बागमती नगरपालिकाको ९० करोड १० लाख रूपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक

बागमति, असार ११ : बागमती नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९० करोड १० लाख रूपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । यो गत वर्षको बजेटभन्दा झण्डै ९ करोड बढी हो ।

नगरपालिकाको नीति तथा कार्यक्रममा एक दर्जन विकासका योजनालाई नगर गौरवका आयोजनामा समेटिएको छ । नगरपालिकाले प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाको समाधिस्थललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने भएको छ।

आइतबार आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै नगरपालिकाकी उपप्रमुख लीला मोक्तानले जंगबहादुरको समाधिस्थललाई पर्यटकीय क्षेत्र (पार्क) बनाउने घोषणा गरेकी हुन् । बजेट सार्वजनिक कार्यक्रममा बागमती नगरपालिकाका मेयर भरत थापाले प्रथम राणा प्रधानमन्त्री जंगबहादुरको समाधिस्थल पर्यटकीय केन्द्रबिन्दु बन्नसक्ने विश्वास व्यक्त गरे ।

उनले जंगबहादुरको समाधिस्थललाई पार्कका रूपमा विकास गर्न नगरपालिकाले भौतिक संरचना निर्माणलाई प्राथमिकतामा राखेको बताए। उनले पार्कको डीपीआर बनाउन काम सुरु भइसकेको जानकारी दिए। वि.सं. १८७४ असार ४ गते मथुराबेँसी अर्घाखाँचीमा जन्मिएका जंगबहादुर राणाको निधन १९३३ सालमा रौतहटको पत्थरघट्टामा भएको थियो। सिकार खेल्न तराईतिर आएका बेला निधन भएका उनको अन्त्येष्टि भने सर्लाहीको राजघाट ९हाल बागमती नगरपालिका(७, मानेचौर० मा गरिएको थियो।

जंगबहादुरको दाहसंस्कार भएकै कारण कालान्तरमा त्यस स्थानको नाम राजघाट राखिएको किंवदन्ती छ । बजेटमा सर्लाही र रौतहटको सीमा नदी बागमतीमा आधुनिक आर्यघाट निर्माण, सुविधायुक्त बजार केन्द्र निर्माण, सांस्कृतिक नमूना बस्ती, बागमती माछापोखरी (भरत ताल) पर्यटन पुर्वाधार निर्माण आयोजना, बागमती फनपार्क आयोजना, बागमती रिसोर्ट, कृषि आधुनिकीकरण कार्यक्रम, नगर बगैँचा आयोजना, वौद्ध तपोवन पर्यटकीय स्थल निर्माण लगायतका आयोजनालाई नगर गौरवका आयोजनामा समेटिएको छ ।

बजेटमा बागमती  नदी (सर्लाही र रौतहटको सीमा नदी) मा सुविधायुक्त आर्यघाट निर्माणका लागि तीन करोड रूपैयाँ विनियोजन गरिएको छ ।

मेयर थापाले बागमती नगरपालिकालाई नेपालकै नमुना नगरपालिका बनाउने गरी काम अघि बढाइएको दाबी गरे। ‘देशका ७५३ स्थानीय तहमध्ये नमुनायोग्य नगरपालिकाका रूपमा हामी बागमतीलाई विकास गर्ने छौँ,’ मेयर थापाले भने।

उनले नगरपालिकाले बनाएका विकास निर्माणका सबै योजना सम्पन्न गर्न लगभग ६ अर्ब रूपैयाँ आवश्यक पर्ने जानकारी दिए ।

‘हाल नगरपालिकासँग त्यति पैसा नभए पनि हामीसँग कामका सपना र योजनाहरु छन्। सपना साकार पार्ने इच्छा-शक्ति छ,’ मेयर थापाले भने, ‘विगतमा पनि हामीले आफूसँग पर्याप्त बजेट नहुँदा नहुँदै पनि ठूलाठूला योजना सम्पन्न गरेका छौँ। जहाँ सोच र सपना हुन्छ, त्यहाँ स्रोतको व्यवस्थापन हुन्छ ।’

बागमती नगरपालिकाले छोरी जन्माउने आमालाई ५ हजार रूपैयाँ सुत्केरी भत्ता दिने भएको छ। त्यसैगरी उत्कृष्ट दलित विद्यार्थीलाई ल्यापटप प्रदान गर्ने घोषणा नगरपालिकाले गरेको छ। सञ्चार क्षेत्रको विकासका लागि बागमती नगरपालिकाले १० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।

नगर क्षेत्रमा एकै प्रकारका घर निर्माणका लागि मापदण्ड लागू गर्ने, प्रत्येक वडामा एउटा खुला क्षेत्र कायम गर्ने, नदी उकास, पर्ती जमिनको संरक्षण गर्नेजस्ता विषयलाई प्राथमिकतामा राखेर बागमती नगरपालिकाले नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

सर्लाहीको बागमती नगरपालिका मधेश प्रदेशमै सबैभन्दा धेरै सडक कालोपत्रे बनाउने स्थानीय तहमा पर्छ। बागमती नगरपालिकाका शतप्रतिशत सडक कालोपत्रै भइसकेको उपमेयर लीला मोक्तानले जानकारी दिइन् ।

https://www.youtube.com/watch?v=qtvrREmIz6g&t=149s

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
8
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते