लालबन्दी : आईतवार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदानमा सर्लाही जिल्लामा ६२ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । जिल्लामा कहिँ कतै गोली नचली ऐतिहासिक मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी (सिडियो) थानेश्वर गौतमले बताउनुभयो ।
जिल्लामा कुल ४,७९,०३८ मतदाता रहेका छन् जसमा २,५९,४१४ जना पुरुष छन् भने २,१९,६१४ जना महिला छन् । जिल्लामा ४ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र छन् । प्रदेशसभाको निर्वाचन क्षेत्र ८ रहेका छन् । जिल्लामा शान्तिपुर्ण वातारणमा निर्वाचन सम्पन्न भएको छ ।
जिल्लामा क्षेत्र नं. १ को लालबन्दीस्थित पुरानो नगरपालिका भवन, क्षेत्र नं. २ को मलंगवास्थित जिल्ला समन्वय समितिको भवन, क्षेत्र नं. ३ को हरिवनस्थित मालपोत कार्यालयको नवनिर्मित भवन र क्षेत्र नं. ४ को गोडैतास्थित बेणीभोला नमूना माध्यमिक विद्यालयमा मतगणना हुने छ ।
मतगणनाका लागि ४ वटै निर्वाचन क्षेत्रमा तारजाली र सीसी क्यामेरा हालेर मतगणना स्थल तयार पारिसकिएको छ । सर्लाहीमा चार जना प्रतिनिधि सभा सदस्यका लागि ६९ जना र आठ जना प्रदेश सभा सदस्यका लागि १३३ जना चुनावी मैदानमा छन् ।
यतिबेला ४ ओटै निर्वाचन क्षेत्रमा सर्बदलिय बैठक बस्ने तयारी भईरहेको छ भने क्षेत्र नम्बर १ को लालबन्दीमा बैठक बसिरहेको छ ।
जिल्लामा आईतवार भएका शान्तिपुर्ण निर्वाचनका केहि तश्विरहरु