उद्धाटन गरिएको छ ।

शुक्रवार र शनिवार चल्ने प्रदर्शनीको सर्लाही क्षेत्र नं. १, (ख) की प्रदेश सभा सदस्य वेची लुंगेलीले उद्धाटन गरेकी हुन । सो अवसरमा प्रदेश सभा सदस्य लुंगेली र लालबन्दी नगरपालिकाका प्रमुख (मेयर) वासुदेव अधिकारीले विद्यालय हाता भित्र हालसालै निर्माण गरिएको ल्याबहरुको रिबन काटेर उद्धाटन गरेका थिए । ‘विद्यार्थीको सीप—विद्यार्थीकै सिर्जना, प्राविधिक र व्यवहारीक ज्ञान जनज्योतिको चाहना’ भन्ने नराका साथ सुरु भएको प्रदर्शनीमा जनज्योति माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्मका वाली विज्ञान, डिप्लोमा, सिभिल र कम्प्युटर अध्ययन गर्ने विद्याथीहरु सहभागि भएका छन् ।

विद्यार्थीहरूले समुह बनाएर निर्माण गरेका विज्ञान, प्रविधि तथा कला-संस्कृतिका सामग्रीहरु ९० भन्दा बढि स्टलमा प्रदर्शनीका लागि राखिएको छ । लालबन्दी नगरपालिका भित्रका ४८ र जिल्लाका सम्पूर्ण नमुना माध्यमिक विद्यालय र संघसंस्थालाई प्रदर्शनी अवलोकनका लागि निमन्त्रणा गरिएको थियो । प्रदर्शनीको २० हजार बढि विद्यार्थी तथा अन्य आगन्तुकहरुले अवलोकन गर्ने अनुमान गरिएको छ । प्रतियोगितात्मक रुप दिइएको प्रदर्शनीमा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद, प्रमाण पत्र र सिल्ड प्रदान गरिने विद्यालयल प्रशासनले जनाएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा सामुदायिक विद्यालय महासंघका केन्द्रिय उपाध्यक्ष बलराम पोखरेलको अध्यक्षता, प्रदेश सभा सदस्य वेची लुंगेलीको प्रमुख अतिथ्यता तथा लालबन्दी नगर प्रमुख वासुदेव अधिकारी र हरिवनका नगर प्रमुख रमेश कुमार बुढाथोकी (कमल)को विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा विद्यालयलका प्रधानाध्यापक विष्णु बहादुर पोखरेलले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा लालबन्दी नगरपालिकाका बिभिन्न वडाका वडाध्यक्षहरु, राजनीनिक दलका नेता कार्यकर्ता, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक, शिक्षिका सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमका बक्ताहरुले सामुदायिक विद्यालयमा समेत यस्तो रचनात्मक कार्यक्रम आयोजना भएकोमा खुसि ब्यक्त गरेका थिए ।

शिरमा छिन् बागमती शान प्रकृतिको ।
छेउमै बस्यो भरत ताल मान धरतिको ।

डाँडाबाट बेग मारी झ¥यो मैना चरी ।
पिरतीको भाव बोल्यो गाउँदै चिरिबिरी,
यसै ठाउँमा यसै गाउँमा सलबलाउँछ माया ।
हाम्रो सुन्दर भरत तालमा चन्द्रमाको छाँया ।।

समयको सृजना यो बास दिन्छ धरा ।
चारैतिर हरियाली बस्ती हरा भरा ।
धरती खुसी हुन्छिन्, राख्छिन् सँधै दायाँ ।
हाम्रो सुन्दर भरत तालमा चन्द्रमाको छाँया ।।

उकालीमा देउरालीको बर भेटे जस्तै ।
मिर्मिरेमा चन्द्रमाको ज्योति पाए जस्तै,
इन्द्रेणीले बास बस्छ सधैं भन्छिन् आमा ।
हाम्रो सुन्दर भरत तालमा चन्द्रमाको छाँया ।।

बहुभाषि कवि तथा गजलकार भक्ति रिजाल
हरिवन, सर्लाही ।

लालबन्दी । सर्लाहीको हरिपुरमा माघि महोत्सव सुरु भएको छ । थारु क्ला संस्कृति आयोजना समिती हरिपुर ७ पचगछिया र थारु कल्याणकारिणी सभा जिल्ला कार्य समितिको संयुक्त आयोजनामा सोमबारबाट महोत्सव सुरु भएको हो ।

४ गत्तेसम्म चल्ने छैठौँ तिला संक्रान्त माघी महोत्सव २०८० को संविधानसभा सदस्य रामचन्द्र कुशवाहले संविधानसभा सदस्य रञ्जना सरकार, थारु क्ला संस्कृति आयोजना समितीका अध्यक्ष अर्बिन चौधरी, नगर प्रमुख गोपाल पंजियार लगाएतको उपस्थितीमा उद्घाटन गरे । महोत्सवमा थारु कला, संस्कृतिको प्रदर्शन, भेषभुषाको प्रदर्शन, थारु परिकारको स्वाद, थारु राष्ट्रिय कलाकारहरुको प्रस्तुति लगाएतका कार्यक्रमहरु रहेको आयोजकले जनाएको छ ।

महोत्सवको सहआयोजकमा घरेलु तथा साना उद्योग मलंगवा, संरक्षकमा हरिपुर नगरपालिका र वडा नम्बर ७ को वडा कार्यालय रहेको छ भने महोत्सवलाई द सनराईज युवा क्लव हरिपुर ७ र थारु कल्याणकारीणिसभा गाउँ एकाई कमिटि हरिपुर ७ को सहयोग रहेको छ ।

महोत्सवमा प्रस्तुति दिएर प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्नेलाई क्रमशः २०, १५ र १० हजार पुरस्कार र शिल्डको ब्यवस्थासमेत रहेको छ ।

लालबन्दी । सर्लाहीकाे लालबन्दीमा रहेकाे लालबन्दी नगर वाङ्‌मय परिषद्ले सिर्जनात्मक लेखन तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। लालबन्दी नगर वाङ्‌मय परिषद्को ऐन, २०७७ बमोजिम स्थापित लालबन्दी नगर वाङ्‌मय परिषद्ले विभिन्‍न राष्ट्रिय तथा स्थानीय स्तरका साहित्यिक कार्यक्रम गर्दै आएको छ ।

विद्यार्थीको सर्वाङ्‌गीण विकासमा सिर्जनात्मक लेखन तथा प्रशिक्षणले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्‍ने विश्‍वासका साथ यही पुस १४ गते शनिवार गजल, कविता र गीत लेखन तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको परिषद्का अध्यक्ष अच्युत अधिकारीले बताए । नेपाल संस्कृत विश्‍वविद्यालयका प्रा.डा. देवी नेपाल उक्त प्रशिक्षण कार्यक्रमको प्रमुख प्रशिक्षकका रूपमा रहनेछन् ।

लालबन्दी नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका छात्र र छात्राहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न उक्त कार्यक्रम कोशेढुङ्‌गा साबित हुने परिषद्का कोषाध्यक्ष विवश पौडेलले बताए। लालबन्दी नगरपालिकाको वडा ५ मा अवस्थित एभरेस्ट एकेडेमी माध्यमिक विद्यालयले उक्त कार्यक्रमको संयोजन गर्ने छ।

कार्यक्रममा सहभागी छात्रछात्रा तथा शिक्षकलाई प्रमाणपत्र प्रदान गरिने र छिट्‌टै मधेश प्रदेशमा प्रदेशस्तरीय गजल महोत्सव गरिने आयोजकले जानकारी दिएको छ।

लालबन्दी । राेशन दास निर्देशित वेब सिरिज ‘आरती’ को गीत सार्वजनिक गरिएको छ ।

तराईको कथावस्तुलाइ समेटेर वीरगंजमा खिचिएको गीतमा नुतन र दिपिका दाहाल फिचर्ड छन् । गजल तथा मुक्तककार संसार अधिकारी र रोशन दासको शब्दमा चर्चित गायिका अस्मिता अधिकारीको आवाज रहेकाे गीतमा अविनास राईले संगीत दिएका छन् । यो सिरिज यहि पुष १६ गतेबाट नेट टीभीमार्फत रिलिज हुँदैछ ।

सिरिजमा खेम र मनिषाका अलवा संसार अधिकारी, गीता श्री, लक्ष्मण अधिकारी, एच.पी. कडेल, शिव कुर्मी, सपना शर्मा, दिप नारायण शर्मा, विकी शाह, कृष्ण खड्का, जय पासवान र अनमोल दासको अभिनय छ । रेज इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सिरिजमा आशिष कुमार दासको लगानी छ ।

हिक्मत शर्माको पटकथा लेखन, नितेश घतानीको छायांकन, दिनुप मगरको कोरियोग्राफी रहेको सिरिजका सम्पादक कवीर ओड र कमलीले गरेका हुन् ।

जनकपुरधाम । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर मनाइँदैछ।

श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर विवाह पञ्चमी मनाइँदैछ। त्रेता युगमा आजको दिन सीता र रामको विवाह भएको विश्वास गरिन्छ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र राम विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ।

गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेका थिए। शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो।

रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ।

सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्यरूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन्।

किताब पढ्ने बानीले मानिसको तनाव कम गर्छ । दिमाग सक्रिय हुन्छ । संवेदनाको स्तर पनि सुधार्छ । साथै, किताबमा भएका सारा सूचना र जानकारी त हुने नै भयो ।

न्युयोर्कको द न्यु स्कुल फर सोसल रिसर्चका अनुसार, किताब पढ्दा व्यक्तिमा सोचाइ र सिद्धान्त पनि परिवर्तन हुने गर्छ ।

तर कागज वा किताबको पठनबाट मानिसहरू बसाइँ सर्दैछन् र त्यो बसाइँ कम्प्युटर, ट्याबलेट, मोबाइलजस्ता डिजिटल उपकरणमा पुग्दैछन् भन्ने त तपाईंलाई थाहा भइरहेकै कुरा हो । हुनसक्छ, तपाईंले यी कुरा अखबारी कागजमा भन्दा पनि अनलाइनमै पढिरहनु भएको होस् ।

यसरी अनलाइनमा पढ्ने क्रम कोभिड १९ को महामारीपछि अचम्मै तरिकाले बढेको छ ।

अनस्क्रिन पढ्नुका फाइदा पनि उत्तिकै छन् । जस्तो कि, किताब किनेर पढ्नु महँगो छ तर स्क्रिनमा त्यही किताबको मूल्य निकै कम पर्छ । तर यसका बेफाइदा भने धेरै देखिएका छन् ।

बिबिसीमा प्रकाशित ह्वाट इज रिडिङ अन स्क्रिन डु टु योर ब्रेन समाचारका अनुसार ३० भन्दा बढी देशका स्कलर र वैज्ञानिकहरूलाई एक साथ अनलाइन पठनको प्रभावमाथि अध्ययन गर्न भेला पारियो ।

नर्वेको स्टवान्गर विश्वविद्यालयकी प्राध्यापक र लेखक एनी मेगन भन्छिन्, ‘हामीले गरेको अनुसन्धानमा के पायौँ भने जब स्मार्टफोनमा पढ्छौँ, पढेका कुराहरू हामी कम बुझ्छौँ । जबकि त्यही कुरा अखबारमा छापिएको छ भने त्यो सहज तरिकाले बुझ्छौँ ।’

अमेरिकाको गैरसरकारी संस्था सेपियन्स ल्याबले प्रकाशित गरेको ताजा अध्ययनअनुसार सानै उमेरमा बालबालिकालाई स्मार्टफोन दिनु भनेको युवावस्था बिगार्नु हो भन्ने देखिएको छ ।

साइन्टिफिक अमेरिकानाका अनुसार कागजको तुलनामा जब हामी स्क्रिनमा पढ्छौँ, त्यो बेला हाम्रो मस्तिष्कले बढी नै ऊर्जा खपत गर्छ । यसका अतिरिक्त स्क्रिनमा पढिएका कुरा लामो समयसम्म याद राख्नै सकिँदैन ।

हामीले कति पढ्ने भन्दा पनि हामी कुन माध्यमबाट पढ्छौँ वा पढिरहेका छौँ, त्यसमा भर पर्छ । पठनले हाम्रो मस्तिष्कमा निकैठूलो प्रभाव पार्ने गर्छ । यसले हाम्रो दृश्य‑रिजनिङ, भाषा प्रोसेस गर्ने र सोच्ने तथा भावनात्मक रिजनलाई एउटा नयाँ सम्बन्धसँग जोड्ने गर्छ ।

पढ्न रूचि राख्नेहरूलाई पनि बढीभन्दा बढी समय किन्डल वा ट्याबलेट वा आइप्याडमा भन्दा किताबतर्फ नै आकर्षित गर्नु जरूरी रहेको अध्येता बताउँछन् । यसको खास कारण चाहिँ स्क्रिनमा पढ्नेहरू चाँडै थाक्छन् ।

यदि यस्तो हो भने हामीले किताबलाई एकै रातमा सक्ने तरिकाले भन्दा पनि थोरैथोरै गरेर पढ्नुपर्ने सुझाव विज्ञहरूको छ ।

किताब महँगो हुनाले धेरैले यसतर्फ सोचेका छैनन् तर नजिकका पुस्तकालयहरूसँग सम्पर्क बढाएर इबुकभन्दा पनि भौतिक पुस्तकमा जोड दिइनुपर्ने धारणा छ ।

केही विज्ञहरू भने आफ्ना सन्तानलाई किताबी कीरो बनाउनु छ भने १४ वर्षको उमेरसम्म किताब पढ्न जोड दिइनुपर्छ भन्छन् । सो अवधिमा आमाबुवाले आफ्ना सन्तानलाई इलेक्ट्रोनिक ग्याजेटहरूबाट टाढै राख्नुपर्छ । जब सन्तान १६ वर्षका हुन्छन्, त्यसपछि उनीहरूको रूचिअनुसारको किताब छनोट गर्ने, प्रविधि उपयोग गर्नेजस्ता कुरामा स्वतन्त्रता दिनु स्वाभाविक बन्न जान्छ ।

बिबिसीका डेनियल्स निल्स रोबर्ट्स लेख्छन्, पढ्दा तीन चमत्कारी गुण मानिसमा बढ्छ । पहिलो, रचनात्मकता । दोस्रो, ज्ञान । तेस्रो, सहानुभूति ।

बेलायती लेखक तथा चित्रकार क्रेसिडा कवेल भन्छिन्,’तपाईंका सन्तानलाई पढ्नु मन पर्छ भने यसका दुई फाइदा हुन्छन् । एक त उसको ज्ञानको दायर बढ्दै जान्छ र अर्को चाहिँ पढ्ने मान्छेको भविष्यमा आर्थिक सबलता अन्यको तुलनामा राम्रो हुन्छ ।’

पढ्नुको चमत्कारी फाइदा
१। रचनात्मकता, ज्ञान र सहानुभूति बढ्छ ।
२। मस्तिष्कमा भिजुअल, ल्याङ्वेज र इमेसन रिजनबीच सम्बन्ध बन्छ, तीक्ष्णता बढ्छ ।
३। पढ्नुले ज्ञान र आर्थिक दायरा पनि बढ्छ ।
४। पढ्नेहरूको दिमाग शान्त हुन्छ, तनाव कम हुन्छ ।
५। स्क्रिनमा पढेका कुरा लामो समयसम्म स्मरण हुँदैन ।

शोधकर्ता मेरियन वुल्फ भन्छिन्, ‘पढ्ने एउटा कला हो र यो कला ६ हजार वर्षअघि शुरू भएको थियो ।’

उनका अनुसार, पढ्नु, गन्तीबाट शुरू भएको थियो । जो व्यापारी थिए, उनीहरूले गन्तीलाई गम्भीरतापूर्वक लिए । उनीहरूसँग कति भाँडा छन्, कति जनावर छन् भन्ने कुरा गन्ती गरेर जानकारी राख्ने गर्थे । पछि वर्णमाला बन्यो । वर्णमालाले चाहिँ जानकारीलाई सिलसिलाबद्ध बनाउन भूमिका खेल्यो । यसले जानकारी राख्ने र सिक्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्यायो ।

ब्ल्याक गर्ल्स बुक क्लबकी संस्थापक नताली कार्टर भन्छिन्, ‘हरकोहीले किताब पढ्नुपर्छ । किताबले हामीलाई अनुभव दिन्छन् । यी जानकारीले भरपूर हुन्छन् । यिनले हामी नजिकको र बाहिरी संसारको बारेमा बताउँछन् ।’

किताब बिनाको जिन्दगी अल्छीलाग्दो हुने नतालीको भनाइ छ । उनी भन्छिन्, ‘समयअनुसार किताबको स्वरूप बद्लिएला । किताब साना आकारका बन्लान् । छोटा कथाहरूको संग्रह बढी निस्किएला तर किताबको अस्तित्व चाहिँ रहिरहन्छ ।’

किताब पढेर अरूको दुश्चिन्ता हटाउने व्यवसायमा संलग्न बिब्लियोथेरापिस्ट एला बर्थार्ड भन्छिन्, ‘किताब थिएन भने आज हामी जुन किसिमका मानिस बनेका छौँ, त्यो हुन्न थियौँ । मानव जीवनमा आगो जन्माउने शक्ति र पढ्ने कलाको आविष्कार गरेपछि मानव जीवनमा ठूलो परिवर्तन आएको हो ।’

एउटा गज्जबको कथा पढ्नु मनोरञ्जनभन्दा बढी प्राप्त गर्नु हो भन्ने एलाको धारणा छ । पढ्दा पनि धेरैजसो रोगको उपचार हुने उनको विश्वास छ । एला भन्छिन्, ‘तपाईंलाई सास फेर्न गाह्रो भइरहेको छ, थकावट र रिसले डेरा जमाएको बोला जोरबा द ग्रीक पढ्नुस् । त्यो चट्ट निको हुन्छ ।’

राम्रा किताब पढ्दा तपाईं ध्यानको स्थितिमा पुग्नुहुन्छ र त्यस्तो अवस्थामा तपाईंको मुटुको धडकन सन्तुलित हुन्छ, तपाईं शान्त बन्नुहुनेछ । तपाईंको दिमागमा चलिरहेको चिन्तालाई घटाइदिन्छ भन्ने एलाको अनुभव छ । BBC

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दीमा ‘पुरस्कार अर्पण, पुस्तक विमोचन तथा अभिनन्दन समारोह २०८०’ सम्पन्न भएको छ । लालबन्दी नगर वाङ्मय परिषद्को आयोजनामा वडा नम्बर ९ स्थित जनज्योति क्याम्पसको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममार्फत सर्जक रामलाल जोशीको ‘बाआमा’ ले लालबन्दी नगर वाङ्मय भाषा साहित्य पुरस्कार प्राप्त गरेको छ भने स्थानीय प्रतिभा पुरस्कार लेखक तथा खोजकर्ता `देवराज पौडेल´ ले प्राप्त गर्नुभएको छ । परिषद्ले गतवर्षबाट सुरु गरेको यो कार्यक्रममा सम्मानित देवराज पौडेलद्वारा लिखित सर्लाहीका एक जिउँदो इतिहास ‘वासुदेवशरण कोइरालाका नौ दशक’ नामक कृतिको समेत विमोचन भएको छ । उक्त कार्यक्रममा स्वयम् वासुदेवशरण कोइरालाको समुपस्थिति हुनुका साथै निज कोइरालालाई वाङ्मय परिषद्ले सम्मानपत्रसहित अभिनन्दन गरेको छ ।

कार्यक्रममा मदन पुरस्कारबाट सम्मानित तथा लालबन्दी वाङ्मय परिषद्को २०७९ को पुरस्कारबाट पुरस्कृत डा. नवराज लम्सालको विशेष सहभागिता रहेको थियो भने आवाजका धनी अच्युत घिमिरे बुलबुललाई परिषद्ले सम्मान गरेको छ ।

कार्यक्रममा परिषद्का अध्यक्ष अचुत अधिकारी, साहित्यकार डा. राजेन्द्र विमल, मधेश प्रज्ञा प्रतिष्ठानका कुलपति, लालबन्दी नगरप्रमुख बासुदेव अधिकारी, पद्मभुवनेश्वरी नमुना बृद्धाश्रमकी संचालक भवानी कोइराला, सर्लाही साहित्य समाजकी अध्यक्ष मिना देवकोटा लगायतका विशिष्ट व्यक्तित्वको सहभागिता रहेको थियो ।

ताजा अपडेट

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते