मोस्ट वान्टेड भारतिय अपराधिलाई सर्लाही प्रहरीले ५ राउण्ड गोली हानेर नियन्त्रणमा लियो

लालबन्दी । मोस्टवान्टेड सूचीमा रहेका दुई भारतीय अपराधिलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको छ । सोमबार राति बरहथवा नगरपालिका–६ मगर टोलबाट इलाका प्रहरी कार्यालय बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट सादा पोशाकमा खटिएको प्रहरीको संयुक्त टोलीले २ जना भारतीय फरार अपराधीलाई अमेरिकन पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलि सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहार जिल्ला सितामढ़ी थाना सैयारा ग्राम सैयारा बस्ने लक्ष्मण सिंहको छोरा २८ वर्षीय सन्नी कुमार सिंह र मोतिहारी गंगापिपरा बस्ने अशोक राउतको छोरा २४ वर्षीय जितेन्द्र कुमार राउत रहेका छन् । उनिहरुलाई मंगलबार बिहान १० बजे जिल्ला प्रहरी कार्यालय मलंगवामा पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको हो । बरहथवास्थित स्थानीय रामटहल महतोको घरमा डेरा गरि बसेको भन्ने विशेष सुराकीका आधारमा पुगेको प्रहरी टोली देख्ने बितिकै जितेन्द्र कुमार राउतले आफ्नो साथमा रहेको मेड ईन युएसए लेखेको नौ एमएमको स्वचालित पेस्तोलबाट १ राउण्ड गोली फायर गरेको पत्रकार सम्मेलनमा एसपी ज्ञवालीले जानकारी दिए ।

एसपी ज्ञवालीका अनुसार तत्काल सुरक्षाकर्मीहरुले घेरा हालेर दुवैजना तथा उनिहरुको साथमा रहेको १ थान पेस्तोल, ६ राउण्ड गोली र फायर भएको १ थान खोका समेत बरामद् गरेको थियो । उनिहरुलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय मलंगवा लैजाँदै गर्दा बसबरिया गाउँपालिका–६ पोखरीयाबाट ७०० मिटर अगाडी प्रहरी भ्यानको पछाडीबाट भाग्न सफल भएका राउतलाई प्रहरीले ५ राउण्ड गोली हानेर पुनः नियन्त्रणमा लिएको हो । भाग्ने क्रममा प्रहरीले चलाएको गोली राउतको बाँया घुडा र दाहिने तिघ्रामा २ राउण्ड गोली लागेको थियो । उनलाई प्रादेशिक अस्पताल मलंगवामा उपचार गरि थप उपचारका लागी जनकपुर पठाईएको एसपी ज्ञवालीले बताए ।

राउतलाई लखेट्ने एवं नियन्त्रणमा लिने क्रममा प्रहरी जवानद्वय रमेश विक र दिपेश चौहान लडेर सामान्य घाईते भएको जिप्रकाले जनाएको छ । उनिहरुको साथबाट बिआर ०६ एयु २०१८ नम्बरको भारतीय मोटरसाईकल समेत बरामद् भएको डीएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए । पक्राउ परेका दुवैजना २ वटा कर्तव्य ज्यान, १ ज्यान मार्ने उद्योग र एक लागूऔषध मुद्दामा भारतीय अदालतबाट दोषि करार भई फरार रहेका अपराधि हुन् ।

नेपाली भूमिमा समेत उनिहरुले बैंक तथा सहकारी लुटपाटमा संलग्न भएको तथा कसैको हत्या गर्न ‘सुपारी किलर’ को रुपमा समेत आएको हुनसक्ने आशंका सहित सूक्ष्म ढंगले अनुसन्धान भईरहेको एसपी ज्ञवालीले जानकारी दिए ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया