पढ्ने बानीले मान्छेमा कसरी परिवर्तन ल्याउँछ ?

किताब पढ्ने बानीले मानिसको तनाव कम गर्छ । दिमाग सक्रिय हुन्छ । संवेदनाको स्तर पनि सुधार्छ । साथै, किताबमा भएका सारा सूचना र जानकारी त हुने नै भयो ।

न्युयोर्कको द न्यु स्कुल फर सोसल रिसर्चका अनुसार, किताब पढ्दा व्यक्तिमा सोचाइ र सिद्धान्त पनि परिवर्तन हुने गर्छ ।

तर कागज वा किताबको पठनबाट मानिसहरू बसाइँ सर्दैछन् र त्यो बसाइँ कम्प्युटर, ट्याबलेट, मोबाइलजस्ता डिजिटल उपकरणमा पुग्दैछन् भन्ने त तपाईंलाई थाहा भइरहेकै कुरा हो । हुनसक्छ, तपाईंले यी कुरा अखबारी कागजमा भन्दा पनि अनलाइनमै पढिरहनु भएको होस् ।

यसरी अनलाइनमा पढ्ने क्रम कोभिड १९ को महामारीपछि अचम्मै तरिकाले बढेको छ ।

अनस्क्रिन पढ्नुका फाइदा पनि उत्तिकै छन् । जस्तो कि, किताब किनेर पढ्नु महँगो छ तर स्क्रिनमा त्यही किताबको मूल्य निकै कम पर्छ । तर यसका बेफाइदा भने धेरै देखिएका छन् ।

बिबिसीमा प्रकाशित ह्वाट इज रिडिङ अन स्क्रिन डु टु योर ब्रेन समाचारका अनुसार ३० भन्दा बढी देशका स्कलर र वैज्ञानिकहरूलाई एक साथ अनलाइन पठनको प्रभावमाथि अध्ययन गर्न भेला पारियो ।

नर्वेको स्टवान्गर विश्वविद्यालयकी प्राध्यापक र लेखक एनी मेगन भन्छिन्, ‘हामीले गरेको अनुसन्धानमा के पायौँ भने जब स्मार्टफोनमा पढ्छौँ, पढेका कुराहरू हामी कम बुझ्छौँ । जबकि त्यही कुरा अखबारमा छापिएको छ भने त्यो सहज तरिकाले बुझ्छौँ ।’

अमेरिकाको गैरसरकारी संस्था सेपियन्स ल्याबले प्रकाशित गरेको ताजा अध्ययनअनुसार सानै उमेरमा बालबालिकालाई स्मार्टफोन दिनु भनेको युवावस्था बिगार्नु हो भन्ने देखिएको छ ।

साइन्टिफिक अमेरिकानाका अनुसार कागजको तुलनामा जब हामी स्क्रिनमा पढ्छौँ, त्यो बेला हाम्रो मस्तिष्कले बढी नै ऊर्जा खपत गर्छ । यसका अतिरिक्त स्क्रिनमा पढिएका कुरा लामो समयसम्म याद राख्नै सकिँदैन ।

हामीले कति पढ्ने भन्दा पनि हामी कुन माध्यमबाट पढ्छौँ वा पढिरहेका छौँ, त्यसमा भर पर्छ । पठनले हाम्रो मस्तिष्कमा निकैठूलो प्रभाव पार्ने गर्छ । यसले हाम्रो दृश्य‑रिजनिङ, भाषा प्रोसेस गर्ने र सोच्ने तथा भावनात्मक रिजनलाई एउटा नयाँ सम्बन्धसँग जोड्ने गर्छ ।

पढ्न रूचि राख्नेहरूलाई पनि बढीभन्दा बढी समय किन्डल वा ट्याबलेट वा आइप्याडमा भन्दा किताबतर्फ नै आकर्षित गर्नु जरूरी रहेको अध्येता बताउँछन् । यसको खास कारण चाहिँ स्क्रिनमा पढ्नेहरू चाँडै थाक्छन् ।

यदि यस्तो हो भने हामीले किताबलाई एकै रातमा सक्ने तरिकाले भन्दा पनि थोरैथोरै गरेर पढ्नुपर्ने सुझाव विज्ञहरूको छ ।

किताब महँगो हुनाले धेरैले यसतर्फ सोचेका छैनन् तर नजिकका पुस्तकालयहरूसँग सम्पर्क बढाएर इबुकभन्दा पनि भौतिक पुस्तकमा जोड दिइनुपर्ने धारणा छ ।

केही विज्ञहरू भने आफ्ना सन्तानलाई किताबी कीरो बनाउनु छ भने १४ वर्षको उमेरसम्म किताब पढ्न जोड दिइनुपर्छ भन्छन् । सो अवधिमा आमाबुवाले आफ्ना सन्तानलाई इलेक्ट्रोनिक ग्याजेटहरूबाट टाढै राख्नुपर्छ । जब सन्तान १६ वर्षका हुन्छन्, त्यसपछि उनीहरूको रूचिअनुसारको किताब छनोट गर्ने, प्रविधि उपयोग गर्नेजस्ता कुरामा स्वतन्त्रता दिनु स्वाभाविक बन्न जान्छ ।

बिबिसीका डेनियल्स निल्स रोबर्ट्स लेख्छन्, पढ्दा तीन चमत्कारी गुण मानिसमा बढ्छ । पहिलो, रचनात्मकता । दोस्रो, ज्ञान । तेस्रो, सहानुभूति ।

बेलायती लेखक तथा चित्रकार क्रेसिडा कवेल भन्छिन्,’तपाईंका सन्तानलाई पढ्नु मन पर्छ भने यसका दुई फाइदा हुन्छन् । एक त उसको ज्ञानको दायर बढ्दै जान्छ र अर्को चाहिँ पढ्ने मान्छेको भविष्यमा आर्थिक सबलता अन्यको तुलनामा राम्रो हुन्छ ।’

पढ्नुको चमत्कारी फाइदा
१। रचनात्मकता, ज्ञान र सहानुभूति बढ्छ ।
२। मस्तिष्कमा भिजुअल, ल्याङ्वेज र इमेसन रिजनबीच सम्बन्ध बन्छ, तीक्ष्णता बढ्छ ।
३। पढ्नुले ज्ञान र आर्थिक दायरा पनि बढ्छ ।
४। पढ्नेहरूको दिमाग शान्त हुन्छ, तनाव कम हुन्छ ।
५। स्क्रिनमा पढेका कुरा लामो समयसम्म स्मरण हुँदैन ।

शोधकर्ता मेरियन वुल्फ भन्छिन्, ‘पढ्ने एउटा कला हो र यो कला ६ हजार वर्षअघि शुरू भएको थियो ।’

उनका अनुसार, पढ्नु, गन्तीबाट शुरू भएको थियो । जो व्यापारी थिए, उनीहरूले गन्तीलाई गम्भीरतापूर्वक लिए । उनीहरूसँग कति भाँडा छन्, कति जनावर छन् भन्ने कुरा गन्ती गरेर जानकारी राख्ने गर्थे । पछि वर्णमाला बन्यो । वर्णमालाले चाहिँ जानकारीलाई सिलसिलाबद्ध बनाउन भूमिका खेल्यो । यसले जानकारी राख्ने र सिक्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्यायो ।

ब्ल्याक गर्ल्स बुक क्लबकी संस्थापक नताली कार्टर भन्छिन्, ‘हरकोहीले किताब पढ्नुपर्छ । किताबले हामीलाई अनुभव दिन्छन् । यी जानकारीले भरपूर हुन्छन् । यिनले हामी नजिकको र बाहिरी संसारको बारेमा बताउँछन् ।’

किताब बिनाको जिन्दगी अल्छीलाग्दो हुने नतालीको भनाइ छ । उनी भन्छिन्, ‘समयअनुसार किताबको स्वरूप बद्लिएला । किताब साना आकारका बन्लान् । छोटा कथाहरूको संग्रह बढी निस्किएला तर किताबको अस्तित्व चाहिँ रहिरहन्छ ।’

किताब पढेर अरूको दुश्चिन्ता हटाउने व्यवसायमा संलग्न बिब्लियोथेरापिस्ट एला बर्थार्ड भन्छिन्, ‘किताब थिएन भने आज हामी जुन किसिमका मानिस बनेका छौँ, त्यो हुन्न थियौँ । मानव जीवनमा आगो जन्माउने शक्ति र पढ्ने कलाको आविष्कार गरेपछि मानव जीवनमा ठूलो परिवर्तन आएको हो ।’

एउटा गज्जबको कथा पढ्नु मनोरञ्जनभन्दा बढी प्राप्त गर्नु हो भन्ने एलाको धारणा छ । पढ्दा पनि धेरैजसो रोगको उपचार हुने उनको विश्वास छ । एला भन्छिन्, ‘तपाईंलाई सास फेर्न गाह्रो भइरहेको छ, थकावट र रिसले डेरा जमाएको बोला जोरबा द ग्रीक पढ्नुस् । त्यो चट्ट निको हुन्छ ।’

राम्रा किताब पढ्दा तपाईं ध्यानको स्थितिमा पुग्नुहुन्छ र त्यस्तो अवस्थामा तपाईंको मुटुको धडकन सन्तुलित हुन्छ, तपाईं शान्त बन्नुहुनेछ । तपाईंको दिमागमा चलिरहेको चिन्तालाई घटाइदिन्छ भन्ने एलाको अनुभव छ । BBC

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

error: Alert: Content selection is disabled!!