लालबन्दी । सर्लाहीको लालबन्दीमा आईतवार किटजन्य रोग नियन्त्रण तथा निवारणको लागी बहुनिकाय सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
लालबन्दी नगरपालिकाको आयोजनामा नगरभित्रका स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य केन्द्र, निजि स्वास्थ्य संस्था, संघ संस्था तथा क्लवका प्रमुख तथा प्रतिनिधिहरुलाई सहभागी गराएर अन्तरक्रिया गरिएको हो । नगरप्रमुख वासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका सहभागीहरुले किटजन्य रोग नियन्त्रण तथा निवारणको लागी रोग पहिचान र निवारणका लागी खेल्नुपर्ने भुमिकाका बिषयमा चर्चा गरेका थिए ।
सहभागीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख मेडिकल अधिकृत डाक्टर बिरोचन चौधरी र जनस्वास्थ्य अधिकृत रोशन चौधरीले किटजन्य रोगको बारेमा जानकारी गराउनुका साथै त्यस्ता रोगको ईतिहास, पहिचान र नियन्त्रणका लागी भएका प्रयास लगाएतका बारेमा बताएका थिए । लालबन्दी नगरपालिका वडा नम्बर ४ जब्दिस्थित स्वास्थ्य चौकीका जनस्वास्थ्य निरिक्षक देव कुमार महतोको संयोजकत्वमा भएको अन्तरक्रिया कार्यक्रममा किटजन्य रोग जस्तै मलेरिया, कालोज्वरो, डेंगु लगाएतका बारेमा चर्चा गरिएको लालबन्दी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख मुमताज मिक्रानिले बताउनुभयो ।
कार्यक्रम लालबन्दी नगरपालिका वडा नम्बर ६ स्थित नगरपालिकाको पुरानो सभाहलमा आयोजना गरिएको थियो ।