पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा बुधबार राती टोलसलाई ३-० ले पराजित गरेको छ । नयाँ प्रशिक्षक क्रिस्टोफ गाल्टियरको प्रशिक्षणमा पीएसजीले अपराजित यात्रा कायम राखेको छ ।
पीएसजीका लागि नेमार, किलियन एमबाप्पे र जुवान बर्नाटले गोल गरे । नेमारले ३७औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । एमबाप्पेले ५०औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । दुवै गोलका लागि लियोनल मेस्सीले असिस्ट गरेका थिए ।यस्तै बर्नाटले इन्जुरी टाइममा गोल गरे । सिजनको चौथो जितपछि पाँच खेलबाट १३ अंक जोडेर पीएसनी शीर्ष स्थानमा छ । लेन्सले लोरिएन्टलाई ५-२ ले र मार्सेले क्लोरमोट पुटलाई १-० ले अहराउँदै अपराजित यात्रा कायम राखेका छन् । दुवैले पीएसजी समान १३ अंक जोडेका छन् । तर गोलअन्तरमा लेन्स दोस्रो र मार्से तेस्रो स्थानमा छ ।
नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान एवं गोलकिपर किरणकुमार लिम्बु दुलाहा बनेका छन्। उनले प्रेमिका कञ्चन निरौलासँग विवाह गर्न लागेका हुन्। उनीहरूको विवाह आज आफन्त र सिमित साथीभाइबीच हुन लागेको हो। यसअघि उनीहरूले सोमबार मेहेन्दी कार्यक्रम गरेका थिए। यसअघि गत असार २१ गते किरणले कञ्चनलाई माल्दिभ्समा विवाह प्रस्ताव राखेका थिए। माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल लिगलाई अविस्मरणीय बनाउने क्रममा किरणले लिगकै सर्वोत्कृष्ट गोलिकपर घोषित भए लगत्तै कञ्चनलाई विवाह प्रस्ताव राखेका थिए। उनी आबद्ध क्लब माजियाका खेलाडीले लिगको ट्रफी उचालेर खुसी मनाइरहँदा उनले आफ्नी प्रेमिकालाई हातमा समातेर मैदानमै लगेका थिए।
त्यसपछि किरणले मैदानमै प्रेमिका कञ्चनलाई सबै सहकर्मीका अघि औंठी लगाइदिएर विवाह प्रस्ताव राखेका थिए।कञ्चन पेशाले एयरहोस्टेस हुन्। केही वर्षदेखि प्रेममा रहेका उनीहरूको भदौ १५ मा विवाह गर्न लागेका हुन्। विवाह प्रस्ताव राखेपछि किरण र कञ्चनले दुई साता माल्दिभ्समा बिदा मनाएका थिए। उनीहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेको फोटोमा बिदामा दुवैका आमा पनि साथमा रहेको देखिएको थियो।
असार तेस्रो साता सकिएको माल्दिभ्सको शीर्ष डिभिजनको लिग ‘धिवेदी प्रिमियर लिग’ मा उत्कृष्ट गोलकिपर घोषित भएको एक सातामै उनी भारतको आइलिग क्लब पञ्जाब एफसीमा आबद्ध भएका थिए। किरणले गत सिजन पनि भारतको पञ्जाव एफसीबाट आइ लिग खेलेका थिए। गत सिजन आइ लिगमा पनि उनले उत्कृष्ट गोलकिपरको अवार्ड जितेका थिए।राष्ट्रिय टिम र क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका किरणले गत वर्ष एसियाको साताको उत्कृष्ट खेलाडीको अवार्ड पाएका थिए।
यसअघि सन् २०१८ मा पनि किरण माल्दिभ्सको लिगमा उत्कृष्ट गोलकिपर घोषित भएका थिए। किरणले सो सिजनमा टिसी स्पोर्ट्सलाई माल्दिभ्सको लिगको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए।एन्फा एकेडेमीका उत्पादन किरणले २००९ देखि २०१६ सम्म थ्री स्टार क्लबबाट खेले। त्यसक्रममा उनले थ्री स्टारलाई लिगसहित दर्जनौं घरेलु फुटबल प्रतियोगिताको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए।
बाल्यकालमा किरण आफ्नो फुटबल टिमको स्ट्राइकरको पोजिसन सम्हाल्थे। धनकुटाको राजारानीमा कहिले डिफेन्डरको भूमिकामा पनि खेल्नु पर्थ्यो किरणलाई।अग्ला कदका किरणलाई एक दिन गोलकिपर खेल्ने प्रस्ताव आयो। यसका लागि पनि उनी तयार भए।पहाडी जिल्ला भए पनि किरणको गाँउ राजारानीमा फुटबलको औधी क्रेज थियो। गाउँमा ठूलो फुटबल मैदान थियो। स्थानीयहरू फुटबलमा झुम्मिन्थे। किरणलाई पनि फुटबल मन पर्थ्यो।
स्थानीयस्तरमा आफूलाई स्थापित गरेपछि किरण जिल्लास्तरमा पनि छाउन थाले। यू-१६ प्रतियोगिगता खेल्न काठमाडौं आए। त्यो उनको पहिलो राजधानी भ्रमण थियो।उनको जिल्लाले स्कुलस्तरीय प्रतियोगितामा सेमिफाइनलमा हार बेहोर्यो। त्यसपछि सिनियरहरूले उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) को छनोटमा भाग लिन सुझाव दिए। त्यसपछि उनी एन्फा एकेडेमीका लागि छनोट भएका थिए। एन्फाबाट पास आउट भएपछि उनले क्लब करिअर सुरु गरे। लगत्तै उनी सन् २००८ मा राष्ट्रिय टिमका लागि बोलाइए।
सन् २००८ मा कोम्बोडियामा भएको एएफसी च्यालेन्ज कपमा लागि उनी राष्ट्रिय टिमका लागि बोलाइएका थिए। मच्छिन्द्र क्लबबाट क्लब करिअर सुरू गरेका किरणले थ्रीस्टार र मनाङ मर्स्याङ्दी जस्ता नेपालका बलिया क्लबबाट खेले। यी क्लबबाट खेल्दा उनले क्लब र व्यक्तिगत विधाका दर्जनौ अवार्ड तथा उपाधि जिते।
केन्याविरूद्धको निर्णायक तथा पाँचौ टी-२० खेलमा जित निकाल्दै नेपालले सिरिज ३-२ ले आफ्नो पक्षमा पारेको छ। नेपालले मंगलबार भएको पाँचौ टी-२० मा केन्यालाई ३१ रनले पराजित गर्दै सिरिज जितेको हो।
यसअघि नेपालले पहिलो टी-२० मा ५ विकेट र तेस्रो टी-२० मा ४ विकेटको जित निकालेको थियो। दोस्रो टी-२० माे केन्या १८ रनले विजयी हुँदा हिजो भएको चौथो टी-२० मा उसले ७ रनको जित निकालेको थियो।
मंगलबार नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको केन्याले ७ विकेटको क्षतिमा १४४ रन मात्र जोड्न सक्यो।
केन्याका ओपनर कोलिन ओबुया २३ रन र सुखदिप सिंह ४ रनमा आउट भए। इर्फान करिमले २८ रन जोडे भने राखेप पटेल १ रन र सचिन भुडिया शून्यमा आउट भए।
ओडियाम्बोले सबैभन्दा बढी ३७ रन जोडे। २२ बलमा ४ चौका र १ छक्का हिर्काएका उनलाई बसिर अहमेदले आउट गरे। बसिरले लुकासको पनि विकेट लिने क्रममा ४ रनमा आउट गरे। यस्तै एनगोचे ३३ रनमा नटआउट रहदा नेल्शन ओडियाम्बोले नटआउट १३ रन जोडे।
बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र बसिर अहमेदले २-२ विकेट लिए। करण केसी, आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट हात पारे।
त्यसअघि केन्याको नैरोबीस्थित जिमखाना मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १७५ रन जोड्यो।
नेपालका लागि ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे। ओपनिङमा आएका ज्ञानेन्द्रले ५९ रन जोडे। उनले ४४ बलमा ५ चौका र २ छक्का हिर्काए।
रोहितकुमार पौडेल अन्तिम ओभरको चौथो बलमा आउट हुनुअघि ४७ रन जोडे। उनले २५ बलमा ७ चौका प्रहार गरे।
अर्का ओपनर अर्जुन साउदले २१ बलमा २९ रनको योगदान गरे। दीपेन्द्रसिंह ऐरीले १८ बलमा २२ रन बनाए।
पवन सर्राफ १ रन, आदिल अन्सारी ४ रन र विवेक यादव २ रनमा आउट भए।
बलिङमा केन्याका विराज पटेल, शेम एनगोचे र ओडियाम्बोले २-२ विकेट लिए।
यसअघि नेपालले हार बेहोरेका दुवै टी-२० मा खराब ब्याटिङ गरेको थियो। दोस्रो टी-२० मा नेपालले १३३ रनको लक्ष्य पूरा गर्न नसक्दा चौथो टी-२० मा १०२ रनको लक्ष्य पार गर्न सकेन।अब नेपाल र केन्याले तीन खेलको एकदिवसीय सिरिज खेल्नेछन्। नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते हुनेछ।
११ भदौ, काठमाडौं । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)माथिको निलम्बन विश्व फुटबल महासंघ फिफाले दुई साता नबित्दै फिर्ता लिएको छ ।
शनिबार बिहान फिफा काउन्सिलले भारतीय फुटबलमाथि लागेको सबै निलम्बन फिर्ताको निर्णय गरेको हो । भारतको सर्वोच्च अदालतले कार्यकारी समिति निर्माण गरेपछि तेस्रो पक्षको हस्तक्षेप ठहर गरी फिफाले गत साउन ३१ गते निलम्बन गरेको हो | ‘अदालतबाट स्थापित कमिटीको नियन्त्रणबाट एआइएफएफ स्वतन्त्र भएको हामीले पाएका छौं । फिफा र एएफसीले त्यहाँको आगामी परिस्थितिबारे पनि निगरानी राख्नेछ’ फिफाको वक्तव्यमा भनिएको छ, ‘हामी निर्धारित समयमै निर्वाचन गराउन एआइएफएफलाई सहयोग गर्नेछौं ।’ फिफाले आगामी अक्टोबर ११ देखि ३० सम्म हुने तय भएको फिफा यू-१७ महिला विश्वकप पूर्वनिर्धारित मिति र स्थानमै हुने जनाएको छ ।निलम्बन हटेसँगै आसन्न साफ महिला च्याम्पियनसिपमा पनि भारतको सहभागिता निश्चित छ । यसपल्ट दक्षिण एसियाका सातै देशको सहभागिता तय भएकोमा भारतीय फुटबलमाथि निलम्वनले संसय बढेको थियो ।साफ महिला च्याम्पियनसिप भदौ २१ देखि असोज ३ सम्म काठमाडौँमा हुँदैछ ।