मनोज बख्रेल, लालबन्दी सर्लाही : सुकुम्बासी समस्या एक चुनौती र राजनीति अखडा भएको छ । यो अखडा बनाउनेहरुले यसको समाधान गर्न दिँदै दिँदैनन । वास्तविक भुमिहिन, आवास विहिन, अतिनै संकटमा रहेकाहरुको तथ्यांक निकालौँ न, यस्का लागि इमान्दार प्रयासका लागि स्थानीय सरकार तत्पर र प्रतिबद्ध बनौं । भोट घटे घटोस, अर्को पटक चुनाव न जिते नजितियोस्, केही भएन तर समाधान गरेरै छोड्ने बाचा गरौंला न । सकिन्छ गर्न ? प्रश्न नम्बर –१,
अब आउने तथ्यांकमा एकाघरको अलग–अलग भै दर्ता गराउनेको तथ्यांक निकालौँ र घटाऔँ । यसबाट आउनेलाई कुल सुकुम्बासी भनौं, वर्गिकरण गरौँ । यो त पक्कै सकिन्छ गर्न ? प्रश्न नम्बर–२,
अब, सबैको रोजगारीको अवस्था, बैंक खाता र लगानी आदिका बारेमा स्पष्ट लिखित गरौँ । उनीहरुको हस्ताक्षर र औंठा छाप लिऔँ । यसैको आधारमा सबैको डिटेल चेक गरौं । फर्जी र सक्षम देखिने सबैलाइ माथिको तथ्यांकबाट हटाउँ घटाउँ । त्यसपछि सुकुम्बासी कार्ड दिऔँ र समयावधि समेत दिऔँ । के सकिँदैन र ? प्रश्न नं. –३
त्यसपछि, राज्यले पुनः स्थापनाको लागि स्थान ब्यबस्थापन गरौं र भनौँ यो तपाईंको आधार हो सँधैका लागि अधिकार होइन् आफ्ना लागि यति समयमा आफै गर्नुहोस् । हामी राहत स्वरुप यी यी कार्य गर्छौं भन्नुहोस् । यो गरेमा भनिएका सुकुम्बासी तथ्यांक २५% मा झर्ने छ । अहिले बनेका सुकुम्बासीहरु कति कति छन् ती सबैको बाजा बज्ने छ । वास्तविक सुकुम्बासीका लागि बढी भन्दा बढी सहुलियत पाउने छन् । त्यसले सुकुम्बासीलाई नै फाइदा पु¥याउने छ । अहिले हुकुमवासिका कारण सुकुम्बासी चरम दुःख बेहोर्न विवस छन् । डोजर चल्ने ठाउँ, नढल्नु पर्ने टहराहरुपनि ढल्दैछन् । पहिल्यै जल्नु पर्ने हुकुमीका बस्तिहरु पनि बल्दै छन् । यसरी समान न्याय/सामाजिक न्याय स्थापना गर्न सकिदैँन । त्यसैले यो विषय गम्भीर छ ।
पछिल्लो समय थापाथली खोला छेउमा भएका र नभएका सुकुम्बासी बस्ती माथी नगरको डोजर आक्रामक भएर उत्रिएको छ, भने भनिएका र बनिएका सुकुम्बासीहरु बलभद्र कुँवर जत्तिकै भएर मैदानमा आएका छन । राजनीति दलहरु र दलालहरु तमासे बनेका छन् । भित्र भित्रै हामी छौँ लड है लड, नछोड भनिरका छन् । सत्य र सहज बाटोमा आउन रोक्नेलाई ठोकिनु पर्ने लौरो दुःखी गरिव सुकुम्बासीलाई नपरोस् । वास्तविक सुकुम्बासीको तथ्यांक निकाल्न माथिका ३ विधि प्रयोग गरौं । देशभरी सासुका नाममा, भान्जाका नाममा वा गाममा भएका सबै सम्पती समेत छानबिन गरौँ, यो समस्या देश भरीबाटै समाधान गरौं । अहिले बालेन लाई मद्दत गरौं !
के चाहिँ गर्दो रैछ भनेर काठमाडौँका मेयरलाइ मात्रै केन्द्र नराखौँ । केन्द्रिय राजनीति गर्छु भन्नेले समेत यता तिर ध्यान दिऔँ ।
डोजरलाई रोक लगाउने होइन, हुकुमवासीकोजति सब संरचना भत्काउने कार्यमा तोक लगाउन बालेनले छोड्नु हुन्न भन्ने निष्कर्षमा छु म । तर यो दीर्घकालीन समाधान भने होइन ।
यो राज्यको प्रमुख समस्या हो, समाधान गरौँ । बर्षौंदेखि सार्वजनिक सम्पतीलाई पुख्र्यौली सम्पती सम्झी दोहन गर्नेलाइ हेर्दा मलाइ एउटै कुराले सताउँछ । एउटा परिवार काठमाडौँमा सामान्य हिसाबले बस्ने हो भने पनि घरभाडा मात्रै २० हजार माथी पर्छ । न्युनतम १५ वर्ष भन्दा कम समय अहिलेको ‘हटकेक’ बनेको बस्तिमा बस्ने मानिस छैनन् । २० हजार प्रतिमहिना १५ वर्ष चलन गर्न दिँदा ३६ लाख माथी आम्दानी भएको सम्झेर अन्य ब्यबस्था गर्नुपर्ने होइन र ? राज्यले दिने सहुलियत नै हो । पुरै अनुदान दिन पूँजीवादले ग्रस्त समाजमा सम्पती पनि ब्यक्तिकै हुने हुनाले राज्यको दायित्व सहुलियत मात्रै बनाउँदै लानु पर्दछ ।
सम्पन्न जिवनयापन गर्ने, गरगहना अलंकार जोड्ने, बैंक ब्यालेन्स गर्ने, महङ्गो शिक्षा र वैदेशिक शिक्षाको लागि बालबालिका विदेशमा पठाउने । यता सुकुम्बासी भनिरहन छोडौँ, अब आ–आफुले मनन गरौं । दाजुभाइ दिदिबहिनीहरु जो पिडामा छन् । वास्तविक सुकुम्बासी हुन् । उनीहरुको लागि केही हुनेले गर्न सक्नेले हस्तक्षेप नगरी सहयोग गरौँ । सँधै अभावको दवाबबाट मुक्ति खोजौँ ।