सर्लाहीका माछा पालक किसानले राजमार्गमा माछा फ्याँकेर गरे प्रदर्शन

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाही जिल्लाका माछा पालक किसानले शुक्रबार राजमार्गमा माछा फ्याँकेर राजमार्ग अवरुद्ध गरेका छन । सरकारले माछा पालनका लागी पोखरी खन्न १० प्रतिशत अनुदान दिएर बिद्युत मिटरमा महशुल बढाएको भन्दै माछा पालक किसानले राजमार्गमा माछा फ्याँकेर आन्दोलन गरेका हुन । जिल्लामा सबैभन्दा धेरै माछा उत्पादन हुँदै आएको ईश्वरपुर र चन्द्रनगरका सयौँ किसानको उपस्थितीमा पूर्व पश्चिम राजमार्गस्थित ईश्वर नगरपालिकामा पर्ने फुलजोर चोकमा ५ क्विन्टल माछा फ्याँकेर आन्दोलन गरिएको हो ।

माछा पालन व्यवसायलाई प्रोत्साहित गर्ने उदेश्यले सरकारले पोखरी खन्न अनुदान उपलब्ध गराए पछि यहाँका किसानले धमाधम परम्परागत खेती मासेर पोखरी खन्न थाले । यसरी जिल्लामा पोखरीको संख्या सयौँ विगाहमा हुन थाल्यो । लगतै सरकारले माछा पालन व्यवसायलाई कृषिबाट उद्योगमा गाभ्यो । त्यसपछि सरकारले किसानसँग विद्युतमा औद्योगिक महसुल लिन थाल्यो । यसअघिसम्म किसानले ३ रुपैँया प्रति युनिट विद्युत महसुल बुझाउँदै आएकामा उद्योगमा गाभिएपछि एकाएक १२ रुपैयाँ सम्म तिर्नु पर्ने अवस्था आयो । यसको विरोधमा आफूहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको भएपनि त्यो सुनुवाई नभएपछि यसरी आन्दोलन गर्नुपरेको माछा पालक किसान संघर्ष समितिका संयोजक रञ्जित सहनीले बताए । उनले ज्ञापन पत्रको सुनुवाई नभएपछि ऊर्जामन्त्रीलाई भेट्न मन्त्रालयमै पुग्दा पनि मन्त्रीले समय नदिएको, नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले चाँडै नै यसको सम्बोधन गर्ने भनेपनि एक वर्ष वितिसक्दा पनि सुनुवाई नभएपछि आफूहरु संघर्षमा उत्रन बाध्य भएको बताए ।

माछापालक किसान ईश्वरपुर नगरपालिका ३ का रामनारायण सहनीले अहिले बढाएको विद्युत् महशुल अनुसार माछापालन गर्दा आफूहरुलाई टिक्नै गाह्रो पर्ने दुखेसो पोखे । उनले विद्युत् महशुल बुझाउन नसकेर व्यवसाय नै त्याग्नुपर्ने अवस्था आएपछि सडकमा उत्रिएको बताए । भक्तिपुरकै किसान लक्ष्मीप्रसाद लामिछानेले यसअघि माछापालनका लागि पोखरीमा मोटर चलाउँदा प्रति युनिट तीन रुपियाँ विद्युत् महशुल तिर्दै आइरहेकामा विगत चार÷पाँच महिनादेखि महशुल बढाएर प्रति युनिट १२ रुपियाँ पुयाइएको बताए ।

माग सम्बोधनका लागि पटक पटक डेलिगेसन जाँदासमेत सम्बोधन नभएपछि आन्दोलित भएका किसानलाई यहाँका मुख्य राजनीतिक दलका अगुवाहरुले समर्थन जनाउँदै ऐक्यवद्धता व्यक्त गरेका छन् । उनीहरुले माछा पालक किसान मारमा परेको भन्दै मागलाई यथाशिघ्र सरकारले सम्बोधन गर्नु पर्ने बताएका छन् । किसानका माग प्रति सरकार मौन रहे चरणबद्ध आन्दोलन गर्दै सिंहदरवार घेर्न बाध्य हुने उनीहरुले चेतावनी दिएका छन् ।

माछापालन किसानसँगै प्रदर्शनमा उत्रिएका ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले आफ्नै ठाउँमा माछापालन गरेर आयआर्जनमा लागेका किसानलाई विद्युत् महशुल वृद्धि गरेर अन्याय गरिएको बताए । मेयर आचार्यले माछापालक किसानको माग सम्वोधनका लागि आफू सिंहदरबारमै पुगेर लम्पसार पर्न समेत तयार रहेको जानकारी गराए ।

यहाँ बार्षिक दुई हजार दुई सय मेट्रिक टन माछा उत्पादन हुने गरेको तथ्यांक छ । जसका कारण केही वर्ष अघि सम्म छिमेकी देश भारतबाट आयत हुँदै आएको माछामा भारी मात्रामा कटौती भएको छ । अहिले यहाँ उत्पादन भएका माछा काठमाण्डौँसहित देशका मुख्य सहरहरु सम्म पुग्न थालेका छन् ।

नेपाल विद्युत प्राधिकरणको लालबन्दी वितरण केन्द्रले कृषि मिटर राख्दै आएका माछापालक किसानलाई गएको साउनदेखि उद्योग अन्तर्गत राखेर विद्युत महशुल उठाउँदै आएको छ ।

लालबन्दी वितरण केन्द्रका प्रमुख इन्जिनियर त्रिभुवन यादवले माछापालनका लागि सिँचाई मिटरको प्रयोग गर्न नपाइने बताए । ‘विद्युत् महशुल सङ्कलन विनियमावली २०७८ बमोजिम माछापालनका लागि सिंचाई मिटरको प्रयोग गर्न पाइँदैन,’ वितरण केन्द्र प्रमुख यादवले भने, ‘माछापालन व्यवसायका लागि भनेर बेग्लै मिटर दिने व्यवस्था पनि छैन् त्यसैले हामीले अहिले माछापालक किसानलाई घरेलु कार्यालयबाट कागजात लिएर आएपछि ग्राहस्थ मिटर दिइरहेका छौँ, उहाँहरुले पाउनुभएको कृषि मिटर होईन ।’

इन्जिनियर यादवले सरकारले माछापालनलाई कृषि अन्तर्गत राखेपनि विद्युत प्राधिकरणको नियमावलीमा त्यस्तो उल्लेख नरहेको बताए ।

प्राधिकरणले कृषि मिटरको महशुल प्रति युनिट दुई रपियाँ २५ पैसा लिंदै आएको छ ।

माछा पालक किसानहरुको आन्दोलनमा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, पूर्व सांसाद प्रमोद साह, ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्य, पूर्व मेयर मनोज कुमार देवकोटा, नेपाली काँग्रेस महासमिति सदस्य प्रमोद बराल, नेकपा एमालेका नेता सुशील कुमार थपलिया, माओवादी केन्द्रका नेता लुमडी प्रसाद धिताल(लोचन), लोकेन्द्र मुखियालगायतले आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । माछा किसानले फुलजोर चोकमा करिब पौने घण्टा चक्का जाम गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया