पर पुगेर ठिङ्ग उभिन्छीन्
यता उता नजर डुलाउँछीन्
खै ! किन हो कुन्नी ? चित्त न बुझेझैँ
कतै केही छुटे झैँ,
केही खल्लो माने झैँ,
उनी भित्र रापिलो अग्नि
मन्द मन्द सल्के झैँ लाग्थ्यो ।
हेर्दा छट्पटी त देखिन्नथ्यो
तर, उनी लगातार अघि बढिन्
लाग्थ्यो आजै नै चन्द्र लोक पुग्नु छ,
कहिल्यै न भ्याएको काम भ्याउनु छ ।
उनी मैली कहिल्यै न नुहाएकी जस्ती,
न्याउरी, कष्टकर दैनिकी भोगे जस्ती,
सन्तानहरुको कु–कृत्य बाट बच्न,
कुनै नयाँ सुनौलो शान्तिको आभाष सँगाल्न,
निर्जन स्थल खोज्दै आएकी हुनु पर्छ ।
उनको चालले उनी कमजोर छँदै छैनन्,
कसैको खटनमा हुँदै होइनन्, लागे पनि
पीडा र आवेग बुझ्न सकिन्थ्यो ।
हेर्दा हेर्दै उनी चुच्चो पहाडमाथि पुग्छिन्
उनको मनले के ठान्यो कुन्नि,
भुईमैँ थ्याच्च बसिन् ।
चारै तिर हेरिन्
उनको नजरले सन्नाटा बाहेक केही देखेन ।
केही बेरमा उनको आँखा त्यो रुखमा ठोकिन्छन्
जहाँ दुई पंछी भाले र पोथी हुनु पर्छ
घाँसका सुकेका त्यान्द्रा अनि सिन्का
चुच्चोले च्यापेर ल्याउँदै थिए
सायद फुल पार्ने गुँडको तयारी गर्न होला ।
तत्काल उन्को मनमा लाग्छ –
‘हेर त !
सन्तानको लागि कसले कर्तव्य गर्दैन र ?
मैले पनि त सारा सन्तानका लागि
यस्तै यस्तै बसेरा बनाएँ
यिनीहरुको सुरक्षामा जीउ सुकाएँ
आफू भोको भएर पनि यीनलाई भोको राखिनँ
मिलेर बाँच्न सिकाएँ, खुसिमा हाँस्न सिकाएँ
बैरीसँग लड्न सिकाएँ ।
तर यो आपसी सद्भाव,
आपसी प्रेम र मिलनलाई टुटाउने
सामाजिक सन्तुलन नष्ट पार्ने खेल
जाती रंङ्ग र धर्म बीचको भड्खालो
कसले कसरी र किन बनाउँदै छ ?
म व्याकुल छु अनि बिक्षिप्त पनि छु
मैले न सिकाएको यस्तो दुष्कर्म
यस्तो अघोरीपना कसले सिकायो ?
किन, मेरा सन्तान म दुखेको हेर्न चाहन्छन्
खै ! म मा मातृत्वको गुणमा कमि भयो कि ?
म धरा, किन असली धरा हुन सकिनँ
दोष के मा र कसमा छ ?
आमाले सन्तानमा कहिल्यै पनि खोट देख्दिनन्
म कस्ती माता, कस्ती निर्माता र कस्ती रक्षक हुँ ?
आफू अनुत्तरित छु ।’
उनका आँखा आँसुले टिल्पिलाउँछन्
लामो सुस्केरा हाल्दै केही बेर टोलाउँछिन र
पुनः उनको यात्रा ओरालो तिर लाग्छ ।
परशुराम घिमिरे (निदान)
मकवानपुर , हेटौँडा ।