सुख-शान्तिको चाहना : प्रेम रावत

मानिसले यो संसारमा जति पनि कार्य गर्दछ, उसले आफ्नो सुख शान्तिका निम्ति गर्दछ । उसका धारणा हुन्छन् : यदि मैले यस्तो कुरालाई हासिल गरेँ या मलाई यस्तो कुरा प्राप्त भयो भने यसबाट मेरो जीवनमा सुख आउनेछ, जीवनमा शान्ति प्राप्त हुनेछ । सारा संसारका मानिसहरू यही कुराका लागि यताउता दौडिरहेका छन् । कोही छोरा होस् भन्ने चाहनाका पछि दौडिन्छन्, कोही आफ्नो व्यवसायका पछि दौडिन्छन् । कोही कुनै कुराका पछि त कोही कुनै कुराका पछि दौडिरहन्छन् ।

मानिसले जे–जे गरिरहेको छ, त्यो आफ्नो सुख–शान्तिका लागि गरिरहेको छ । उभित्र जुन सुख–शान्तिको चाहना छ, जुन इच्छा छ, त्यो कहाँबाट आयो ? त्यो इच्छालाई कसले उत्पन्न गरायो ? यो कुरा हामीले आफ्नो जिन्दगीमा सिकेका हौँ कि प्राकृतिक रूपमा पहिलेदेखि नै छ । कुनै कुराहरू स्वाभाविक हुन्छन् अनि कुनै कुरालाई सिक्नुपर्छ । कतिपय कुराहरू सिक्नका लागि हामीले विद्यालय, विश्वविद्यालय, ठूला–ठूला शिक्षण संस्थाहरूमा जानुपर्ने हुन्छ । त्यहाँ सिकेपश्चात् हाम्रा इच्छा, कामना, आकाङ्क्षाहरू उत्पन्न हुन्छन् । कैयौँ ठूला–ठूला विज्ञापन अनि पोस्टरहरू देख्छौँ, हामीलाई साथीले केही बताउँछ, हामीलाई मित्रहरुले केही बताउँछन्, अनि हामी सिक्छौँ, हाम्रा इच्छाहरू उत्पन्न हुन्छन् । तर, केही यस्ता इच्छाहरू हुन्छन् जसलाई हामीले सिक्नुपर्दैन, ती स्वाभाविक हुन्छन् । जस्तो कि भोक लाग्नु स्वाभाविक कुरा हो । यसका लागि हामीले कतै गएर सिक्नुपर्दैन । खानाको आवश्यकता परेपछि शरीरले हामीलाई बताउँछ – ‘खाना खाऊ !’

सृष्टिकर्ताले पहिला नै यस्तो प्रबन्ध मिलाएका छन् । किनकि, उनलाई थाहा थियो– हुन सक्छ मानिस मायामा यति फस्न सक्छ त्यतिबेला उसले आफ्नै शरीरलाई समेत ख्याल गर्दैन । त्यसकारण मानिसमा भोक जगाइयो । भोक लागेपछि खाने इच्छा उत्पन्न हुन्छ अनि मानिसले खानाको खोजी गर्दछ । यो प्राकृतिक कुरा हो । यसलाई सिक्नु पर्दैन । तिर्खा लाग्छ अनि मानिसले पानी पिउँछ । के वास्तविक सुख–शान्तिको चाहना नैसर्गिक हो या सिकिएको हो ? यो स्वाभाविक तिर्खा हो । यो भित्रको तिर्खा हो । बाहिरी समस्याको समाधान बाहिर नै प्राप्त हुन्छ, त्यस्तै गरेर भित्रको चाहना, हृदयको प्यास, वास्तविक सुख–शान्तिलाई पाउने तिर्खाको समाधान पनि तपाईंले आफैँभित्र पाउनुहुनेछ, बाहिर होइन ।

यदि हामीलाई पानीको आवश्यकता पर्छ, पानी प्राप्त गर्ने प्यास जाग्छ अनि हामी पानी खोज्न थाल्छौँ, पानीको स्रोतलाई खोज्न थाल्छौँ । कुवा, नदी या झरनालाई खोज्न थाल्छौँ । त्यस्तै गरेर यो कुरालाई बुझ्नु आवश्यक छः जुन चीजलाई हामी खोजिरहेका छौँ, हामी जीवनमा जुन सुखलाई चाहन्छौँ, त्यो कहाँ छ ? त्यो चीज, त्यो सुख हामीभित्रै छ । तर, हामी त्यसलाई बाहिर खोजिरहेको छौँ ।

हामी सोच्छौँ, हाम्रो उन्नति भयो भने हामीलाई सुख–शान्ति प्राप्त हुनेछ । तर, हाम्रो हृदयले खोजेको सुख त्यो सुख होइन । त्यो सुख फरक छ । यदि हामीले– ‘मलाई पारिवारिक सुख प्राप्त भएपछि मेरो हृदयलाई आनन्द हुनेछ’ भनेर भनिरहन थाल्यौँ भने यो कुरा पनि गलत हो । बाहिरका सबै सुख हुँदाहुँदै पनि एउटा यस्तो सुख छ, जसलाई नजानी, नबुझीकन मानिसको जीवन अधुरो हुन्छ । आन्तरिक सुखको चाहनारूपी बीउलाई सृष्टिकर्ताले तपाईंको हृदयमा राखेका छन्– साँचो सुख र शान्तिलाई कहाँ छ भनेर खोज्नुहोस्, जान्नुहोस् अनि पहिचान गर्नुहोस् भनेर ।

हृदयलाई हरेक दिन, हरेक क्षण शान्तिको आवश्यकता छ । मानिसहरू शान्तिको कुरा गर्छन् । भन्छन्, “विश्वमा शान्ति हुनुपर्छ ।” म भन्छु, विश्वमा शान्ति होइन, तपाईँको हृदयमा शान्ति हुनुपर्छ । विश्वलाई शान्ति चाहिएको कहाँ हो र ? विश्वमा को छन् ? मानिस नै त छन् ! अरू को छन् ?

पढ्ने अभिरुचि मानिसको एउटा आवश्यकता हो । आवश्यकता किन पनि छ भने गुणस्तरीय जीवनयापन गर्नका लागि यसको महŒवपूर्ण भूमिका छ । जीवनलाई सफल पार्नका लागि हामी पढेलेखेर सफल मानिस बन्दछौँँ । तर, के तपाईंले कहिल्यै आफ्नो हृदयको किताब पढ्नुभयो ? यो किताबको हरेक पानामा स्पष्ट लेखिएको छ ‘तपाईं एकदमै धन्य हुनुहुन्छ ।’

तर, सांसारिक किताबमा ‘तपाईँसँग के–के छैन’ भनेर लेखिएको छ । हृदयको किताबमा लेखिएको छ ‘तपाईँसँग के–के छ ! तपाईंसँग यो श्वास छ, यो जीवन छ अनि तपाईं धन्य हुनुहुन्छ ! तपाईँलाई मानिसको शरीर प्राप्त भएको छ ।’ यस किताबमा राम्रो–नराम्रोका बारेमा व्याख्या तथा विश्लेषण गरिएको छैन । तर, यसमा भनिएको छ “जुन चीजको तपाईंलाई वास्तवमा आवश्यकता छ, त्यो पहिलादेखि नै तपाईंभित्र छ ।”

यदि त्यसलाई तपाईंले बाहिर खोज्नुभयो भने त्यहाँ तपाईं भेटाउन सक्नुहुन्न । हृदयको किताबलाई पढ्नका लागि तपाईँ पढेलेखेको हुनुपर्छ भन्ने छैन । एउटा अनपढ व्यक्तिले पनि यो किताबलाई पढ्न सक्छ किनकि यसको अक्षर अलि अचम्मको छ जुन हाम्रो भावनासँग सम्बन्धित छ, विचारसँग होइन ।

यो हृदयको किताबको पानामा मूल रूपमा यो लेखिएको छ, ‘यो जिन्दगीलाई आनन्दसँग बिताउनु छ । शान्तिपूर्ण तरिकाले बिताउनु छ । यदि तपाईंले आफ्नो जीवनलाई आनन्द र शान्तिमय ढाँगले बिताउन सुरु गर्नुभयो भने तपाईँ डराउनु पर्दैन । जीवनमा भौँतारिनु पर्ने छैन । जीवनलाई सार्थक बनाउने तरिका के हो भने तपाईँको जीवनमा यस्तो प्रकाश आओस्, जसको आगमनले अँध्यारो हटेर जाओस् ।

हरेक व्यक्तिका लागि सबैभन्दा ठूलो खुसीको खबर के हो भने “जुन चीजको उसलाई खोजी छ, त्यो ऊभन्दा टाढा छैन, उसको एकदमै निकट छ ।” त्यो वास्तविक शान्ति तपाईंको हृदयमा अवस्थित छ । यो सम्भावनालाई चिन्नुहोस् । तपाईँ त्यो शान्ति र आनन्दको अनुभव गरेर आफ्नो जीवनलाई सफल बनाउन सक्नुहुन्छ ।

केवल शान्ति–शान्ति भनेर शान्तिको अनुभव हुँदैन । आफ्नो जीवनमा शान्तिको अनुभूति हुनु अत्यन्तै आवश्यक छ । तसर्थ हरेक व्यक्तिले आफ्नो जीवन सचेत भएर बाँच्नु आवश्यक छ । हृदयको किताबलाई बिर्सनुहुन्न । यहाँ त केवल एक–दुई पन्नाका केही मात्र पङ्क्तिहरूको चर्चा भएको छ ।

यसमा हरेक चीजका बारेमा लेखिएको छ– आनन्दका बारेमा लेखिएको छ, शान्तिका बारेमा लेखिएको छ अनि यो जीवनलाई सफल बनाउने बारेमा लेखिएको छ । जुन दिन तपाईँ साँच्चै कति धनी हुनुहुन्छ भन्ने यथार्थ तपाईँलाई अवगत हुनेछ, तपाईंले आफूले आफैँलाई धन्य भएको महसुस गर्नुहुनेछ, तपाईँको जीवन सुखमय बन्नेछ ।

(यो लेख प्रेम रावतको सम्बोधनलाई सम्पादन गरी साभार गरिएको हो । उहाँ मानवता र शान्तिका विषयमा चर्चा गर्ने अन्तर्राष्ट्रिय वक्ता तथा विश्व प्रसिद्ध पुस्तक “आफैँलाई सुन्नुहोस्”(Hear Yourself) का लेखक हुनुहुन्छ । उहाँको सन्देशका बारेमा थप जानकारीका लागि www.premrawat.com र प्रतिक्रियाका लागि [email protected] प्रयोग गर्न सक्नुहुनेछ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया