- अनिता काेइराला | साहित्यपोस्ट
डिसेम्बर १०, १९५७ कनखल हरिद्वारमा श्री हंसजी महाराज र राज राजेश्वरी देवीको आँगनमा एक अद्भूत बालकको जन्म भएको थियो ।
प्रेमपाल सिंह रावतको नामबाट हुर्किएका ती प्रबुद्ध पुरुष आज विश्वशान्ति दूतको उपाधिले सुविख्यात हुनुहुन्छ विश्वभर।
प्रेम रावतलाई वहाँका अनुयायीहरूले महाराज जीको विशेषणबाट पनि सम्बोधन गर्छन्। आज विश्वको कुनाकुनामा शान्ति सम्भव छ भन्ने गुन्जन फैल्याउन प्रेम रावत लागिपर्नु भएको छ । आफ्ना गुरु श्री हंसजी महाराजको इच्छा बमोजिम विश्वमाझ शान्तिको सन्देशलाई लैजाने दायित्व सानै उमेरदेखि वहन गर्दै आउनु भएको हो।
प्रत्येक मानवको हृदयमा प्रेम, आनन्द, शान्ति र सद्भावको बिज रोप्दै मानव जीवनलाई सफल पार्न सहयोग गर्नु वहाँको जीवनको परम लक्ष्य हो।
प्रेम रावत निरन्तर अगाडि बढिरहनु भएको छ शान्तिको सन्देशलाई जनजनसम्म पुर्याउन । जैविक रुपले चार सन्तानका पिता भए पनि लाखौँ लाखले वहाँलाई आफ्नो पिता मानेका छन्, मार्गदर्शक ठानेका छन् । वहाँको मार्गदर्शनमा जसले हिँड्दै ज्ञानरूपि अमूल्य सम्पत्ति पाएका छन् ती आत्मनहरूले जीवनलाई धन्य बनाएका छन् । महाराजजीको प्रेरणाबाट आल्लादित हुने प्रेमीहरूको सङ्ख्या विश्वभर उल्लेख्य छ ।
ज्ञान सर्वव्यापी सम्पत्ति हो । ज्ञानलाई कुनै धर्म, जाति, लिङ्ग , समाज, सम्प्रदाय र भूगोलले बाँधेर राख्न सक्दैन । नौ वर्षको उमेरदेखि आत्मज्ञानको ज्योति बोकेर मानव जातिको कल्याण हेतु विश्व यात्रामा अहोरात्र हिँडिरहनु भएका रावतलाई जन्म दिनको अशेष शुभकामना ।
वहाँको सन्देश निकै सरल र उपयोगी छन्।
शान्ति सम्भव छ । शान्ति आफैँभित्र छ । अरुलाई परिवर्तन गर्न असम्भव छ । आफूलाई परिवर्तन गर्न मात्र सम्भव छ । परिवर्तनको सुरुवात आफूबाट गरौँ, विश्वमा शान्ति अवश्य हुन्छ ।
कति मीठो र जीवन्त छ सन्देश ।
आफ्नो गुरु श्री हंशजी महाराजको इच्छाबमोजिम तीन वर्षको उमेरमा लाखौँलाख स्रोताहरूले खचाखच भरिएको सभालाई सम्बोधन गर्नु भएको थियो दिल्ली गेटमा, जुन सत्सङ्ग चमत्कारभन्दा कम थिएन । त्यसैले वहाँलाई बाल योगेश्वर पनि भनिन्छ ।
नकारात्मक सोचले ग्रसित समूहले वहाँलाई शङ्काको दृष्टिकोणबाट पनि मूल्याङ्कन नगरेका होइनन् । तर आफ्नो लक्ष्य ,उद्देश्य र गन्तव्यलाई अग्रपङ्क्तिमा राखेर निरन्तर अगाडि बढिरहँदा आजको दिनसम्म आउन सक्नु सत्यको विजय हो ।
६३ वर्षदेखि शान्तिको सन्देशलाई विश्वव्यापी बनाउन कटिबद्ध हुँदै आफ्नो उद्देश्यबाट कहिल्यै विचलित हुनुभएन । बाध र चुनौतीहरूको बाढी नआएको होइन वहाँको जीवनमा तर दृढ संकल्पको अगाडि साना मसिना चुनौतीहरू आफैँ सेलाएर जाँदा रहेछन् भन्ने मान्यतालाई स्थापित गरिदिनु भयो छ प्रेम रावतले ।
आज जस्तो प्रविधिको विकास थिएन त्यो बेला । साधन र स्रोतको सीमा थियो तर पनि आफ्नो कामलाई गन्तव्यमा पुर्याउन सफल हुनुभयो। आज विश्वविद्धालयदेखि झ्यालखानासम्म वहाँको सन्देशलाई सुन्नेहरूको सङ्ख्या अत्यधिक छ । विश्वका कयौँ जेलहरूमा peace education ले आज निकै प्रभाव पारेको छ । कैदीहरूमा रुपान्तरण आएको अनुसन्धानले देखाएको छ ।
प्रेम रावत भन्नु हुन्छ -“मान्छेले जुन कुराको बढी अभ्यास गर्छ” त्यही कुरामा ऊ माहिर हुन्छ । ऊ त्यो काम गर्न सक्षम हुन्छ । बास्तवमा यो कुरा मननयोग्य छ । हामी आफैँलाई एक चोटि हेरौँ त ! कति चाँडो रिसाउने गर्छौं । सानो कुरामा दु: खी हुन्छौँ, झनक्क रिस उठ्छ, छिटै आवेशमा आउने गर्छौं । प्रतिक्रिया त यति चाँडै दिने गर्छौं कि कुरै नगरौँ । यो सबै हाम्रो अभ्यासले गर्दा भएको हो ।
हामी अशान्त हुन निकै अभ्यस्त छौँ त्यसैले गार्हो हुन्छ हामीलाई शान्त रहन । अशान्त भैहाल्ने बानी परेको छ । शान्तिको अभ्यास हामीबाट कोसौँ दूर छ । हामीले शान्तिलाई स्वागत नै गरेका छैनौँ । शान्तिलाई आफ्नो दैनिकी बनाएका छैनौँ । आफूभित्रको परम शान्तिलाई हेर्ने, बुझ्ने र अनुभव गर्ने अभ्यास नै गरेका छैनौँ अनि हामी कसरी शान्त हुन सक्छौँ ? अशान्त बन्न मेहनत गर्नु पर्दैन तर शान्त बस्न मेहनत गर्नु पर्छ । अशान्ति त्यो गन्दे झार हो जो बिना परिश्रम उम्रन्छ तर शान्ति त्यो मिठो फल हो जुन उब्जाउन परिश्रम गर्नु पर्छ ।
प्रेम रावतको सन्देशमा यिनै कुराहरू व्यापक छन् । प्रेम रावत भन्नु हुन्छ चौबीस घन्टामा एक घन्टा शान्तिको अभ्यास गर, बाँकी तेइस घन्टा तिम्रो सुखद हुन्छ बाँच्छ तर हामी एक घन्टा पनि आफ्नो लागि छुट्टाउन सक्दैनौँ । हामी कति अटेरी छौँ त्यसैले त दुखी छौँ , अभावमा छौँ । सम्पन्न भएर पनि भिखारी भएका छौँ । यदि शान्तिलाई जीवनको एक अङ्ग बनाउने हो भने हामी सम्राट हुनेछौँ । परिस्थिति जस्तोसुकै होस् यदि हाम्रो मनस्थिति शान्त छ भने आनन्द र प्रेमको वर्षात् हुनेछ । हाम्रो जीवन सफल हुनेछ ।
प्रेम रावतलाई सुन्दै जाँदा शान्ति वास्तवमै सम्भव छ । मात्र अभ्यास गर्न जरुरी छ । शान्ति प्राप्त गर्न घर छोडेर हिँड्नु पर्दैन । पहाड फोड्नु जानू पर्दैन । आफूभित्र आफैँले हेर्ने, सुन्ने, अनि आन्तरिक शक्तिलाई महसुस गर्ने र आनन्दलाई चाख्ने अभ्यास गर्नु पर्छ ।
मुक्ति र निर्वाण मानव शरीरमै सम्भव छ भन्ने सन्देशलाई अनुशरण गर्न सक्दा जीवन उत्सव बन्ने छ ।
आफूलाई शान्त राख्न उपद्रव गर्नुभन्दा स्थिर बसेर आफूलाई नियाल्दा प्रभावकारी हुने रहेछ ।
हामीले हाम्रा विचार ,व्यवहार र विशेषतालाई हेर्ने बानीको विकास गरौँ । नकारात्मक सोचलाई नजरअन्दाज गरौँ। सकारात्मक सोचलाई सकारात्मक काममा लगाउने गरौँ । शान्ति आजको माग हो । शान्ति प्रत्येक मानवको खोज हो, चाहना हो, सपना हो र सम्पत्ति हो तर गलत मार्गमा हिँडेर शाश्वत शान्ति प्राप्त हुँदैन ।
आजको मानव भौंतारिएको छ , तनावग्रस्त छ, पीडामा छ । गन्तव्यविहीन भएर उकुसमुकुस छ । विराटताको बोध नभएर दीनहीन छ । छातीमा गङ्गा बोकेर प्यासी छ । खाँचो छ त्यो उज्यालोको । खाँचो छ आफूलाई हेर्ने ज्ञानरूपी ऎनाको । त्यो पनि सम्भव छ । आफूलाई जान्ने कोसिस गरौँ । खोज गरौँ । शान्ति सम्भव छ । सम्पर्क जरुरी छ।
तनाव र अशान्तिले आक्रान्त मन निकै बिषाक्त हुन्छ । अशान्त मनले ग्रसित मानवबाट मानवतालाई मानवले नै मारिरहेका छन्। यदि मानव विकासको आयामलाई सार्थक बनाउने हो भने ? दीगो विकासको समाजशास्त्रलाई पूर्णता दिने हो भने विद्यालय तह देखिनै peace education अनिवार्य गर्न आवश्यक छ । बुढेसकालमा गएर तनाव व्यवस्थापन गर्ने शिक्षा ग्रहण गर्नुभन्दा बालमस्तिष्कमा नै शान्तिको सन्देश सम्प्रेषण गर्नु हाम्रो परमकर्तव्य हो । शान्तिको सन्देश सबै धर्म, संस्कृति ,समाज र सम्प्रदायको मेरुदण्ड हो । जहाँ शान्ति छ त्यहाँ सम्भावना छ, सन्तुलन छ, स्वास्थ्य छ , समृद्धि छ ।
शान्ति सम्भव छ ! शान्ति सम्भव छ !