सुवासचन्द्र नेम्वाङलाई छोराको पत्र : ‘बुवा म आइसकेँ’

  • खेम बम

बुवा म आइसकेँ, मलाई अन्तिमपटक पर्खिरहनुस् है । तपाईंको सग्लो अनुहार हेर्न मेरा भिजेका नयनहरु ओभानो भइसकेका छन् । अब त आँखाको पानी पनि रित्तिसकेछ । म तपाईंलाई हेर्ने आँट लिएर पोको पन्तुरो कस्दैछुँ । बुवा म आज आफैलाई धिक्कार्दै छुँ, देश बनाउन दौडिएको महामानवको छोरो परदेशमा भौतारिएको छ । आफ्ना देवतुल्य बुवाको आवाज गुमाएको छ । केही समय आफूलाई पर्खिएको चीर निन्द्राको शरिरलाई सुम्सुम्याउन बाहेक ऊ सँग अर्को विकल्प छैन । भक्कानिएकी मेरी आमा, बहिनी कसरी सम्हालिन् होला ? आफ्नै अगाडि एउटा खम्बा ढल्दा उनीहरुलाई कम्ति चोट परेको छैन ।

बुवा, परदेशिनु मेरो बाध्यता होइन, कति रहर जोडिएका छन्, कैँयन मेरा सपनाहरु छन् । म त्यो गरिबको कोखबाट जन्मेको भए मेरा चाहाना अलि सिमित हुन्थे होलान् तर म एक शक्तिशालीको कोखबाट धर्तिमा झरेछुँ । मैले यो देशमा सम्भावना नदेखेको होइन, म थप सम्भाव्यता अध्ययन गर्न परदेशिएको हुँ । म चित्त बुझाउँदै छुँ, मेरो मात्र होइन सारा नेपालीको पीडा यस्तै छ । बुढा आमाबा भित्तासँग कानेखुसी गर्छन्, बामे सरेको बालकझैँ ओहोरदोहोर गर्छन् मात्र मृत्यु कुरिरहेका हुन्छन् । छोराछोरीहरु मृत्युको खबर कुरिरहेका हुन्छन् ।

बुवा, हजुरले मात्रै चाहेर देशको कायापलट त पक्कै हुने थिएन । तपाईंले आफ्नो अभिभारा पूरा गरेर जानुभयो । २०७२ सालको संविधान जारी गर्दा कम्ता दुःख थिएन । देशी, विदेशी तत्वको आँखाको तारो बन्नुभएको थियो । माओवादीको जगजगी, सेनाले सिंहदरबार घेर्ने हल्ला, छिमेकीको धम्की सबै स्थितिलाई संयमतापूर्वक आफू अनुकुल बनाउनु त्यो तपाईंको खुबी थियो । मात्रै धेरै सम्भावना छोडेर जानुभयो, ती अवसर गुमाएर जानुभयो । हुनत भगवानको घरमा पनि तपाईंजस्तै महामानवको खाँचो खड्कियो होला । त्यै भएर यति निर्दयी बन्नुभयो होला ।

आज यो पीडा हरेक नेपालीको साझा बनिदिएको छ । बुवा, पीडा सानो ठूलो हुँदैन यसलाई तौलिन मिल्दैन । आजपनि तपाईंजस्तै चीर निन्द्रामा धेरै जना हुनुहुन्छ । तर, मेरो मनमा काउकुतीले किन छोडिरहेको छैन ? किन मलाई अत्यास लागिरहेको छ ? किन म आफै बेहोसी बनुला जस्तो भएको छ ? म अर्काको भूमिमा भएर पनि होला । भनेको समयमा टिकट पाइँदैन, भनेको समयमा जहाज उड्दैन । मलाई त रातिनै आउने मन थियो, मेरा बुवाको निश्कलंक अनुहारमा म्वाई खाने मन थियो ।

बुवा, म सोचिरहेको छुँ भोलि मेरी आमाको दिनपनि यस्तै त हुने होइन ? म नेपालमै बसौँ की फर्किउला केही सोच्न सकेको छैन । अब तपाईंजस्तो महान बन्नलाई मलाई सहज छैन । किनकी तपाईंले मलाई यो परिस्थितिबाट टाढा राख्नुभयो, राजनीतिको छायाँ पर्न दिनुभएन । मेरी आमा पनि राजनीतिबाट निकै पर बस्नुभयो । तपाईंले अरुका जस्तै परिवारका जम्मै सदस्यहरुलाई राजनीतिमा ल्याउन चाहानुभएन । न हामीलाई यो खेल खेल्न सिकाउनुभयो । अब कसरी बसौँला यो देशमा ?

मलाई कहिल्यै नमेटिने घाउ दिएर जानुभो, कहिल्यै नभेटिने ठाउँमा जानुभो । म विमानस्थलभित्र पस्दैछुँ । तपाईंको अनुहार एकपटक भएपनि हेर्ने मन छ । हजारौँ तपाईंका शुभेच्छुकहरुले सम्झिरहनेछन्, हामी पनि सम्झिरहने छौँ ।

हार्दिक श्रद्धाञ्जली बुवा !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

error: Alert: Content selection is disabled!!