सर्लाही । साउन महिनाको पहिलो सोमबार आज सर्लाहीसहित देशभरका शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

बिहानैदेखि लालबन्दीको डुमडुमेस्थित शिव मन्दिर, राधाकृष्ण मन्दिर, हरिवनको सुखेपोखरी र कैलाशपुरी महादेव मन्दिर, मूर्तियाको मुक्तेश्वर बाबाधाम, ईश्वरपुरको सागरनाथ महादेव मन्दिर, परवानीपुरको महादेव मन्दिर लगाएतका शिवालयहरुमा भक्तजनको भिड लागेको हो ।

साउन महिनाको सोमबार ब्रत बसेर विधिपूर्वक शिव भगवानको पूजा गर्नाले मनोकामना पूरा हुने दीर्घायु, सुख शान्ति, एश्वर्य, धन धान्य र मान सम्मान प्राप्ति हुने विश्वास गरिन्छ । विशेषगरी विवाहित महिलाहरुले आफ्नो श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछन् भने अविवाहित महिलाहरुले सुयोग्य वरको कामना गरी ब्रत बस्ने गर्दछन् । साउन भगवान् शिवको प्रिय महिना हो । शिवपुराणमा वर्णन गरिए अनुसार, शिव परमब्रह्रा हुनुहुन्छ ।

हिन्दु धर्मावलम्बीहरुले भगवान शिवको शक्तिलाई विशेष रुपमा लिने गर्दछन् । हरेक वर्ष साउनको सोमबार ब्रत बसेर शिवको पूजा आराधना गर्ने चलनले पनि हिन्दु धर्मावलम्बीहरुका लागि ठुलो महत्व बोकेको छ ।

मिर्चैया (सिरहा), ६ साउन– दलित समुदायका अगुवाहरूले दलित समुदायले भोग्नुपरेका समस्या समाधानका लागि एकजुट भएर अघि बढ्ने सङ्कल्प गरेका छन् । दलित कार्यपालिका सदस्य, दलित नागरिक समाजका संस्था, राजनीतिक दलहरूका दलित भातृ सङ्गठनका पदाधिकारी तथा दलित पत्रकार सञ्जालका पदाधिकारीहरूले यस्तो अठोट व्यक्त गरेका हुन् ।

युएसएआइडी नेपालको आर्थिक, द एसिया फाउन्डेसनको कार्यान्वयन र दलित सरोकार मञ्च नेपालको प्राविधिक सहयोगमा मधेस प्रदेशमा सञ्चालित युएसएआइडी सिभिक सोसाइटी एन्ड मिडिया एक्टिभिटीअन्तर्गत दलित समुदायका नागरिक समाज, जनप्रतिनिधि र पत्रकारहरूको सञ्जाल निर्माण र परिचालन परियोजनाअन्तर्गत आयोजित भेलाका क्रममा उनीहरूले यस्तो धारणा राखेका हुन् ।

दलित सरोकार मञ्चद्वारा सिरहाको मिर्चैयामा आयोजित २ दिने कार्यक्रमका क्रममा दलित कार्यपालिका सदस्यहरूले कार्यपालिकामा आफूहरूको सङ्ख्या न्यून भएकाले आवाज नसुनिएको धारणा राखेका थिए । साथै उनीहरूले यति छुट्याउनैपर्ने बाध्यकारी प्रावधान नहुँदा दलित समुदायका लागि बजेट नै नछुट्याइने, छुट्याइए पनि एकदम कम छुट्याइने, छुट्याइएको बजेटसमेत कार्यान्वयन गर्न नदिने, दिए पनि लक्षित समुदायलाई नदिएर असम्बन्धित पक्षलाई दिने गरिएको उल्लेख गरेका थिए ।

राजनीतिक दलहरूकै कारण दलित जनप्रतिनिधिबीच मनमुटाव हुने वातावरण सिर्जना गरिएका कारण पनि दलित समुदाय एकताबद्ध हुन नसकेका, कार्यपालिका बैठकका निर्णयमा दलित सदस्यले आँखा चिम्लेर हस्ताक्षर गरिदिँदा पनि समस्या निम्तिरहेको, आफ्ना माग सङ्गठितरूपमा राख्न नसक्नु जस्ता कारणले कार्यपालिकामा दलित सदस्यको भूमिका प्रभावकारी हुन नसकेको पनि उनीहरूले बताए ।

छलफलका क्रममा राजनीतिक दलका दलित भातृ सङ्गठनका पदाधिकारीहरूले आफू जुन दलभित्र सुरक्षित भइन्छ भनेर लागियो, त्यही दलका नेताले नै विभेद गर्ने गरेका, दलित समुदायका सवाललाई नेताहरूले खासै प्राथमिकता नदिने गरेका, उनीहरूले दलितलाई मत लिनेबेला मात्र प्रयोग गर्ने गरेका, दलित समुदायलाई आवश्यक जानकारी र प्रशिक्षण नदिने तथा आफ्नो अनुमतिबेगर केही बोलेमा वा गतिविधि गरेमा प्रतिशोध लिने गरेका दुःखेसो पोखेका थिए । उनीहरूले सबैजसो दलका नेताले दलितलाई भजाएर खाने गरेकाले पनि जुनसुकै दलमा लागे पनि दलितका सवालमा एकजुट भएर अघि बढ्नुको विकल्प नभएको बताएका थिए ।

त्यसैगरी दलित नागरिक समाजका प्रतिनिधिहरूले आफूहरूलाई दातृ निकायले समेत विभेद गर्ने गरेका, जिल्ला प्रशासन कार्यालय र अन्य सरकारी निकायले पनि सहयोग नगर्ने तथा पालिकाहरूले दलित समुदायका संस्थासँग समन्वय गर्न नचाहेको जानकारी दिएका थिए । पालिकाहरूले बरु व्यावसायिक संस्थाहरूलाई ठेक्काका काम दिने, दलित समुदायमा गरिने कामको जिम्मासमेत उनीहरूलाई नै दिने तर दलितका संस्थालाई भने स्वीकार नै गर्न गाह«ो मान्ने गरेका प्रमाणहरू नै पेस गरेका थिए ।

यसरी नै दलित पत्रकार सञ्जालका पदाधिकारीहरूले अरू त अरू पदमा पुगेका दलित समुदायका व्यक्तिले समेत दलित पत्रकार र उनीहरूका संस्थालाई सहयोग गर्न नचाहेको गुनासो गरेका थिए । आफूहरूलाई क्षमता विकासका अवसर अभाव भएको, आर्थिक अवस्था कमजोर भएकाले मोबाइल, ल्यापटप, क्यामेरा जस्ता पत्रकारिताका लागि आवश्यक पर्ने सामान्य विषयसमेत नभएकाले पनि दलित समुदायका सवाल प्रभावकारी ढङ्गले उजागर गर्न नसकेको उल्लेख गरेका थिए ।

कार्यक्रम आयोजक संस्था दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवानले दलित समुदायले अहिले पनि जातीय भेदभावलगायतका चौतर्फी पीडा भोग्नुपरेकाले त्यस्ता समस्या सङ्गठितरूपमा सामना गर्ने उद्देश्यले यस्तो भेला आयोजना गरिएको जानकारी दिए । १/२ जना व्यक्ति वा केही समुदाय/समूहले मात्र दलितमाथिको उत्पीडन र अन्यायका समस्या अन्त्य गर्न नसक्ने भएकाले एकजुट भई व्यवस्थिततवरको वातावरण सिर्जना गर्नु नै यो कार्यक्रमको उद्देश्य भएको उनको भनाइ छ ।

सुनसरी : दुई दिनदेखिको अबिरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार पानीको बहाव अत्याधिक बढेकाले आइतबार बिहान ९ बजेदेखि सबै ढोका खोलिएको हो।

प्रतिसेकेन्ड नौ लाख क्युसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले ३ लाख ६८ हजार क्युसेक पानी बगिरहेको भण्डारीले जानकारी दिए।

आइतबार बिहान ६ बजे पानीको बहाव तीन लाख ४२ हजार क्युसेक रहेको थियो। सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पानीको बहाप बढेसँगै निरन्तर अनुगमन गरिरहेको बताए।

आफूहरुको पूरै ध्यान अहिले बाढी पहिरोमा केन्द्रित रहेकाले भारतीय पक्षसँग पनि समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी तिवारीको भनाइ छ।

यसअघि २०७६ असार २९ गते पनि ब्यारेजका सबै ढोका खोलिएको थियो। पानीको बहाब अहिले पनि निरन्तर बढिरहेकोले जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी सूचना केन्द्रले पनि सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा सतर्क रहन सुसूचित गरेको छ।

लालबन्दी । सर्लाहीको मलंगवामा बिहिवार बिहान प्रदेशस्तरीय संयुक्त विपद् अभ्यास ‘अग्नी नियन्त्रण २०८०’ प्रस्तुत गरिएको छ । श्री भैरवी दल गण पाँच कुमारी ब्यारेक नवलपुरको आयोजनामा मलंगवा १० स्थित तिनबिघे खेल मैदानमा अग्नी नियन्त्रण सम्बन्धि बिपद् अभ्यास गरिएको हो । मुलुकमा हुने हरेक बिपत्तिमा उद्धार, सहयोग र संरक्षणमा अग्र स्थानमा रहने सेनाले हरिपुरको एउटा सानो गाउँको परिकल्पना गरेर सो अभ्यास गरेको हो । सो कार्यक्रम जिल्ला प्रशासन कार्यालय मलंगवा, जिल्ला स्वास्थ्य कार्यालय मलंगवा, जिल्ला रेडक्रस कार्यालय मलंगवा, जिल्ला प्रहरी कार्यालय सर्लाही, शसस्त्र प्रहरी बल नम्बर १० गण, बागमति सेवा समाज, डिभिजन बन कार्यालय र आरआरपिकेसँगको साझेदारीमा सम्पन्न गरिएको हो । तराईका जिल्लाहरुमा वर्षेनि आगलागीका घटना हुने गरेका छन । जसमा मानवीय र भौतिक क्षति हुनुका साथै बनमा लाग्ने डढेलोमा परि जंगली बन्यजन्तुको समेत क्षति हुन्छ ।

अभ्यासमा खाना पकाउन प्रयोग गरिने सिलिण्डरको रेगुलेटरमा आगो सल्केको अवस्थामा कसरी निभाउने, आगो निभाउनका लागी पहिलो औंलाको प्रयोग, दोस्रो बाल्टिनले छोप्ने, तेस्रो, बलिरहेको ग्यास सिलिण्डरलाई तन्ना वा पर्दाले वरीपरीबाट बेरेर बाँधेमा आगो निभाउन बिधिको प्रयोग देखाईएको थियो । त्यसैगरी ठुलो विल्डिङ्गहरुमा लागेको आगोमा फसेका मानिसहरुको उद्धार कसरी गरिन्छ/गर्न सकिन्छ भनेरसमेत देखाईएको भैरवी दल गण पाँच कुमारीका प्रमुख, प्रमुख सेनानी सुर्य बहादुर कार्किले जानकारी दिनुभयो ।

त्यसैगरि बन जंगलमा चुरोट, बिँडि खाँदा वा सलाई, लाईटर जस्ता आगो जन्य बस्तु लिएर जाँदा सावधानी अपनाइएन भने हुन सक्ने आगलागी र क्षतिको बारेमा समेत प्रस्तुति गरिएको थियो । अभ्यासका क्रममा केही व्यक्तिहरू जंगलमा चुरोट सेवन गरेर जथाभावि फाल्दा वनमा आगो लाग्न सुरु भएको, वनमा लागेको आगो गाउँसम्म पगेको, केही घर पुरै जलेर नष्ट भएको, स्थानीयले हार गुहार गरेको र सेनालाई खबर पुगेपछि सेनाको टोली आएर अग्नी नियन्त्रणका लागी गरिएको प्रयासलाई देखाईएको थियो । कार्यक्रममार्फत आगलागीका घट्ना भएमा प्रारम्भिक उद्दार कसरी गर्ने ? घटनाको चारकिल्ला कसरी सुरक्षित राख्ने, विपद्का बेला स्थानीयसँग कसरी समन्वय गर्ने भन्ने कुराको डेमो प्रस्तुत गरिएको थियो । त्यसैगरी घाइतेलाई कसरी प्राथमिक उपचार गर्ने ?, पीडितको पुर्नस्थापना कसरी गराउने ?, गम्भीर घाइतेलाई अस्पतालसम्म कसरी लैजाने ? लगायतका विषय प्रस्तुतिमा समाविष्ट थियो ।

मधेस प्रदेश सरकारका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यमा भएको संयुक्त विपद् अभ्यास कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह, उपप्रमुख जितेन्द्र कुशवाहा, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, गृह, संचार तथा कानुन मन्त्रालयका सचिव, नेपाली सेनाका पृतनापति उपरथी सुदर्शन सिलवाल, वाहिनीपति सहायक रथी प्रकाश बहादुर चन्द, गणपति प्रमुख सेनानी कार्कि, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दयानिधि ज्ञवाली, सशस्त्र प्रहरी प्रमुख, विभिन्न पालिकाका प्रमुख, नागरिक समाज, संघसंस्थाका प्रतिनिधि, विद्यार्थीहरु, जिल्लाका संचारकर्मिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमस्थलमा विपद्को बेला प्रयोग हुने उद्धार सामाग्रीहरुको समेत प्रदर्शन गरिएको थियो ।

क्षितिज विश्वकर्मा, लालबन्दी । सुनकोशी–मरिण बहुदेशिय आयोजनाबाट बागमती नदी पूर्वका उत्तरी क्षेत्र सिँचाई सम्भाव्यता अध्ययनका विषयमा लालबन्दीमा सर्वदलीय सर्वपक्षीय छलफल सम्पन्न भएको छ । छलफलले सिन्धुली जिल्लामा हाल निर्माणाधिन सुनकोशि मरिन आयोजनाबाट मधेश प्रदेशका विशेषगरि सर्लाही र महोत्तरीका उत्तरी क्षेत्रमा समेत पानि ल्याउन पहल गर्ने र त्यसको लागी सम्बन्धित मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको छ ।

सर्लाही जिल्लाको बागमती, हरिवन, लालबन्दी र इश्वरपुर नगरपालिका तथा महोत्तरी जिल्लाको वर्दिवास नगरपालिकाको उत्तरी क्षेत्रमा सिँचाइ एवम् खानेपानीको सुविधा नभएको र उत्तरी क्षेत्रमा दिन प्रतिदिन सुख्खाग्रस्तको अवस्था बढ्दो गतिमा रहेकोले सो क्षेत्रमा खानेपानी एवम् सिँचाइको सुविधा उपलब्ध गराउन आयोजनाको थप सम्भाव्यता अध्ययन गरि आयोजनाको विस्तारिकरण गरिदिन पहल गर्ने निर्णय गरिएको छ । छलफलले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, खानेपानी मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगमामा सो किसिमको सिफारिस गरि पठाउने निर्णय गरेको लालबन्दी नगरप्रमुख बासुदेव अधिकारीले जानकारी दिए ।

छलफल पछि सिन्धुली जिल्लामा हाल निर्माणाधिन सुनकोशि मरिण वहुउदेश्यीय आयोजनालाइ सर्लाही र महोत्तरी जिल्लाको उत्तरी वेल्टमा समेत विस्तारिकण गर्ने सम्वन्धमा सम्भाव्यता अध्ययन एवम् सुझाव संकलन गरि नेपाल सरकारसँग पहल गरि प्रकृया अगाडि वढाउन कार्यदल, सल्लाहाकार र विज्ञ समुह गठन गर्ने निर्णय गरिएको छ । कार्यदलमा लालबन्दी नगरपालिकाका नगरप्रमुखको अध्यक्षतामा हरिवन, बागमती, ईश्वरपुर नगरपालिका प्रमुख, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जिल्लास्थित क्रियाशिल राजनैतिक दलका प्रतिनिधिहरु सदस्य रहेका छन् । त्यस्तै, सुनकोशि सामुदायिक सेवा समाजको प्रतिनिधि सदस्य रहेका छन् ।

छलफल पछि सल्लाहाकार समुह पनि गठन गरिएको छ । जसमा पूर्व मन्त्री महिन्द्र राय यादव, नेपाल सरकारका रक्षामन्त्री हरि उप्रेती, संघीय सांसद राम प्रकाश चौधरी, पूर्व राज्य मन्त्री एवम् संविधान सभा सदस्य सम्भुलाल श्रेष्ठ, प्रदेश सांसदहरु वेची लुङ्गेली र जवाहारलाल कुशवाहा रहेका छन् । छलफलले विज्ञ समुह पनि गठन गरेको छ । जसमा विद्युत विज्ञ चेत प्रसाद वराल र नापी विज्ञ वलराम पोखरेल रहेका छन् । लालबन्दी नगरपालिकाका प्रमुख अधिकारीको सभाध्यक्षता तथा पूर्व खानेपानी मन्त्री एवम् सर्लाही क्षेत्र नं –२ का सांसद महिन्द्र रायको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा वक्ताहरूले आयोजनाको आवश्यकता र औचित्य औँल्याएका थिए । छलफलमा सुनकोशी मरिण बहुद्देशिय आयोजनाबाट उत्तरी क्षेत्रमा सिँचाई सुविधा पु¥याउन सकिने सम्भावनाका विषयमा नेपाल विद्युत प्राधिकरणका अवकाश प्राप्त ईन्जिनियर चेत प्रसाद बरालले आधारहरु प्रस्तुत गरेका थिए । उनले आयोजनाबाट उत्तरी क्षेत्रमा समेत सिँचाई पु¥याउन सकिने मुख्य दुई ओटा आधार प्रस्तुत गरे । उनका अनुसार आयोजना अन्तरगत समुद्री सतहबाट ४०७ मिटर उचाईमा रहेको सिन्धुलीको कुसुमटारमा बन्ने विद्युत गृहबाट पाईप लाईनमार्फत समुद्री सहतहबाट ४०० मिटर उचाईमा रहेको लखनदेही खोलाको सहायक खोला डायनी खोलामा पानी झार्न सकिन्छ । त्यस्तै ईन्जिनियर बरालले प्रस्तुत गरेको अर्को विकल्पमा कुसुमटारबाट १३÷१४ किलोमिटरमा पर्ने मरिन खोलामा ड्यामको सहायताले फुलवारी खोला क्रसगरी खयरसाल, बाघघारी गाउँ छिचोली चुरेको भित्तामा ल्याउन सकिन्छ । र ४.५ किलोमिटर पाईपलाईन र ७.५ किलोमिटर सुरुङ्ग समेत गरी १२ किलोमिटरमै डायनी खोलाको पुच्छारमै पानी झार्न सकिन्छ । त्यसरी लखनदेही खोलामा पथान्तरण भएको पानीले बागमती नहर पूर्वका उत्तरी क्षेत्रका ठुलो क्षेत्रफल भूभाग सिँचाई गर्न सकिने उनको दाबि थियो ।

सरकारले महत्वकांक्षी आयोजनाको रुपमा सुरु गरेको सुनकोशी मरिन डाइभर्सनबाट हाल सिँचित ४५ हजार हेक्टर जमिनका अलावा थप ७७ हजार हेक्टर गरी कुल १२२ हजार हेक्टर जमिन सिँचाई गर्ने लक्ष्य राखेपनि त्यसले बागमती नहर पूर्वका उत्तरी क्षेत्रका ठुलो क्षेत्र सिँचाई सुविधाबाट बञ्चित हुने भएपछि सम्भाव्यता अध्ययन थालिएको थियो । सो कार्यक्रममा मेयर, उपमेयर, प्रदेश सांसद, संघीय सांसद, वडाध्यक्ष, वडासदस्य, विभिन्न दलका स्थानीय तथा केन्द्रस्तरका नेताहरु लगाएतको उल्लेख्य सहभागिता रहेको थियो ।

लालबन्दी । बुधबार साँझ सर्लाहीको नवलपुरमा बस र ट्रक आपसमा ठोक्किँदा गम्भीर घाइते भएका ट्रक चालकको मृत्यु भएको छ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका – ३ घर भएका ४३ वर्षीय तोङश्री बहादुर गोलेको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका गोलेलाई उपचारको लागि राति नै वीरगन्ज लगिएको थियो। राति १० बजेतिर वीरगन्जस्थित नारायण अस्पतालमा उनको मृत्यु भएको डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए।

दुर्घटनामा बसमा सवार १० यात्रु घाइते भएका थिए। घाइतेमध्ये ८ जना उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन्।

सिन्धुलीका २५ वर्षीय जीवनप्रसाद गौतम र महोत्तरी बर्दिबासकी अम्बिका कार्कीको भने नवलपुरमा रहेको वीएण्डआर अस्पतालमा उपचार भइरहेको डीएसपी पञ्जियारले बताए।

बुधबार साँझ पूर्वपश्चिम राजमार्गमा पर्ने लालबन्दी नगरपालिका १ नवलपुर बजारमा जनकपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा ४ ख ३२४ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख ४३३ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनापछि बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको २० पालिकामध्ये मलंगवा नगरपालिकालाइ जिल्लामै पहिलो ‘साक्षर नगरपालिका’ घोषणा गरिएको छ । जिल्ला सदरमुकाम मलंगवालाई मधेश प्रदेशको चौथो र जिल्लाको पहिलो साक्षर पालिका घोषणा गरिएको हो ।

नगरपालिकाका प्रमुख (मेयर) नागेन्द्र प्रसाद यादवको अध्यक्षता तथा सर्लाही क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य एवम् निवर्तमान खानेपानी मन्त्री महिन्द्र राय यादवको प्रमुख आतिथ्यतामा एक समारोहबीच नगरपालिकालाई ‘साक्षर नगरपालिका’ घोषणा गरिएको हो । नगर शिक्षा समितिको बैठकको निर्णय अनुसार मलंगवा नगरपालिकाको १२ वटै वडाको १५ देखि ६० वर्ष उमेर समूहका जम्मा ५ हजार ६३० जनसंख्या मध्ये ५ हजार ४१२ अर्थात ९६.१३ प्रतिशत जनसंख्या साक्षर भएकाले नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको मलंगवा नगरपालिकाका सूचना अधिकारी राजकुमार अधिकारीले जानकारी दिए ।

नगरपालिकालाई साक्षर बनाउन शिक्षकहरू खटाएर प्रत्येक वडामा १–१ वडा सिकाइ केन्द्र सञ्चालन गरी १५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई विभिन्न चरणमा समावेश गर्दै लेखपढ गर्न सिकाइएको थियो । हाल मलंगवामा ९६.१३ प्रतिशत नागरिक लेखपढ गर्न सक्ने भएका नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद मण्डलले बताए । नगरपालिकाले पहिलो चरणमा प्रत्येक वडाका घरधुरीहरूमा पुगेर १५ देखि ६० वर्ष उमेरका निरक्षर व्यक्तिहरूको तथ्याकं संकलन गरेको थियो । दोस्रो चरणमा सिकाइ केन्द्र सञ्चालन गर्ने र विद्यालय शिक्षकहरूको माध्यमबाट विभिन्न चरणमा समावेश गर्दै लेखपढ गर्न सिकाइएको थियो ।

मलंगवा नगरपालिकामा गएको भदौ २५ गते नै १२ ओटै वडालाई साक्षर वडा घोषणा गरिएको थियो । त्यसको भोलिपल्ट २६ गते बृहत कार्यक्रममार्फत साक्षर नगरपालिका घोषणा गर्ने योजना भएपनि मलंगवामा भएको धार्मिक द्वन्दका कारण रोकिएको थियो । त्यसबेला संघिय शिक्षा राज्यमन्त्री प्रमिला कुमारी रायको उपस्थितीमा नगरलाई साक्षर नगरपालिका घोषणा गर्ने योजना बिफल भएपनि ६ महिनापछि मंगलबार पालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको हो ।

कार्यक्रममा मलंगवालाई साक्षर नगरपालिका घोषणा गर्नमा महत्वपूर्ण योगदान पु¥याउने शिक्षकहरुलाई सम्मान गरिनुका साथै साक्षर मलंगवा नगरपालिका नामक पुस्तक पनि विमोचन गरिएको थियो । नेपाल सरकारको मापदण्डअनुसार साक्षर नगरपालिका घोषणा गर्न पालिकाभित्र ९५ प्रतिशत नागरिक अनिवार्य लेखपढ गर्न सक्ने हुनुपर्ने व्यवस्था छ रहेको छ ।

मधेशमा यसअघि २०८० असार १८ गते सप्तरीको बोदेबरसाइन पहिलो र ३१ गते सुरुङ्गा नगरपालिका दोश्रो, तेश्रोमा गएको भदौ २२ गते बाराको बारागढी गाउँपालिकालाई ‘साक्षर पालिका’ घोषणा गरिएको थियो ।

लालबन्दी । नापि कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धर सवार गाडी दुर्घटनामा परेको छ । मानन्धरसहित कार्यालयकै १० जना कर्मचारी सवार गाडी दुर्घटनामा परेको हो ।

मलंगवा नजिकै चमेलीमाई मन्दिर नेर मानन्धरसहितको टोली सवार गाडीलाई बिपरित दिशाबाट आउँदै गरेको गाडीले ठक्कर दिएको थियो । गाडीमा मानन्धरसहित नापिकै अन्य कर्मचारीहरू बैधनाथ राउत, अजय कुमार यादव, बैजु यादव, रामलाल साह, संजिव कुमार मण्डल, दिपेन्द्र यादव, विनोद घिमिरे, शाहिद अनवर र रामबाबु राय थिए ।

उनिहरुलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार गरि थप उपचारका लागी रेफर गरिएको छ । घाईतेहरुमध्ये एक जना बाहेक अन्यको अवस्था चिन्ताजनक रहेको मलंगवाबाट पत्रकार बख्तियार अलिले जानकारी दिएका छन ।

घट्नाको सम्बन्धमा थप जानकारी आउन बाँकी छ ।

लालबन्दी । सर्लाहीको हरिवनमा २ दिने ‘युवा नेतृत्व विकास तालिम’ सम्पन्न भएको छ । वडा नम्बर २ मा रहेको सिर्जनशिल युवा क्लबले तालिमको आयोजना गरेको हो । जसमा वडा नम्बर २, ४ र ५ का १६ देखि २५ बर्ष उमेर समुहका २४ जना युवाहरुको सहभागीता रहेको थियो ।

युरोपियन युनियनको आर्थिक सहयोग, हेल्भेटास नेपालसँगको साझेदारी तथा हरिवन नगरपालिकाको सहकार्यमा सहयोगी समाज नेपाल, सर्लाहीले संचालन गरिरहेको स्थानीय शासन प्रकृयामा युवा संलग्नता प्रवर्धन (प्रोयेल) परियोजना अन्तर्गत क्लवले तालिमको आयोजना गरेको क्लबका अध्यक्ष सन्तोषकुमार महतोले जानकारी दिए । ‘स्थानीय शासनमा युवा नेतृत्व’ उप–परियोजना अन्तर्गत यहि माघ १४ र १५ गते २ दिने तालिम सञ्चालन गरिएको हो ।

महेन्द्र महतोले प्रशिक्षण दिनुभएको तालिम समापन कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष अर्जुन योञ्जन, स्थानीय शासन प्रकृयामा युवा संलग्नता प्रबद्र्धन परियोजना मधेस प्रदेश संयोजक निरमा चौधरी लगाएतको सहभागीता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथीसमेत रहेका वडाध्यक्ष योञ्जनले हरिवन नगरपालिकालाई युवा मैत्री पालिका बनाउनको निम्ति प्रयास भईरहेको बताएका थिए । नगरसभामार्फत निति नै निर्माण गरि युवाहरूको सृजनशीलता, नेतृत्व विकास लगाएतका बिषयहरु समेट्न आफुहरु प्रतिबद्ध रहेको वडाध्यक्ष योञ्जनको भनाई थियो ।

कार्यक्रमको संयोजन गायत्री परियार (अस्मिता)ले गर्नुभएको थियो ।

लालबन्दी । सर्लाहीका बिपन्न एवं दलित समुदायका बिपन्न परिवारलाई कम्बल वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले मधेश प्रदेश सरकारबाट प्राप्त दुई हजार थान कम्बल बिपन्नलाई वितरण गरेको हो । शुक्रबार जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले मलंगवा, बलरा, गोडैता नगरपालिका, कौडेना, चक्रघट्टा, विष्णु, रामनगर, धनकौल गाउँपालिकामा १,२८० थानकम्बल वितरण गरेको थियो ।

शनिबार कविलासी, बागमती, हरिवन, इश्वरपुर, चन्द्रनगर, हरिपूर्वा, पर्सा, ब्रह्मपुरीमा वितरण गरिएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ । सिडियो कोमल प्रसाद धमला तथा सुरक्षा निकायका उच्च पदस्थ ब्यक्तित्वहरुको उपस्थितीमा बिपन्नलाई कम्बल बाँडिएको कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिए ।

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते