लालबन्दी : मुलुकको जेठो साहित्यकारहरुको संस्था नेपाली लेखक संघले यहि २०८० साल बैशाख १६ गतेका दिन लेखक दिवस मनाउने निर्णय गरेको छ । निर्णय अनुसार सर्लाहीमा पनि कार्यक्रम गरिने भएको छ।
प्रथम राष्ट्रिय लेखक दिवसका दिन सर्लाहीको हरिओनमा मुक्तक, कविता र गजल वाचन कार्यक्रम गरिने भएको हो । नेपाली लेखक संघ सर्लाहीको आयोजनामा ‘हाम्रो प्रतिवद्धता : विचार अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रता’ भन्ने नाराका साथ हरिवनस्थित सगुन सहकारी संस्थाको सभाहलमा कार्यक्रम गर्न लागिएको नेपाली लेखक संघले जनाएको छ ।
कार्यक्रममा मुक्तककार हरिकृष्ण काफ्ले, कवि कुमार दाहाल ‘कुसुम’ र गजलगो सुमित्रा आचार्यले आफ्ना रचनाहरु वाचन गर्ने कवि तथा नेपाली लेखक संघका केन्द्रीय सदस्य जीवन आचार्य ‘निश्चल’ ले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम यही बैशाख १६ गते शनिवार दिउँसो साँढे १ बजे हुनेछ । कार्यक्रममा अन्य साहित्यकारहरुले समेत रचना वाचन गर्नेछन् ।
नेपाली लेखक संघले यसैवर्षदेखि हरेक वर्ष बैशाख १६ गते राष्ट्रिय लेखक दिवस मनाउने निर्णय गरे अनुरुप सर्लाहीमा पनि दिवस मनाउन लागिएको हो । ‘बैशाख १६’ नेपाली भाषा साहित्यको इतिहासमा लाईब्रेरि पर्वको रुपमा परिचित विशिष्ट घटनासँग सम्बन्धित दिन हो ।
१९८७ सालमा सरस्वती गुठी नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले ४५ जना कवि तथा लेखक एवं बुद्धिजीवीले हस्ताक्षर गरी श्री ३ भीम शमशेर समक्ष निवेदन पेस गर्दा श्री ३ महाराजले निवेदनमा हस्ताक्षर गर्ने सबै युवालाई दरबारमा बोलाउन लगाई दण्डित गरेको दिन (वैशाख–१६) लाई राष्ट्रिय लेखक दिवसको रुपमा मनाउन लागिएको नेपाली लेखक संघका केन्द्रीय सदस्य लेखक, कवि तथा साहित्यकार निश्चलले बताउनुभयो ।
दिवसका अबसरमा संघले पहिलो पटक ‘राष्ट्रिय लेखक पुरस्कार’ वरिष्ठ कवि एवं संस्कृतिविद् बैरागी काईंलालाई दिने निर्णय गरेको संघले निकालेको विज्ञप्तिमा उल्लेख गरेको छ ।