काठमाडौं : विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन्। गएराति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो।
कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हराएको हो। फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्यो भने दोस्रो हाफमा थप एक गोल गर्दै फाइनलका लागि स्थान सुरक्षित गरेको हो ।
यसअघि फ्रान्स क्वाटरफाइनलमा इङ्गल्यान्डलाई २–१ गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो। त्यस्तै पहिलोपटक सेमिफाइनलमा पुगेको अफ्रिकी राष्ट्र मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई १–० गोलले हराएको थियो। यसअघि अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलअन्तरले हराएर फाइनल यात्रा तय गरेको हो।
फाइनल खेल आइतबार हुनेछ।