सर्लाही : नदीजन्य पदार्थको व्यापक उत्खनन र बढ्दो वन विनाशका कारण सर्लाहीमा परम्परागत खानेपानीका स्रोतमा पानी आउन छाडेका छन् । जिल्लामा दशकौँ पुराना इनार, कुवा र पानी रसाउने अन्य ठाउँहरु अहिले सुक्न थालेका हुन् ।
इनार र कुवा सुक्दै गएपछि ग्रामीण भेगमा बसोवास गर्ने स्थानीयलाई खानेपानीको समस्या हुन थालेको छ । लालबन्दी नगरपालिका–१५, भित्रीखोलाका पदमबहादुर वाइवाले पहिले जसरी कुवामा पानी रसाउन छाडेको जानकारी दिनुभयो । केही वर्ष अघिसम्म जिल्लाको बाँके, फूलजोर, कालिन्जोर, लखन्देहीलगायत खोलाको किनारमा प्रशस्त कुवा हुन्थ्ये । तर, अहिले भने ती कुवामा पानी रसाउन छाडेपछि मासिँदै गएका छन् ।
चुरेभेगका बस्तीमा खानेपानीको धारा नै नरहेको र कुवा समेत सुक्दा आगामी दिनमा खानेपानीको अभाव चर्किदै जाने चिन्ता रहेको वाइवाले गुनासो गर्नुभयो । ‘खानेपानीको अभावमा पाखोभित्तामा बसोवास गर्ने म जस्ता धेरै परिवार बसाइँ सरेर अन्यत्र गइसक्नुभयो, बस्ती पातलो हुँदै गएका छन्,’ वाइवाले भन्नुभयो, ‘गरिबीका कारण अन्यत्र बसाइँ सरेर जान नसक्ने हामी जस्तालाई खानेपानीकै अभावले पिरोल्न थालेको छ ।’ हिउँद महिनाभर चुरेभेगमा खानेपानीको समस्या हुने गर्छ ।
जिल्लाको लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकाको उत्तरी चुरेभेगका वासिन्दा अहिले पनि खोलाखोल्साको दुषित पानी पिउन बाध्य छन् । ईश्वरपुर नगरपालिका–१२, अड्डी गाउँकी मैयाँ तामाङले खानेपानी सुक्दै जान थालेपछि पाखोभित्तामा बसोवास गर्न र बस्तुभाउ पाल्न मुस्किल पर्न थालेको गुनासो गर्नुभयो । चुरेफेदीका धेरै बस्तीमा पालिका र विभिन्न संघसंस्थाले खानेपानीको धारा पु¥याए पनि डाँडापाखाका विकट बस्तीमा भने भएकै कुवा समेत सुक्न थालेपछि समस्या बढ्न थालेको हो ।
डिभिजन खानेपानी कार्यालय मलङ्गवाका इन्जिनियर शिवशङ्कर रौनियारले भूमिगत पानीको सतह घट्दै गइरहेकाले यस्तो समस्या आएको बताउनुभयो । ‘बढ्दो वन विनाश र सहरीकरणले गर्दा जमिनमुनी पानीको सतह घट्दै गएको र जरुवाहरु सुक्दै गएका हुन्,’ रौनियारले भन्नुभयो, ‘वनजङ्गलको संरक्षण र नदीजन्य पदार्थको मनपरी उत्खनन नरोके अझ समस्या बढ्न सक्छ ।’
रौनियारले ग्रामीण बस्तीमा खानेपानी पु¥याउनका लागि डिभिजन खानेपानी कार्यालयले पालिकाहरुसँग समन्वय गरी काम गरिरहेको बताउनुभएको छ । प्रकाश मैनाली/हिमालय टाईम्स