लालबन्दी । सर्लाहीको ईश्वरपुरमा शुक्रबारबाट निःशुल्क आँखा जाँच तथा मोतिया विन्दु अप्रेसन शिविर सुरु भएको छ । ईश्वरपुर नगरपालिकासँग समन्वय गरी भरतपुर आँखा अस्पतालले आँखा उपचार केन्द्र, रेडक्रस, आरोग्य संगठनलगायतका संघसंस्थासँग सहयोग लिएर आँखाको शिविर सुरु गरेको हो ।
शिविर अन्तर्गत पहिलो दिन नगर अस्पतालमा संचालित आँखा उपचार केन्द्रमा भएको आँखा जाँच शिविरमा २५५ जनाको आँखा जाँच गराउँदा ८५ जना र हरिपुरको ग्रामीण नारी उत्थान संघ तथा शिवशक्ति सहकारीमा संचालित शिविरमा ३१० जनाको आँखा जाँच गर्दा ११० जनामा मोतिया विन्दुका बिरामि फेला परेका आयोजकले जनाएको छ । शनिबार शिविर हरिपूर्वा नगरपालिका ५ स्थित केश्वर गरिव जनता माध्यमिक विद्यालयमा हुने छ । सबै ठाउँका शिविरमा फेला परेका मोतिया विन्दुका बिरामीको अप्रेसन नगर अस्पताल ईश्वरपुर बयलवासमा पुस २१, २२, २३ र २४ गते गते गरिने ईश्वरपुर आँखा उपचार केन्द्रका उपाध्यक्ष प्रकाश मैनालीले बताए ।
उनका अनुसार हरिपुर नगरपालिकामा भएको शिविरको मेयर गोपाल पंजियारको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो भने पर्सी मात्रै ईश्वरपुरको शिविरको औपचारिक उद्घाटन हुने छ ।