लालबन्दी : अघिल्लो महिना सर्लाहीको लालबन्दीमा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आय व्ययको विवरण सार्वजनिक गरिएको छ ।
लालबन्दी नगरपालिका वडा नम्बर ९ स्थित पुरानो राजमार्गसँगै बस्तिपुरको पुछार, जरुवा पानी नजिकै मंसिर १० देखि १६ गतेसम्म भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको थियो । बाबा विश्वकर्मा सन्यास आश्रम निर्माण तथा गुरुकुल संचालन गर्ने उद्देश्यले आयोजना गरिएको सप्ताह ज्ञान महायज्ञमा कुल १३ लाख, ८२ हजार, ३९८ रुपैँया संकलन भएको आयोजक समितीका अध्यक्ष बिष्णु बहादुर विश्वकर्माले जानकारी दिनुभयो । बिहिवार एक औपचारीक कार्यक्रममार्फत महायज्ञमा ११ लाख ५७ हजार १७६ रुपैँया खर्च भएको र २ लाख २५ हजार २२२ रुपैँया बाँकी रहेको जानकारी गराईएको हो ।
आयोजकको आर्थिक ब्यवस्थापन समितीकी पवित्रा घिमिरे तथा अन्य पदाधिकारी एवं संचारकर्मिको उपस्थितीमा भएको कार्यक्रममा ६६ हजार ४९० रुपैँया बैंक खातामा रहेको, बाँकी प्रतिबद्धता गरिएको रकम संकलन हुने क्रममा रहेको जानकारी गराईएको छ । आश्रम निर्माणका लागी मधेश प्रदेश सांसद बेची लुंगेली र लालबन्दी नगरप्रमुख वासुदेब अधिकारीले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको आयोजक समितीका मान बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
त्यसैगरि मंगल विश्वकर्माले एउटा कोठा निर्माण गरिदिने, लालबन्दीको वडा नम्बर ५, ७ र ९ ले निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । महिला प्रमुख वाचक भागवत मञ्जरी राधिका दासिजीसहित दलित समुदायद्वारा जिल्लामै पहिलो पटक आयोजित ऐतिहासिक सप्ताह ज्ञान महायज्ञलाई नजिकै रहेको निर्वाचनले केहि प्रभावित पारेको भएपनि पुर्ण रुपमा सफल भएको आयोजक समितीले जनाएको छ ।
पंडित एवं समितीका अध्यक्ष विश्वकर्माले भागवत लगाउने आफ्नो लामो समयको संकल्प पुरा भएको बताउनुभएको छ । सो कार्यक्रममा ढुकढुकी एफ.एम.सहित ३ ओटा रेडियो र नगद सहयो गर्नेहरुलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो भने कार्यक्रममा एमाले नेत्री पार्वति विश्वकर्मा, एमाले नेता एवं समाजसेवी भरत गौतमलगाएतको उपस्थिती रहेको थियो ।