माघे संक्रान्ती नजिकियो, सर्लाहीका किसानलाइ तरुल खन्न भ्याइ नभ्याइ

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीका किसानलाइ यतिबेला तरुल खन्न भ्याइ नभ्याइ छ । माघे संक्रान्ति नजिकिएसँगै जिल्लाको उत्तर पश्चिम भेगमा पर्ने बागमती र बरहथवा नगरपालिकाका किसानहरुलाइ तरुल खन्न भ्याइनभ्याइ भएको हो । यहाँका किसानले पुसको पहिलो साताबाटै तरुल खन्न सुरु गर्छन् । बागमती, बरहथवा लगाएतका स्थानका किसानले ठुलो मात्रामा तरुल खेती गर्दै आएका छन । राम्रो उत्पादन तथा मुल्य समेत राम्रो पाईने भएपछि आफुहरु तरुल खेतिमा आकर्षिक भएको किसानहरु बताउँछन ।

तरुल लगाउने किसानहरुले अन्तर बालिको रुपमा मकै खेती समेत गर्छन् । अन्तरबाली मकैबाट समेत राम्रो फाईदा हुने किसानहरुको भनाई छ । किसानहरुले तरुलबाट मात्र प्रतिकठ्ठा १२ हजार देखी ३५ हजार सम्म आम्दानी गर्ने गरेको बागमती नगरपालिका–५, का किसान कर्ण बहादुर लामाले बताए । ५ कठ्ठा तरुल लगाएका उनले प्रतिकठ्ठा २० हजारको दरले बिक्री गरेको दावी गरे । तरुल राम्रो उत्पादन हुँदा मुल्य पनि धेरै पाईने र सजिलै ठेक्का लाग्ने गरेको उनको अनुभव छ । तरुल खन्ने सिजनमा ब्यापारीहरु गाडि लिएर खेत–खेतमै पुग्ने गर्छन् । यहाँको तरुल काठमाण्डाँै, पोखरा, बिराटनगर, हेटौँडा लगाएतका मुख्य बजारसम्म पुग्ने गरेको छ ।

तरुल हल्का र खुकुलो माटोमा राम्रो उत्पादन हुने गर्दछ । समय–समयमा मलखाद र पानी पाए प्रति कठ्ठा एक क्वीन्टल सम्म तरुल फल्ने बागमती नगरपालिकाका कृषि प्राविधिक हिमाल शाहीले जानकारी दिए । बगरमा खाल्को जमिनमा तरुल खेति गरिए अत्यधिक राम्रो उत्पादन हुने किसानहरुको भनाई छ ।

ब्यापारिहरुका अनुसार रातो तरुल खान मिठो हुन्छ । तर, उत्पादन कम हुने भएकोले रातो तरुल केही महंगोमा बिक्री हुन्छ । भने, सेतो तरुलको माग केही कमि भएकोले मुल्य समेत कम हुने गर्दछ । किसानहरुले तरुल फागुन, चैतदेखी जेठ, असारसम्म रोप्ने गर्छन् । तरुलको लागि थांग्रा अनिवार्य चाहिने भएकोले तरुल सगैँ मकै रोप्ने चलन छ । तर, मकै उम्रिनका लागि चिसो चाहिने भएकाले बर्षात भएपछि मात्र तरुल तथा मकै रोप्ने गरिन्छ ।

कतिपय किसानले भने पोहोरको तुलनामा यसबर्ष तरुलको उचित मुल्य नपाएको गुनासो गरेका छन् । यस बर्ष गएको बर्षको तुलनामा प्रतिकिलो १० रुपैँया कम मुल्यमा तरुल बेच्नुपरेको बागमती नगरपालिका–५ राजघाटका शंकर मैनालीले बताए । .गत बर्ष ५० देखि ५५ रुपैयाँसम्म प्रति किलोमा बिक्री गरेको तरुल यसबर्ष ३५ देखि ४० रुपैँयामा बिक्री भएको उनको भनाई छ ।
लामो समय देखी तरुल खेती गर्दै आएका बागमती १० का मोहन लुम्रे मगरले यस बर्ष ८ कठ्ठामा तरुल खेती गरेका छन् । उनले व्यापारीलाइ प्रति कठ्ठा १० हजारमा खेतबाटै तरुल बेचे । गएको बर्ष उनले १ लाख २५ हजारमा तरुल बेचेका थिए । यसबर्ष भने लागत अनुसारको खासै आम्दानी नभएको उनको भनाई छ । माघे संक्रान्तीमा बिषेश फलहारको रुपमा प्रयोग गरिने तरुल अन्य समयमा तरकारीको रुपमा समेत प्रयोग हुने गरेको किसानहरु बताउँछन् ।

तरुल खेती गर्दा जमिन हेरेर बिउ बिजन, खन जोत, मल खाद र गोडमेल समेत गरेर प्रति कठ्ठा ७ देखी १० हजार लगानी हुने गरेको किसानहरुको भनाई छ । यस सिजनमा प्रति कठ्ठा २० देखी २५ हजार सम्म आम्दानी हुने अपेक्षा गरेका किसानको तरुलले सोँचे अनुसारको मुल्य भने पाएन । राम्रो उत्पादन हुँदा तरुल प्रति कठ्ठा ८ देखी १० क्विन्टल सम्म उत्पादन हुने गरेको छ । यस क्षेत्रमा झुसे (पाताले) र रातो तरुलको खेती हुँदै आएको किसानहरुले बताए । यस बर्ष कम बर्षात भएका कारण तरुल उत्पादनमा कमी आएको किसानहरुको भनाई छ ।

किसानका अनुसार यस बर्ष सरदर प्रति कठ्ठा ४ देखि ५ क्विन्टल उत्पादन भएको छ । जिल्लामा मात्र यस बर्ष २ सय ८५ हेक्टर क्षेत्रफलमा तरुल खेती भएको जिल्ला कृषि ज्ञानकेन्द्र मलंगवाका प्रमुख देवानन्द रायले जानकारी दिए । सर्लाहीमा प्रत्येक बर्ष ५सय टनको हाराहारीमा तरुल उत्पादन हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया