काठमाडौं । काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए । उनले सङ्कलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताए। प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ ।

सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो । अहिले विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ ।
सौर्य एयरलाइन्सले दिएको जहाजमा रहेका यात्रुहरुको विवरण यसप्रकार रहेको छ ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी घाइते भएको पाइलट मनिषरत्न शाक्यकाे उपचार भइरहेकाे छ ।   उनकाे टाउकाेमा चाेट लागेकाे अस्पतालले जनाएकाे छ ।

दुर्घटना घाइते पाइलट शाक्यको उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो ।उनको  उपचार भइरहेकाे अस्पतालले जनाएको छ। क्याप्टेन शाक्यले परिवारका सदस्यहरुसँग भेटेर बोलिरहेका छन् ।

मनिषको अवस्था सुधार भइरहेको परिवारले बताएका छन् । उनको निधारमा काटेको छ । अहिले मनिषको होस पनि आइसकेको  मनिषको काका अमूल शाक्यले नेपालप्रेसलाई बताए । केही बेरमा रिफर गर्ने तयारीमा भइरहेको छ ।

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

निर्वाचन कार्यतालिकाअनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म मतदानका लागि समय तय गरिएको छ । उम्मेदवारको मनोनयन दर्ता असार १३ गते र उम्मेदवारको नामावली प्रकाशन पनि सोही दिन गरिने छ । उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ ।

यस्तै असार १३ गते प्रकाशन गरिने छ भने उम्मेदवारको नामावली उपरको दाबी विरोध असार १३ गतेदेखि असार १५ गतेसम्म तोकिएको छ । असार १० गतेसम्म मतदाता नामावली उपर दावी विरोधको समय निर्धारण गरिएको छ । असार १२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाही जिल्लाका माछा पालक किसानले शुक्रबार राजमार्गमा माछा फ्याँकेर राजमार्ग अवरुद्ध गरेका छन । सरकारले माछा पालनका लागी पोखरी खन्न १० प्रतिशत अनुदान दिएर बिद्युत मिटरमा महशुल बढाएको भन्दै माछा पालक किसानले राजमार्गमा माछा फ्याँकेर आन्दोलन गरेका हुन । जिल्लामा सबैभन्दा धेरै माछा उत्पादन हुँदै आएको ईश्वरपुर र चन्द्रनगरका सयौँ किसानको उपस्थितीमा पूर्व पश्चिम राजमार्गस्थित ईश्वर नगरपालिकामा पर्ने फुलजोर चोकमा ५ क्विन्टल माछा फ्याँकेर आन्दोलन गरिएको हो ।

माछा पालन व्यवसायलाई प्रोत्साहित गर्ने उदेश्यले सरकारले पोखरी खन्न अनुदान उपलब्ध गराए पछि यहाँका किसानले धमाधम परम्परागत खेती मासेर पोखरी खन्न थाले । यसरी जिल्लामा पोखरीको संख्या सयौँ विगाहमा हुन थाल्यो । लगतै सरकारले माछा पालन व्यवसायलाई कृषिबाट उद्योगमा गाभ्यो । त्यसपछि सरकारले किसानसँग विद्युतमा औद्योगिक महसुल लिन थाल्यो । यसअघिसम्म किसानले ३ रुपैँया प्रति युनिट विद्युत महसुल बुझाउँदै आएकामा उद्योगमा गाभिएपछि एकाएक १२ रुपैयाँ सम्म तिर्नु पर्ने अवस्था आयो । यसको विरोधमा आफूहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको भएपनि त्यो सुनुवाई नभएपछि यसरी आन्दोलन गर्नुपरेको माछा पालक किसान संघर्ष समितिका संयोजक रञ्जित सहनीले बताए । उनले ज्ञापन पत्रको सुनुवाई नभएपछि ऊर्जामन्त्रीलाई भेट्न मन्त्रालयमै पुग्दा पनि मन्त्रीले समय नदिएको, नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले चाँडै नै यसको सम्बोधन गर्ने भनेपनि एक वर्ष वितिसक्दा पनि सुनुवाई नभएपछि आफूहरु संघर्षमा उत्रन बाध्य भएको बताए ।

माछापालक किसान ईश्वरपुर नगरपालिका ३ का रामनारायण सहनीले अहिले बढाएको विद्युत् महशुल अनुसार माछापालन गर्दा आफूहरुलाई टिक्नै गाह्रो पर्ने दुखेसो पोखे । उनले विद्युत् महशुल बुझाउन नसकेर व्यवसाय नै त्याग्नुपर्ने अवस्था आएपछि सडकमा उत्रिएको बताए । भक्तिपुरकै किसान लक्ष्मीप्रसाद लामिछानेले यसअघि माछापालनका लागि पोखरीमा मोटर चलाउँदा प्रति युनिट तीन रुपियाँ विद्युत् महशुल तिर्दै आइरहेकामा विगत चार÷पाँच महिनादेखि महशुल बढाएर प्रति युनिट १२ रुपियाँ पुयाइएको बताए ।

माग सम्बोधनका लागि पटक पटक डेलिगेसन जाँदासमेत सम्बोधन नभएपछि आन्दोलित भएका किसानलाई यहाँका मुख्य राजनीतिक दलका अगुवाहरुले समर्थन जनाउँदै ऐक्यवद्धता व्यक्त गरेका छन् । उनीहरुले माछा पालक किसान मारमा परेको भन्दै मागलाई यथाशिघ्र सरकारले सम्बोधन गर्नु पर्ने बताएका छन् । किसानका माग प्रति सरकार मौन रहे चरणबद्ध आन्दोलन गर्दै सिंहदरवार घेर्न बाध्य हुने उनीहरुले चेतावनी दिएका छन् ।

माछापालन किसानसँगै प्रदर्शनमा उत्रिएका ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले आफ्नै ठाउँमा माछापालन गरेर आयआर्जनमा लागेका किसानलाई विद्युत् महशुल वृद्धि गरेर अन्याय गरिएको बताए । मेयर आचार्यले माछापालक किसानको माग सम्वोधनका लागि आफू सिंहदरबारमै पुगेर लम्पसार पर्न समेत तयार रहेको जानकारी गराए ।

यहाँ बार्षिक दुई हजार दुई सय मेट्रिक टन माछा उत्पादन हुने गरेको तथ्यांक छ । जसका कारण केही वर्ष अघि सम्म छिमेकी देश भारतबाट आयत हुँदै आएको माछामा भारी मात्रामा कटौती भएको छ । अहिले यहाँ उत्पादन भएका माछा काठमाण्डौँसहित देशका मुख्य सहरहरु सम्म पुग्न थालेका छन् ।

नेपाल विद्युत प्राधिकरणको लालबन्दी वितरण केन्द्रले कृषि मिटर राख्दै आएका माछापालक किसानलाई गएको साउनदेखि उद्योग अन्तर्गत राखेर विद्युत महशुल उठाउँदै आएको छ ।

लालबन्दी वितरण केन्द्रका प्रमुख इन्जिनियर त्रिभुवन यादवले माछापालनका लागि सिँचाई मिटरको प्रयोग गर्न नपाइने बताए । ‘विद्युत् महशुल सङ्कलन विनियमावली २०७८ बमोजिम माछापालनका लागि सिंचाई मिटरको प्रयोग गर्न पाइँदैन,’ वितरण केन्द्र प्रमुख यादवले भने, ‘माछापालन व्यवसायका लागि भनेर बेग्लै मिटर दिने व्यवस्था पनि छैन् त्यसैले हामीले अहिले माछापालक किसानलाई घरेलु कार्यालयबाट कागजात लिएर आएपछि ग्राहस्थ मिटर दिइरहेका छौँ, उहाँहरुले पाउनुभएको कृषि मिटर होईन ।’

इन्जिनियर यादवले सरकारले माछापालनलाई कृषि अन्तर्गत राखेपनि विद्युत प्राधिकरणको नियमावलीमा त्यस्तो उल्लेख नरहेको बताए ।

प्राधिकरणले कृषि मिटरको महशुल प्रति युनिट दुई रपियाँ २५ पैसा लिंदै आएको छ ।

माछा पालक किसानहरुको आन्दोलनमा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, पूर्व सांसाद प्रमोद साह, ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्य, पूर्व मेयर मनोज कुमार देवकोटा, नेपाली काँग्रेस महासमिति सदस्य प्रमोद बराल, नेकपा एमालेका नेता सुशील कुमार थपलिया, माओवादी केन्द्रका नेता लुमडी प्रसाद धिताल(लोचन), लोकेन्द्र मुखियालगायतले आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । माछा किसानले फुलजोर चोकमा करिब पौने घण्टा चक्का जाम गरेका थिए ।

 

लालबन्दी । नापि कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धर सवार गाडी दुर्घटनामा परेको छ । मानन्धरसहित कार्यालयकै १० जना कर्मचारी सवार गाडी दुर्घटनामा परेको हो ।

मलंगवा नजिकै चमेलीमाई मन्दिर नेर मानन्धरसहितको टोली सवार गाडीलाई बिपरित दिशाबाट आउँदै गरेको गाडीले ठक्कर दिएको थियो । गाडीमा मानन्धरसहित नापिकै अन्य कर्मचारीहरू बैधनाथ राउत, अजय कुमार यादव, बैजु यादव, रामलाल साह, संजिव कुमार मण्डल, दिपेन्द्र यादव, विनोद घिमिरे, शाहिद अनवर र रामबाबु राय थिए ।

उनिहरुलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार गरि थप उपचारका लागी रेफर गरिएको छ । घाईतेहरुमध्ये एक जना बाहेक अन्यको अवस्था चिन्ताजनक रहेको मलंगवाबाट पत्रकार बख्तियार अलिले जानकारी दिएका छन ।

घट्नाको सम्बन्धमा थप जानकारी आउन बाँकी छ ।

लालबन्दी । सर्लाहीको बागमतिमा शनिबार साँझ एक युवतिको मृत्यु भएको छ । सर्लाहीको बरहथवा ७ कि १९ बर्षिया अस्मिता रायको मृत्यु भएको हो ।

बागमति १२ स्थित भित्रि सडकमा मोटरसाईकल दुर्घटनामा परि युवतिको मृत्यु भएको प्रहरीले बताएको छ । बरहथवाबाट शनिबार भरतताल घुम्न भनि मृतक युवतसहित मुन्ना यादव र सिद्धान्त शर्मा आएका थिए । पछि फर्किने बेला सिद्धान्तलाई तालमै छोडेर फर्किएका मुन्ना र अस्मिता सवार मधेश प्रदेश ०३–२५ प ५९२७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा अस्मिताको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरिक्षक अनिलराज गिरीले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएकी अस्मितालाई उपचारको लागि सुरुमा बागमतीमै रहेको बागमती मोडेल अस्पताल कर्मैया लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि उनलाई रौतहटको चन्द्रपुर अस्पताल लगिएको थियो । त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल भने सिद्धान्त शर्माको भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मुन्ना भने सामान्य घाइते मात्रै भएका छन् ।

घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको इन्सपेक्टर गिरीले बताए ।

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिकाको उत्तरी भेग चुरे पहाडमा चर्चा गरिएको मुर्ति स्थापना र होमस्टे संचालनमार्फत पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भाव्य निष्कर्षसहित पदयात्रा सम्पन्न भएको छ । लालबन्दी नगरपालिकाको आयोजनामा शनिबार नगरभित्रको धार्मिक, साँस्कृतिक, पुरातात्विक, ब्यवसायीक पर्यटनको सम्भाव्यता पहिचान गर्ने उद्देश्यले पर्यटन प्रवर्धन पदयात्रा २०८० गरिएको हो ।

पदयात्रामा मधेश प्रदेश सांसद बेची लुंगेली, पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, जिल्ला समन्वय समितीका सभापति कौशलकिशोर सिंह, लालबन्दीका मेयर, उपमेयर बासुदेव अधिकारी, कल्पनामाया पाख्रिन, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख, जनप्रनिधिहरु, उद्योगी, ब्यवसायी, कर्मचारीको गरि १५० जनाको सहभागीता रहेको थियो । पदयात्रीहरुले लालबन्दी नगरपालिका कार्यालय परिसरमा बिहान ८ बजे जम्मा भएर वडा नम्बर १३ को नारायणडाँडा, भ्यु टावर, कर्मडण्डि, बाहुनेडाँडा, अर्नेडाँडा, कालिञ्जोर खोलाको बाटो हुँदै परवानीपुरसम्मको ८ घण्टे पदयात्रा पुरा गरेका हुन ।

चुरे पहाडमा खोलिएको ट्रयाक भएर करिव १५ किलोमिटर यात्रा गरेका पदयात्रीले तराईमा हुने अत्यधिक गर्मि र हुस्सु छल्न सो क्षेत्र अत्यन्तै उपयुक्त हुने चर्चा गरेका थिए । खानेपानी र सडकको राम्रो प्रवन्ध गर्न सके सो क्षेत्रको जनजिवन पनि सहज हुने र पर्यटकिय उद्देश्य परिपुर्तिमा सहजता आउने वडा नम्बर १५ का वडाध्यक्ष गोरख बलले बताए । अझै पनि फोन गर्नकै लागी डाँडा र रुख चढ्नुपर्ने बाध्यता रहेको सो क्षेत्रमा बर्षाको समयमा साना ठुला सवारी साधन आवागमन अवरुद्ध हुँदा जनजिवन नै अस्तब्यस्त हुने गर्दछ । बाहुनेडाँडामा पुरातात्विक महत्वको एक मुर्ति फेला परेको, अहिले सो मुर्तिको हात र केहि भाग बाहेक मुर्ति हरिवनमा रहेको भन्ने आफुले पनि थाहा पाएको बताउँदै वडाध्यक्ष बलले सो मुर्तिलाई फिर्ता ल्याएर मन्दिर निर्माण गरि पनि पर्यटक आकर्षित गर्न सकिने धारणा राखे ।

वडा नम्बर १५ को श्री प्रावि अर्नेडाँडामा पदयात्राको समिक्षा गर्दै बक्ताहरुले भौगोलिक रुपमा बिकट सो क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा बिकाश गर्न नगरपालिकाले आयोजना गरेको पदयात्रा कार्यक्रम अत्यन्तै सराहनिय रहेको बताएका थिए । कार्यक्रममा बोल्दै सिडियो धमलाले चुरे क्षेत्रको संरक्षण गर्दै होमस्टे सचांलन, पछिल्लो समय बिकशित हुँदै गएको ट्रेकिङ, साईक्लिङलाई प्राथमिकतामा राखेर कार्य गर्न सके लाभदायक हुने आफुलाई लागेको बताएका थिए । प्राकृति सौन्दर्यताले भरिपुर्ण सो क्षेत्रको पर्यटकिय सम्भावना बुझ्न र पदमार्गको अवस्था थाहा पाउन पनि पर्यटन प्रवर्धन पदयात्रा गरिएको लालबन्दी नगरपालिकाका मेयर अधिकारीको भनाई थियो ।

मेयर पदमा निर्वाचित हुँदाको अवस्थादेखि नै उत्तरी भेगको चुरे पहाडलाई पर्यटन प्रवद्र्धनमार्फत कसरी आयआर्जनसँग जोड्न सकिन्छ भन्ने चर्चा गर्ने गरेका मेयर अधिकारीद्वारा आयोजित पर्यटन प्रवर्धन पदयात्रा कार्यक्रमको धेरैले प्रशंसा गरेका छन । अन्य पालिकाका प्रमुख, उपप्रमुख भागबण्डाको विवादमै अल्झिरहँदा लालबन्दी नगरपालिकाले दिर्घकालिन सोँचका साथ चालेका कदमको पछिल्लो समय खुलेरै प्रशंसा हुन थालेका छन ।

पदयात्रामा सहभागीहरु सिडियो, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, संचारकर्मि लगाएतले परवानीपुरबाट रानिगञ्ज हुँदै फर्किने क्रममा १६ नम्बर वडाको भोर्लेनीमा कालिन्जोर खोला किनारमा कृषि क्याम्पसको लागी भनेर छुट्याईको जग्गाको समेत अवलोकन गरेका थिए ।

लालबन्दी । सर्लाहीको हरिवनमा सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) लिन बैंक पुगेकी एक वृद्धाको मृत्यु भएको छ । हरिवन नगरपालिका– ६ की ७७ वर्षीया शान्तमाया विकको सोमबार दिउँसो तीन बजेतिर हरिवनस्थित ग्लोवल आईएमई बैंकमा वृद्ध भत्ता लिन गएको बेला मृत्यु भएको हो ।

वृद्ध भत्ता लिने लाइनमा बसेको बेला उनी अकस्मात ढलेकी थिइन् । उनलाई तत्कालै उपचारका लागी स्वाभिमान अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका ईलाका प्रहरी कार्याल हरिवनले जनाएको छ । उनको हृदयघातको कारण मृत्यु भएको अनुमान गरिएको छ ।

मृतकका आफन्तले उनमा मुटुको पुरानै समस्या रहेको र स्वभाविक मृत्यु भएको बताएको ईलाका प्रहरी कार्याल हरिवनका प्रमुख प्रहरी निरिक्षक अनिल गीरिले जानकारी दिए ।

लालबन्दी । सर्लाहीको लालबन्दीस्थित लालबन्दी सिटि जेसिजको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिबार साँझ लालबन्दी ९ मा रहेको होटल आर्या ईनमा जेसिजको ५ औँ पदस्थापन कार्यक्रमसम्पन्न भएको हो ।

कार्यक्रममा सन २०२४ का लागी लालबन्दीका ब्यवसायी उपेन्द्र महतोको संयोजकत्वमा कमिटि तयार गरिएको छ । समितीको कार्यकारी उपाध्यक्षद्वयमा उत्सव वन र कुमार घिमिरे, उपाध्यक्षहरुमा प्रतिमा पौडेल, सरिता केसि, रबिन बोहोरा र रामेश्वर महतो रहेका छन । लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेब अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख कल्पनामाया पाख्रिन, बिभिन्न वडाका वडाध्यक्षहरु, पालिका अन्तर्गत रहेका बिभिन्न सरकारी, गैरसरकारी संघसंस्थाका प्रमुख, प्रतिनिधि, ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरिक्षक हरिबोल केसि, अन्य बिभिन्न पालिकाका जेसिज प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

लालबन्दी जेसिजका संस्थापक अध्यक्ष किरण घिमिरेसहित अन्य अध्यक्षहरुसमेतको सहभागीतामा बर्ष २०२३ का अध्यक्ष ठाकुर प्रसाद बख्रेल (मनोज) ले बर्ष २०२४ का अध्यक्ष महतोलाई पदभार सुम्पिएका थिए । प्रसन्न मुद्रामा देखिएका कार्यक्रमका सहभागीहरुबिच नगरप्रमुख अधिकारीले जेसिजको निति नियम आफुलाई सारै मन परेको बताएका थिए । एक ब्यक्ति, एक पद र एक कार्यकालको सिद्धान्त अन्य क्षेत्रमा पनि लागु गर्न सके अति उत्तम हुने धारण राखेका नगर प्रमुख अधिकारीले नव गठित कमिटिलाई बधाई तथा शुभकामना पनि ब्यक्त गरे ।

भानुभक्त बराल, लालबन्दी – ७
(२०८०/१०/१०)

मधेश प्रदेश सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिकाको त्रिभुवननगर देखी लालबन्दी नगरपालिका हुँदै बागमती प्रदेश, सिन्धुली जिल्लाको मरिण गाउँपालिका हुँदै सुनकोशी गाउँपालिकाको दुम्जा जोड्ने, रणनीतिक सडक योजनाको सम्भाव्यता अध्ययन सम्वन्धी स्थलगत भ्रमण कार्यक्रमको आयोजक लालबन्दी नगरपालिकाले मिती २०८०/१०/८ गते सोमवार भ्रमण र माघ ९ गते समिक्षा बैठक सम्पन्न गरेर थप आवश्यक प्रकृया अगाडी बडाउने जिम्मेवारी प्राप्त गरेको छ ।

संघिय खानेपानी मन्त्री माननीय महिन्द्र राय यादव ज्यूको नेतृत्वमा सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिका वडा न.४ त्रिभुवननगर वार ८ गते दिनको १० वजे प्रारम्भ भएको स्थलगत भ्रमण कार्यक्रमको टोली रातको १० बजे सिन्धुलीको वि•पी• राजमार्ग अन्तर्गतको दुम्जामा पुगेको थियो ।

लालबन्दी नगरपालिका आयोजक रहेको भ्रमण टोलीमा संघिय खानेपानी मन्त्री माननीय महिन्द्र राय यादव संयोजक, मधेश प्रदेश सांसद बेची लुङ्गेली, पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठ, लालबन्दी नगरप्रमुख वासुदेव अधिकारी, नगर उपप्रमुख कल्पना माया पाख्रीन प्रमुख प्रशासकिय अधिकृत बसन्त न्यौपाने प्राय सबै वडा अध्यक्ष र जिम्मेवारी सहित केही कमचारी, त्यसैगरी सिताराम दाहाल, कुबेर आचार्य, शुरेन्द्र कुमार न्यौपाने दिपक अधिकारी, पुष्कर ढुङ्गेल, नारायण गुर्मछान, शालिग्राम लम्साल, ईन्द्र योञ्जन, रामबाबु साह, नबराज अधिकारी लगायत सडक डिभिजन चपुर बाट दिपक पाण्डे सहितको टोली बिहान ८ बजे त्रिभुवन नगर भ्रमणको प्रारम्भ स्थानमा पुग्यो ।

त्रिभुवन नगर


भारतिय सिमाना नजिकै भ्रमण टोलीलाई स्वागत र बिदाइको लागी ब्यवस्थापन गरिएको रहेछ। हामी पुगेको केही बेरमा मन्त्री महिन्द्र रायको टोली कार्यक्रम स्थलमा आई पुग्नुभयो । सयौको संख्यामा स्थानियको उपस्थिती रहेको त्यो सभामा ब्रह्मपुरी ४ का वडाध्यक्ष श्यामवावु साहको अध्यक्षतामा औपचारीक कार्यक्रम सम्पन्न भयो । कार्यक्रम पश्चात खाजाको व्यवस्था शशि भुषण सिंह (राजन)को घरमा गरिएको रहेछ । चिसो मौसममा तातो तातो पुरि, तरकारी र गुलिया मिठाई खायर आयोजकलाई धन्यवाद दिदै स्थलगत यात्रा दिनको १० वजे प्रारम्भ भयो ।

जनवरी-२२
भारतको अयोध्यामा जनवरी-२२ माघ ८ गते भगवान श्रीरामको मुर्ति प्राणप्रतिष्ठा गर्ने कार्यक्रम थियो । अयोध्या पुग्न नसके पनि भारतिय भुमि टेकौं भनेर हामि केही साथीहरु ठट्टा गर्दै त्रिभुवननगरको सिमा वाट भारतिय भुमिमा प्रवेश गरियो। हरेक घर पहेलो झण्डाले सजिएको पोल पोलमा माइक राखेर राम नाम र भजन वजाएको पहेलो ध्बजा सहित रिक्सा साईकल, मोटर साईकल, गाडी सबैमा झण्डा राखीएको वेला वेला मानिसको मुख वाट जय श्रीराम भन्ने आवाज शुन्दा लाग्थियो अयोध्या यहि हो। जगत नै राममय भएको भान भएको थियो ।

केहिबेर हामी बजार घुमेर फर्कीयौ ।
हाम्रो औपचारीका कार्यक्रम सुरु हुने बेला भएको रहेछ । हाम्रो यात्राको क्रममा ईश्वरपुर वजार बाट दक्षिण तर्फ हजारौको संख्यामा श्रीरामको कलस यात्रा गरेका भक्तजन संग हाम्रो भेट भयो । भक्तजनको भिडमा झन्डै १० मिनेट जाममा परियो । गाडीको झ्यालबाट श्रीराम भन्दै भक्तजनलाई प्रेरित गर्दै हाम्रो यात्रा उत्तर लाग्यो भक्तजनहरुको दक्षिण ।

संयोगले जुरेको जनवरी २२ राम लल्लाको प्राणाप्रतिष्ठा गर्ने दिन त्रिभुवन नगर- लालबन्दी – दुम्जा सडकको स्थलगत भ्रमणको दिन परेकोले सधै सम्झनामा रहने छ।

लालबन्दी नगरपालिकामा
दिनको ११ वजे त्रिभुवन नगर वाट माननीय मन्त्री महिन्द्र राय यादवको नेतृत्वमा भ्रमण टोली लालबन्दी नगर पालिकाको प्राङ्गणमा आईपुगेर सामान्य चिया बिश्राम पश्चात वाटोमा आवश्यक पर्ने सामाग्रीको व्यवस्थापन गरेर ११, १२ वटा गाडीमा झण्डै १०० जनाको जम्बो टोलीको यात्रा अगाडी बढ्यो ।

हरेक गाडीको अगाडी भ्रमणको व्यानर टाँगेर प्रहरीको स्कर्टिङ्गमा मन्त्रि ज्यू चढ्ने सवारी को साइरन ले यात्रालाई रोमाञ्चित बनाएको थियो । पत्थरकोर खोला हुँदै लालबन्दी नगरपालिकाले वनाएको नया सडकको ट्रयाक अवलोकन गर्दै लानबदी बडा न १४ का वडा अध्यक्ष छेनाम सिंह घिसिङको आतिथ्यमा मोटर दोभानमा खानाको प्रवन्ध गरियको थियो । छोटो समयको व्यवस्थापनमा जम्मो टोलीले खाना खायर झण्डै १ वजे यात्रालाई निरन्तरता दिदै ३ वजे मरिण गाउँ पालिकाको सभा हलमा पुगियो ।

सिन्धुलि जिल्लामा

मरिण खोलाको पुल तरेपछी सिन्धुली क्षेत्र नम्बर २ का सांसद राजन दाहालको नेत्वृत्वमा, जिल्ला समन्वय समितिका सभापति, गाउँपालिका अध्यक्ष सहितको टोली भ्रमण टोलीलाई स्वागत गर्न माला र खादा वोकेर सडक छेउमा वस्तु भएको रहेछ । मरिण गाउँपालिका को अध्यक्ष विमर्श मोक्तानको आमन्त्रणमा गाउँपालिकाको सभाहलमा पुग्यौ । त्यस पालिकाको प्रमुख प्रसाएकि अधिकृतले औपचारीक कार्यक्रम को सुरुवात गर्नुभयो ।

लालबन्दी नगरपालिका प्रमुख वासुदेव अधिकारीले त्रिभुवननगर-लालबन्दी- दुम्जा भ्रमणको विषयमा र आवश्यकताको बारेमा आफ्नो धारणा राख्नुभयो ।

सडक डिभिजन चपुरको डी.इ. दिपक पाण्डेले लालबादी – मरिण को दूरी, भौगोलीक अवस्था र सम्भावनाको बारे प्रकाश पार्नुभयो वोल्ने क्रममा उपप्रमुख कल्पना माया पाख्रीन, मधेश प्रदेश सभासद वेचि लुङ्गेली, पूर्व राज्य मन्त्री शम्भुलाल श्रेष्ठ सिन्धुली जिल्ला समन्वय समिति सभापति, गाउँ पालिकाका अध्यक्ष, उपाध्यक्ष संघिय सांसद राजन दाहाल, मन्त्री महिन्द्र राय यादव ज्यूको यो सडकको महत्व र पूर्ण गर्न आवश्यक पर्ने भुमिका निर्वाह गर्ने प्रतिवद्धता प्रकट गर्नुभयो । औपचारीक कार्यक्रम सकिदा झण्डै ४ बजेको थियो मन्त्री महिन्द्र रायले भन्नुभयो आजै दुम्जा पुगे सडक बन्छ नपुगे बन्दैन । धेरै जना अलमल्ल पर्नुभयो। जाडोको समय साँझ पर्न लाग्यो, बिकट वाटोको यात्रा गर्नुभन्दा फर्कनु ठिक मानेका धेरैजना मन्त्रिजिको घोषणाले जसरी पनी पुग्ने मनस्थितीमा पुग्नु भयो । एकैछिनमा माहोल जाडोमा गरम वन्यो, उर्जा थपियो ।

फोरव्हिल नभएको गाडीको कारण केही गाडीका साथीहरु त्यहीवाट फर्कनु भयो। फेरी मन्त्रीज्यूको नेतृत्वमा ८ गाडीमा झण्डै ४० जनाको यात्रा प्रारम्भ भयो राति करिव १० वजे दुम्जाको वि.पि. सडकमा पुगेर यात्रा सम्पन्न भयो- त्रिभुवन नगर – लालबन्दी – मरिण-दुम्जा सडकको ।

यात्रा तय कसरी भयो ?
मिती – १०८०/६/८ गते लालबन्दी नगरपालिका प्रमुख वासुदेव अधिकारीको पहल र अध्यक्षतामा नगरप्रमुख स्तरिय बैठकमा हरिवन नगरपालिकाको प्रमुख रमेश बुढाथोकी हरिपुर न.पा. प्रमुख गोपाल पंजियार ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ राय तेली र चन्द्रनगर गा.पा अध्यक्ष राजकुमार महतो उपस्थित पालिका समन्वय बैठकको निर्णय अनुसार र यस सम्बन्धमा मिती २०८०/५/८ गते लालबन्दी नगर कार्यपालिका बैठकको निर्णय अनुसार मिती – २०८०/८/११ गते च न ७२७ नगरपालिका प्रमुखले सम्माननिय प्रधानमन्त्रीज्यूलाई आयोजना विस्तारिकरण सम्बन्धमा सम्बन्धित नगरपालिकाहरूको तर्फबाट पत्र लेखरे खानेपानि मन्त्रिसंग भेट्नुभयो। यस सम्बन्धमा पटकपटक छलफल भइसकेको हुनाले वाहाँको नेतृत्वमा प्रधानमन्त्रीलाई भेट्‌ने योजानाले खाने पानी मन्त्रीकोमा पुग्नु भएको थियो । मन्त्रीज्यूले आफ्नो लेटर प्याडमा सोही सम्बन्धमा आफ्नो धारणा सहितको सिफारीस पत्र लेखी २०८०/८/१२ गते विहान ७ जने प्रधानमन्त्रि निवास बालुवाटार जाने व्यवस्थापन गर्नुभयो।

२०८०/०८/१२ गते
विहान ७ बजे लालबन्दी नगर प्रमुखको टोली ३ नम्बर गेट बाट वालुवाटार प्रधानमन्त्रि निवास प्रवेश भयो । मन्त्री पनि आईपुग्नुभयो समय लिई सकेको हुनाले समयमै पुग्यौं तर सोही दिन वेलुका प्रधान मन्त्री भ्रमणमा कतै जानुपर्ने भएकोले विशिष्ट व्यक्ति र निकायको मानिसको दौडा दौडी हेर्न लाएकको थियो । झण्डै ३ घण्टा प्रतिक्षा गरेपछी प्रधान मन्त्री संग भेट्न पाईयो नगर प्रमुख वासुदेव अधिकारी र मन्त्री महिन्द्र रायले सडकको महत्व र आवश्यक्ताको वारे प्रस्ट पार्नुभयो प्रधानमन्त्रीले सचिवलाई आवश्यक कार्वाही बढाउन तोक लगाउनुभयो । सोही दिन सचिव ज्यूले पूर्वाधार लाई पठाउन तोक लगाउनुभयो र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लाई प्रधानमन्त्री तथा मत्रिपषदको कार्यालय वाट मिती २०८०/८/१२ गते च.न.६२२/२२९५ को-वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमको विस्तार सम्वन्धमा पत्र लेखियो ।

हामी पत्र बुझेर खानेपानि मन्त्रिज्यूको नेतृत्वमा भौतिक मन्त्रालय पुग्यौ । खानेपानि मत्री भौतिक मन्त्री, लालबन्दी नगरप्रमुख वासुदेव अधिकारी, श्याम श्रेष्ठ, राजन श्रेष्ठ, शुरेन्द्र कुमार न्यौपाने लगायत का व्यक्तिहरू भौतिक मन्त्रालयकोयको बैठक कक्षमा बसेर छलफल पश्चात प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वाट हामिले ल्याएको पत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री प्रकाश ज्वालाले सचिवलाई उक्त सडक रणनितिक महत्त्वको सडक भएकोले प्राथमिकता साथ वजेट व्यवस्था गर्ने प्रकृया अघिबढाउने भनेर हस्ताक्षर गर्नुभयो ।

हामीले सो कागजात सचिव ज्यूलाई बुझायर फर्कीयौँ। यसैगरी सोही सम्बन्धमा पत्र सडक डिभिजन चपुरमा आयो र खानेपानी मन्त्रीज्यूको अनुकुल समय मिलायर लालबन्दी नगरपालिकाको आयोजनामा प्राविधिक सहितको टोलीले प्रारम्भिक अनुगमन सहितको स्थलगत भ्रमण जुरायो । यो सडक संगको सम्बन्धमा ८ गते महत्वपूर्ण रहयो। कार्यपालिका बैठकको निर्णय – २०८०/५/८, पालिका समन्वय बैठक २०८०/६/८ र अवलोकन भ्रमण २०८०/१०/८ जुराएको होईन तर जुर्नु एक संयोग हो । कार्यपालिकाको निर्णय भएको पूरा ५ महिनामा भ्रमण सम्पन्न भयो ।

मरिण – दुम्जा यात्रा

३ वटा सिन्धुली जिल्लाको गाडी माननिय मन्त्रिज्यू,को १ पूर्व राज्यमन्त्रि शम्भुलाल श्रेष्ठको – १ लालबन्दी नगरपालिकाको ३ गरेर ८ वटा गाडी नया वस्तीबाट उकालो लाग्यो । तेल्ने, सालभञ्याङ, मधुवन, फिदिम खोला, काली खोलाको दोभान हुँदै रामपुर पुग्दा झम्के साँझ परेको थियो कतै निकै अफ्टेरो र घुम्ती त कतै सामान्य धुले वाटो १० कि.मी पार गर्न झण्डै २ घण्टा लागेको थियो । माननिय राजन दाहाल को क्षेत्रमा मन्त्रि पुग्नुभएको रामपुरवासीले भ्रमण दल सबैलाई भव्य स्वागत गर्नुभयो । केही वेरको विश्राम पश्चात चिया खायर फेरी हाम्रो यात्रा सुरु भयो । आप डाडा, चौकी डाडा, महाभारत लेख, सात दोवाटो (नाङ्गेडाडा) पुग्दा ८ः३० वजेको थियो । केहीवेर वाटो झुक्कीएछ अफ्टेरो वाटो रातीको समय अगाडीको गाडी देखीएन भने वाटो झुक्कीने डरले धेरै ठाउँ गाडीबाट ओर्लिएर टायरको डाम हेरेर हिड्नु पर्ने । अगाडीको गाडी छुटेछ ।

लालबन्दीको प्रमुख प्रशासकीय अधिकृत चढ्नुभएको गाडी सात दोवाटो बाट देब्रे लाग्नुपर्ने दाहिने लाग्यो मन्त्री ज्यूको गाडी पनि पछी लाग्यो त्यो भन्दा पछाडी नगर प्रमुख चड्नु भएको गाडीपनि पछि लाग्यो ३ वटै गाडीको लागी सबै वाटो नया अनी उस्तै । हरिहरपुर गडी पुगियो विद्यालय आयो गाउँ आयो फराकीलो ढुङ्गङ्गा विछाएको राम्रो वाटो गाडीको स्पीडपनि राम्रै थियो । हामी पछाडी उपप्रमुख चढ्नुभएको सुमो थियो बत्ती देखिएन, कतै वाटो भुल्नुभयो होला एकछीन पखर्नुपर्ने मन्त्रि जिको गाडी अगाडी बढ्‌यो भनेर कुरा हुँदै थियो १४ न बडा अध्यक्षको फोन आयो तपाई हरु गलत वाटो जानुभयो भन्नुहुन्छ । हैन होला सबै गाडी हाम्रो अगाडी छ यतै आउनु भनेको, होईन तपाईहरु फर्कनु भन्नु हुन्छ । केही बेर त्यही रोकेर सबै संग फोनमा सम्पर्क र भयो साँच्चै हामी हिढेको बाटो त पिपल दमार जाने पो रहेछ । झण्डै आदा घण्टाको वाटो वाट हामी फर्केर आयौ । सबैको भेट नाङ्गे डाडामा भयो र देब्रे तिर लाग्यौं देवी थान हुँदै । सबै भन्दा मजा चै बाटोमा जहाँ जसलाई सोधेपनी दुम्जा कतिखेर पुगीन्छ भन्दा जिब्रो निकालेर टाडा छ यहाँवाट २,३ घण्टा लाग्छ भन्ने ।

मरिण वाट ३ घण्टामा पुगीन्छ भनेको यात्रा ४ घण्टा हिडेर सोद्धापनि ३ घण्टा लाग्छ भन्ने सुनेर रमाईलो पनि लाग्यो र थकानले हतास पनि । नगरप्रमुख, शालिग्राम लम्साल, दिपक अधिकारी म र पत्रकार द्वय क्षितिज विश्वकर्मा र कृष्ण थपलिया एउटा गाडीमा थियौ । वाटोमा विहान सोनवर्षामा घर लान शालिग्राम लम्सालले ड्राईफ्रूट किन्नु भएको रहेछ हामी सबै मिलेर एउटा खजुरको डिब्बा खालि पायौं । क्षितिज जि ले खान मान्नुभएन । किन भनेको? विचरा पेट उकालो, ओरालो र घुम्तीले भरिएको रहेछ ! मेरो पछाडि बस्नुभएको थियो धन्न गाडीवाट झर्न भ्याउनुभयो अनि पेट खाली पार्नुभयो, मेरो टाउको जोगियो । लामो यात्रा प्राय कष्टकर नै हुन्छ तर स्मरण मिठो बन्छ ।

देवीथान मलंङ्गा हुँदै सिमल चौर बाट महामानव वि पि को घर भएको ठाउँमा राती ९.३० मा त्यहाँ पुग्दा पनि स्थानीय खादा माला लियर स्वागत गर्न बस्नुभएको रहेछ । फोटो खिच्न अध्यारोमा कोही मोबाईलको टर्च देखाउने कोही अनुदार देखाउने गरेर फोटो खिच्ने कार्य भयो । झण्डै १० वजे राती दुम्जाको वि.पि. राजमार्ग हुँदै मुलकोटको क्वालीटी रिसोर्टमा भव्य स्वागत सहित प्रवेश गरियो। सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहरा र संघिय सांसद राजन दाहालको आतिथ्यमा व्यवस्थित खाना र वासको प्रवन्ध मिलाईएको रहेछ ।

२०८०/१०/९ विहान
सोही रिसोर्टमा चिया खाजा खायर खुख्खा क्षेत्र घोषणा गरिएको सुनकोशी गा.पा. का जनतालाई सुनकोशीको पानी लिफ्ट गरेर ख्वाउने झण्डै १ अर्व वजेटको आयोजनाको अवलोकन पश्चात त्रिभुवननगर- लालबन्दी – दुम्जा सडकको विषयमा छलफल र निर्माण प्रतिवद्धता सहित भ्रमण टोलीको प्रमुखहरुले पत्रकार लाई अन्तर्वार्ता दिएपछी हामी विदा भयौं । मन्त्रीज्यू ३ वजेको क्याविनेर बैठक भ्याउन काठमाण्डौ लाग्नु भयो हामी १:३० वजेको समिक्षा वैठक लालबन्दी नगरपालिकाको सभाहलना वस्नेगरि विदाबारी भयौँ ।

लालबन्दी आई पुगेर खाना खायपछी नगरप्रमुख वासुदेव अधिकारीको अध्यक्षतामा समिक्षा वैठक वस्यो । भ्रमण सफल र फलदायी भएको निषकर्ष, थप सुझाव र आवश्यक प्रकृया अगाडी बडाउने सबैको प्रतिबद्धता सहित बैठक सम्पन्न भयो ।

रणनितिक सडक
सडक धेरै प्रकारका हुन्छन् । त्रिभुवन नगर- लालबन्दी – दुम्जा सडक को आफ्नै विषेशता छ । पहिलो यो भारतको सुनवर्षा सिमाना संग जोडीन्छ । पहिला सक्रिय रहेको त्रिभुबन नगरको भन्सार कार्यालय अहिले झण्डै मृत अवस्थामा छ। यो सडक संचालन हुँदा भारतिय सिमावाट राजधानी पुग्ने छोटो दुरीको भन्सार हुनेछ दुई देशको व्यापारीक सडक बन्न सक्छ । पहाड कन्दरा मा उत्पान भयका सामाग्रीले वजार पाउँछन् । मधेश, तराई पहाडलाई जोड्दा यसले सामाजिक, सांस्कृतिक, औद्योगिक, पर्यटन व्यवसाय, शैक्षिक र आर्थीक क्षेत्रको विकाश हुनेछ । एउटा सडकले भारतिय सिमाना, लोकमार्ग, रेल मार्ग, महेन्द्र राजमार्ग, मदन भण्डारी राजमार्ग र बि पी राजमार्गलाई जोड्ने भएकोले यो सडकलाई रणनितिक सडक भनि मानिएको छ ।

सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो) सहितको टोलिले बिहिबार जिल्लाका दक्षिणी भेग र सिमानाकाहरुको अनुगमन गरेको छ । सिडियो कोमल प्रसाद धमला नेतुत्वको टोलि मर्मम्मत सम्भार तथा रंगरोगन हुँदै गरेको मधुवन गोठ हुँदै बलरा नगरपालिकाका छन्की शेर्वा नाका सम्मका पिलरहरुको अनुगमनमा पुगेको हो । पिल्लरहरुको अवलोकन गर्दै प्रजिअ धमलाले वि.सं. २०१४ पछि निर्माण भएका पिल्लरहरुको मर्मत सम्भार तथा रंगरोहन पछि अनुगमन तथा निरिक्षन गरिएको बताए ।

सो क्षेत्रमा काम भईरहेको ठाउँमा भारतिय किसान तथा ब्यापारिले उखु जोख्ने काँटा राखेर काम गरेको भन्ने गुनासो आएपछि आफुहरु सो क्षेत्रको अनुगमनमा पुगेको सिडियो धमलाले भने । त्यसैगरि बलरा नगरपालिकामा रहेको एक विद्यालयमा पनि केहि समस्या देखिएकोले सो को समाधानका लागी पनि छलफल गरिएको सिडियो धमलाको भनाई छ ।

अनुगमनमा सिडियो धमला, जिल्ला प्रहरी कार्यलय सर्लाहीका डिएसपी दिपेन्द्र पजियार थारु, सशस्त्र प्रहरी बलका एसपी तुल्ल बहादुर भण्डारी, सेनाका सुर्य बहादुर कार्की, अनुसन्धानका सन्तोष ढुंगाना, बलराका मेयर रामाशंकर प्रसाद कुशवाह लगायत रहेका थिए ।

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते