सर्लाही । पूर्व भूमि सुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्यामा संलग्न २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पूर्व मन्त्री रायको आफ्नो सहयोगी (भान्से)ले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सोमबार साँझ प्रहरीले पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न पूर्व मन्त्रीको सहयोगी कबिलासि ३ घर भई हाल चन्द्रनगर १ रतनपुर बस्ने बर्ष २५ को राम उजैन राय र सोहि ठाउँका अर्का ४६ बर्षिय बिरेन्द्र रायलाई सार्वजनिक गरेको हो । गएको सोमबार साँझ हत्या गरिएका पूर्व मन्त्री रायको जग्गाको विवादकै कारण हत्या गरिएको खुलेको छ । पूर्व मन्त्रीकै सहयोगी भान्सेको रुपमा काम गर्ने राम उजैन रायले ८१ बर्षका रायलाई धारिलो हतियारले हानेर हत्या गरेका थिए । पछि उनैले स्थानीय र प्रहरीलाई खबर गर्दै ३ जना नचिनेका मान्छे आएका र आफुलाई माथी सुत्न जान भनेका, पछि आफुले हेर्दा पूर्व मन्त्री रायको हत्या भएको अवस्थामा देखेको बताएका थिए ।

खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय केशरगंज ईश्वरपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोली पुगेर अनुसन्धान थालेको थियो । पछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट कुकुर सहितको टोली समेत आएर हत्याको अनुसन्धान कार्य गरेको थियो । घटना लगतै राम उजैनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाउँदा निरन्तर बयानमा कुराहरु बाझिएपछि पोलिग्राफ मेशिनबाट उनी सहित अन्य केही व्यक्तिहरुको बयान समेत परिक्षण गराईएको थियो ।

घटनाको तेस्रो दिनपछि मात्र पूर्व राज्य मन्त्री रायको हत्या गर्दा राम उजैनले लगाएको सेतो गञ्जी च्यातेर ३ वटा पोको पारेर बारी छेउको बाटोतर्फ फालिएको अवस्थामा प्रहरीले बरामद् गरेको थियो । त्यसपछि भने प्रहरीले पूर्व राज्यमन्त्री रायको हत्या राम उजैनले नै गरेको एकीन सहित थप अनुसन्धान अगाडी बढाएको हो ।

पक्राउ परेका दुवैजना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्धामा सर्लाही जिल्ला अदालतबाट सोमबार नै १० दिनको म्याद लिएर थप अनुसन्धान अगाडी बढाईएको प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंहले जानकारी दिए ।

काठमाडौं । काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए । उनले सङ्कलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताए। प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ ।

सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो । अहिले विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ ।
सौर्य एयरलाइन्सले दिएको जहाजमा रहेका यात्रुहरुको विवरण यसप्रकार रहेको छ ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी घाइते भएको पाइलट मनिषरत्न शाक्यकाे उपचार भइरहेकाे छ ।   उनकाे टाउकाेमा चाेट लागेकाे अस्पतालले जनाएकाे छ ।

दुर्घटना घाइते पाइलट शाक्यको उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो ।उनको  उपचार भइरहेकाे अस्पतालले जनाएको छ। क्याप्टेन शाक्यले परिवारका सदस्यहरुसँग भेटेर बोलिरहेका छन् ।

मनिषको अवस्था सुधार भइरहेको परिवारले बताएका छन् । उनको निधारमा काटेको छ । अहिले मनिषको होस पनि आइसकेको  मनिषको काका अमूल शाक्यले नेपालप्रेसलाई बताए । केही बेरमा रिफर गर्ने तयारीमा भइरहेको छ ।

सर्लाही । साउन महिनाको पहिलो सोमबार आज सर्लाहीसहित देशभरका शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

बिहानैदेखि लालबन्दीको डुमडुमेस्थित शिव मन्दिर, राधाकृष्ण मन्दिर, हरिवनको सुखेपोखरी र कैलाशपुरी महादेव मन्दिर, मूर्तियाको मुक्तेश्वर बाबाधाम, ईश्वरपुरको सागरनाथ महादेव मन्दिर, परवानीपुरको महादेव मन्दिर लगाएतका शिवालयहरुमा भक्तजनको भिड लागेको हो ।

साउन महिनाको सोमबार ब्रत बसेर विधिपूर्वक शिव भगवानको पूजा गर्नाले मनोकामना पूरा हुने दीर्घायु, सुख शान्ति, एश्वर्य, धन धान्य र मान सम्मान प्राप्ति हुने विश्वास गरिन्छ । विशेषगरी विवाहित महिलाहरुले आफ्नो श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछन् भने अविवाहित महिलाहरुले सुयोग्य वरको कामना गरी ब्रत बस्ने गर्दछन् । साउन भगवान् शिवको प्रिय महिना हो । शिवपुराणमा वर्णन गरिए अनुसार, शिव परमब्रह्रा हुनुहुन्छ ।

हिन्दु धर्मावलम्बीहरुले भगवान शिवको शक्तिलाई विशेष रुपमा लिने गर्दछन् । हरेक वर्ष साउनको सोमबार ब्रत बसेर शिवको पूजा आराधना गर्ने चलनले पनि हिन्दु धर्मावलम्बीहरुका लागि ठुलो महत्व बोकेको छ ।

सर्लाही । पूर्व भूमिसुधार राज्य मन्त्री रामचन्द्र रायको गएराति हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुर स्थित घरमा ८० वर्षीय रायको धारिलो हतियार प्रयोग गरि हत्या भएको हो । परिवारसहित सदरमुकाम मलंगवा बस्दै आएका राय खेति हेर्नका लागी भनेर एकसातादेखि चन्द्रनगर बस्दै आएका थिए ।

रायको घरका एक कामदारले राती १ बजे स्थानीय तथा प्रहरीलाई घटनाबारे खबर गरेका थिए । राती ९ बजेतिर नचिनेका ३ जना कुराकानीका लागी आएपछि पूर्व मन्त्री रायले आफूलाई माथि गएर सुत्न भनेको र राती १ बजेतिर उठेर हेर्दा राय मृत्त देखेको उनले बताए जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र बहादुर सिंहले जानकारी दिए ।
प्रहरीका अनुसार यादवको टाउकाको बायाँपट्टी भागमा धारिलो हतियार प्रहार गरीएको छ । उखु काट्न प्रयोग हुने दबियाले टाउकामा प्रहार भएको प्रहरीले जनाएको छ ।

खबर प्राप्त हुनासाथ एसपी सिंहको टोली घटनास्थल पुगेको थियो भने बिहान सबा ४ बजे धनुषाबाट कुकुर सहितको टोली समेत आएको थियो । त्यस्तै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) यज्ञ बिनोद पोखरेलसमेत बिहान पौने ५ बजे घटनास्थल पुगेका थिए ।

२०५६ सालको संसदीय निर्वाचनमा सदरमुकाम मलंगवा सहितको साबिक क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका नेता रामहरि जोशीलाई हराउँदै राप्रपाबाट सांसद निर्वाचित राय पूर्व राजा ज्ञानेन्द्र शाहको शाहीकालमा राज्यमन्त्री भएका थिए ।
घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान अगाडि बढाईएको एसपी सिंहले बताए । मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा लगिएको छ ।

मिर्चैया (सिरहा), ६ साउन– दलित समुदायका अगुवाहरूले दलित समुदायले भोग्नुपरेका समस्या समाधानका लागि एकजुट भएर अघि बढ्ने सङ्कल्प गरेका छन् । दलित कार्यपालिका सदस्य, दलित नागरिक समाजका संस्था, राजनीतिक दलहरूका दलित भातृ सङ्गठनका पदाधिकारी तथा दलित पत्रकार सञ्जालका पदाधिकारीहरूले यस्तो अठोट व्यक्त गरेका हुन् ।

युएसएआइडी नेपालको आर्थिक, द एसिया फाउन्डेसनको कार्यान्वयन र दलित सरोकार मञ्च नेपालको प्राविधिक सहयोगमा मधेस प्रदेशमा सञ्चालित युएसएआइडी सिभिक सोसाइटी एन्ड मिडिया एक्टिभिटीअन्तर्गत दलित समुदायका नागरिक समाज, जनप्रतिनिधि र पत्रकारहरूको सञ्जाल निर्माण र परिचालन परियोजनाअन्तर्गत आयोजित भेलाका क्रममा उनीहरूले यस्तो धारणा राखेका हुन् ।

दलित सरोकार मञ्चद्वारा सिरहाको मिर्चैयामा आयोजित २ दिने कार्यक्रमका क्रममा दलित कार्यपालिका सदस्यहरूले कार्यपालिकामा आफूहरूको सङ्ख्या न्यून भएकाले आवाज नसुनिएको धारणा राखेका थिए । साथै उनीहरूले यति छुट्याउनैपर्ने बाध्यकारी प्रावधान नहुँदा दलित समुदायका लागि बजेट नै नछुट्याइने, छुट्याइए पनि एकदम कम छुट्याइने, छुट्याइएको बजेटसमेत कार्यान्वयन गर्न नदिने, दिए पनि लक्षित समुदायलाई नदिएर असम्बन्धित पक्षलाई दिने गरिएको उल्लेख गरेका थिए ।

राजनीतिक दलहरूकै कारण दलित जनप्रतिनिधिबीच मनमुटाव हुने वातावरण सिर्जना गरिएका कारण पनि दलित समुदाय एकताबद्ध हुन नसकेका, कार्यपालिका बैठकका निर्णयमा दलित सदस्यले आँखा चिम्लेर हस्ताक्षर गरिदिँदा पनि समस्या निम्तिरहेको, आफ्ना माग सङ्गठितरूपमा राख्न नसक्नु जस्ता कारणले कार्यपालिकामा दलित सदस्यको भूमिका प्रभावकारी हुन नसकेको पनि उनीहरूले बताए ।

छलफलका क्रममा राजनीतिक दलका दलित भातृ सङ्गठनका पदाधिकारीहरूले आफू जुन दलभित्र सुरक्षित भइन्छ भनेर लागियो, त्यही दलका नेताले नै विभेद गर्ने गरेका, दलित समुदायका सवाललाई नेताहरूले खासै प्राथमिकता नदिने गरेका, उनीहरूले दलितलाई मत लिनेबेला मात्र प्रयोग गर्ने गरेका, दलित समुदायलाई आवश्यक जानकारी र प्रशिक्षण नदिने तथा आफ्नो अनुमतिबेगर केही बोलेमा वा गतिविधि गरेमा प्रतिशोध लिने गरेका दुःखेसो पोखेका थिए । उनीहरूले सबैजसो दलका नेताले दलितलाई भजाएर खाने गरेकाले पनि जुनसुकै दलमा लागे पनि दलितका सवालमा एकजुट भएर अघि बढ्नुको विकल्प नभएको बताएका थिए ।

त्यसैगरी दलित नागरिक समाजका प्रतिनिधिहरूले आफूहरूलाई दातृ निकायले समेत विभेद गर्ने गरेका, जिल्ला प्रशासन कार्यालय र अन्य सरकारी निकायले पनि सहयोग नगर्ने तथा पालिकाहरूले दलित समुदायका संस्थासँग समन्वय गर्न नचाहेको जानकारी दिएका थिए । पालिकाहरूले बरु व्यावसायिक संस्थाहरूलाई ठेक्काका काम दिने, दलित समुदायमा गरिने कामको जिम्मासमेत उनीहरूलाई नै दिने तर दलितका संस्थालाई भने स्वीकार नै गर्न गाह«ो मान्ने गरेका प्रमाणहरू नै पेस गरेका थिए ।

यसरी नै दलित पत्रकार सञ्जालका पदाधिकारीहरूले अरू त अरू पदमा पुगेका दलित समुदायका व्यक्तिले समेत दलित पत्रकार र उनीहरूका संस्थालाई सहयोग गर्न नचाहेको गुनासो गरेका थिए । आफूहरूलाई क्षमता विकासका अवसर अभाव भएको, आर्थिक अवस्था कमजोर भएकाले मोबाइल, ल्यापटप, क्यामेरा जस्ता पत्रकारिताका लागि आवश्यक पर्ने सामान्य विषयसमेत नभएकाले पनि दलित समुदायका सवाल प्रभावकारी ढङ्गले उजागर गर्न नसकेको उल्लेख गरेका थिए ।

कार्यक्रम आयोजक संस्था दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवानले दलित समुदायले अहिले पनि जातीय भेदभावलगायतका चौतर्फी पीडा भोग्नुपरेकाले त्यस्ता समस्या सङ्गठितरूपमा सामना गर्ने उद्देश्यले यस्तो भेला आयोजना गरिएको जानकारी दिए । १/२ जना व्यक्ति वा केही समुदाय/समूहले मात्र दलितमाथिको उत्पीडन र अन्यायका समस्या अन्त्य गर्न नसक्ने भएकाले एकजुट भई व्यवस्थिततवरको वातावरण सिर्जना गर्नु नै यो कार्यक्रमको उद्देश्य भएको उनको भनाइ छ ।

सर्लाही । नेपाल दलित मुक्ति संगठनका केन्द्रीय कमिटी सदस्य तथा कैलाली जिल्ला इन्चार्ज दिलबहादुर विश्वकर्माको निधनप्रति नेपाल दलित मुक्ति संगठनले दुख व्यक्त गरेको छ । संगठनले प्रेस विज्ञप्ति जारी गर्दै विश्वकर्माको निधनप्रति शोक व्यक्त गरेको हो ।

संगठनका केन्द्रीय अध्यक्ष गणेश बहादुर बिश्वकर्माद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ, ‘दुःखको यस घडीमा कमरेड दिलबहादुर विश्वकर्माप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो सम्वेदना ब्यक्त गर्न चाहन्छौं ।’ विश्वकर्माको यहि श्रावण ४ गतेका दिन निधन भएको थियो । कैलाली जिल्ला बर्दगोरया गाउँपालिकाको मुढा बजारमा बसोवास गर्दै आएका विश्वकर्मा लामो समयदेखि उपचारको क्रममा रहेका थिए ।

नेकपा (एकीकृत समाजवादी) सुुदूरपश्चिम प्रदेश कमिटी सदस्य समेत रहेका विश्वकर्माले सुदूरपश्चिमको दलित र सामाजिक आन्दोलनमा विश्वकर्माकाे महत्वपुर्ण योगदान पु¥याउँदै आएका थिए ।

 

जनकपुरधाम । मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंहले मुक्त हरवाचरवाको तथ्याकं संकलन, प्रमाणीकरण र परिचयपत्र बितरण गरि एकिकृत प्याकेज मार्फत उनीहरुको न्यायीक पुनःस्थापनाका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भयो । मुक्त हरवचरवाको न्यायिक पुनःस्र्थापना हाम्रो सरोकार, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार, भन्ने मुल नाराका साथ जनकपुरमा सम्पन्न दोश्रो हरवाचरवा मुक्ति दिवशको अवसरमा मन्त्री सिंहले उक्त कुरा बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथी समेत रहेका मन्त्री सिंहले नागरिकहरु आफनो अधिकार प्रति सचेत र जागरुक भए सामन्तबाद स्वतः उन्मुलन हुने बताउने भयो । उहाँले मधेशप्रदेश सरकारको निति तथा कार्यक्रम र बजेट मार्फत मुक्त हरवाचरवाको न्यायिक पुनस्र्थापना गरिने कुरामा आफु निरन्तर लागि रहने बताउनु भयो ।

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले आयोजना गरेको दोश्रो मुक्ति दिवशका सन्दर्भमा जनकपुरको मुरलीचोकबाट बृहत र्रयाली शुरु भई नेपालबार एसोशियसनको सभाहलमा “मुक्त हरवाचरवाको बर्तमान अवस्था र उनीहरुको न्यायोचित पुनस्र्थापनाबारे निति निर्माता र सरोकारवालासंग निति संवाद” कार्यक्रममा परिणत भएको थियो ।
राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका महासचिव लागिन्द्र सदाले मुक्तिको घोषणा भएको २ बर्ष वितिसक्दा समेत नेपाल सरकारले पुनःस्थापनाको कुनै कार्य अघि नबढाएको गुनासो गर्नुभयो । कोषाध्यक्ष राजवती मण्डलले मुक्तिको घोषणासंगै नेपाल सरकारले प्रतिबद्धता जाहेर गरेको लगत संकलन, सत्यापन, परिचय पत्र वितरण, पुनःस्थापना, सामाजिक विभेदको अन्त्य, मर्यादित जीवन, सामाजिक सशक्तिकरण, समावेशीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाका मुद्दाहरु अहिलेसम्म शुरु हुन नसकेको कुरा औल्याउनु भयो ।

मधेशप्रदेश सरकार भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका शाखा अधिकृत खिलराज परियारले मन्त्रालयको अगुवाईमा निर्माण भएको “हरवाचरवा तथ्याकं संकलन, प्रमाणीकरण र परिचयपत्र बितरण सम्बन्धी कार्यबिधी” को प्रभावकारी कार्यान्वयन मार्फत मुक्त हरवाचरवाको न्यायिक पुनस्र्थापनामा जोड दिनुपर्ने कुरा औल्याउनु भयो ।

उक्त अवसरमा द फ्रिडम फण्डका जनवकालत सल्लाहकार ब्रहमदेव राम, राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय सदस्य शिव सदा, जिल्ला हरवाचरवा अधिकार मञ्च महोत्तरीका अध्यक्ष साबित्री सदा, जिल्ला हरवाचरवा अधिकार पर्साका अध्यक्ष अमरदेव पासवान, दलित जनप्रतिनिधी सञ्जालका प्रदेश सचिव राजेश सक्सेना पाशवान, मानवअधिकारकर्मी बिनोद महरा, जनचेतना दलित संगमका अध्यक्ष रामलखन राम, श्रीपुराज सामुदायिक बिकास केन्द्र सप्तरीका अध्यक्ष चतुरनारायण चौधरी लगायतले आ आफनो बिचार ब्यक्त गर्नुभयो ।

नेपालको संबैधानिक प्रावधान अनुसार मिति २०७९ श्रावण २ गते सम्माननीय पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाज्यूले नेपाल सरकारका माननीय मन्त्रीहरू, माननीय साँसदहरु, मन्त्रालयका सचिवहरु, संवैधानिक आयोगका प्रमुख तथा प्रतिनीधिहरु, उच्च पदस्थ कर्मचारीहरुसहित हलिया, कमैया, कम्लरी तथा हरवाचरवा आन्दोलनका अगुवाहरुको उपस्थिति रहेको एक भव्य समारोहकाबीच अनुचित ऋणको खारेजीसहित पूर्वी तराईका बारा देखि सुनसरी सम्मका ९ जिल्लाहरुमा रहेका करिव १ लाख भन्दा बढी हरवाचरवाहरुको मुक्तिको घोषणा गर्नु भएको थियो । हरवाचरवाको मुक्तिको घोषणासँगै नेपालमा सामन्तवादका अवशेषका रुपमा रहेको प्रथाहरु औपचारिक रुपमा अन्त्य भएका थियो भने नेपाल बधुँवाप्रथा मुक्त राष्ट्र भएको थियो ।

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष श्रीप्रसाद सदाले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो । राष्ट्रिय दलित नेटवर्क, नेपालका जिल्ला हरवाचरवा एक्टीभिष्ट ममता बिश्वकर्माले सञ्चालन गर्नु भएको कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) मधेश प्रदेश प्रमुख राजु पाशवानले “मुक्त हरवाचरवाको बर्तमान अवस्था र न्यायोचित पुनःस्र्थापना” सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भयो ।

लालबन्दी : भाषीक कवि तथा संस्कृतिकर्मी भक्ती रिजाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रादेशिक प्रतिभा पुरस्कार २०८० बाट सम्मान गरेको छ ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘संस्कृति’ विधातर्फ मधेस प्रदेशका लागि प्रादेशिक प्रतिभा पुरस्कार २०८० द्वारा रिजाललाई सम्मान गरेको हो ।

काठमाडौंको जमलमा रहेको सांस्कृतिक सस्थानमा भएको एक समारोहमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले रु पचास हजार राशीसँगै दोसल्ला ओडाएर रिजाललाई सम्मान गरेका थिए ।

मधेसमा रहेका भाषा तथा संस्कृतिको जगेर्ना गर्न उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रिजाललाई सम्मान गरेको हो । झन्डै ९ वटा भाषामा दखल भएका रिजालले पत्रकारिता पनि गर्दै आएका छन् ।

लालबन्दी । लालबन्दीमा शनिबार आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती मनाइएको छ ।

लालबन्दी नगर वाङ्मय परिषद्को आयोजना र भानु प्रतिष्ठान, नेपाल मधेश प्रदेशको समन्वयमा २११ औँ भानुजयन्ती मधेश प्रदेशस्तरीय रचना वाचन कार्यक्रम गरी मनाइएको हो ।

कार्यक्रममा मधेशका विभिन्न पालिकाका ३६ जना कवि तथा गजलकारहरूले आदिकवि भानुभक्त आचार्यलाई स्मरण गर्दै कविता तथा गजल वाचन गरेका थिए । कार्यक्रममा जनज्योति बहुमुखी क्याम्पसका अध्यक्ष दीपक अधिकारीको विशिष्ट तथा लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।

लालबन्दी नगरपालिकाका नगर प्रमुख तथा उक्त कार्यक्रमका प्रमुख अतिथि बासुदेव अधिकारीले कार्यक्रमलाई सम्बोधन गर्दै भानु सबै नेपालीका प्रेरणाका स्रोत हुन् र भानुले सबै नेपालीलाई नेपाली भाषाका माध्यमबाट एकताको सूत्रमा बाँध्ने काम गरेको बताएका थिए ।

सर्लाही । एक महिनाकै अन्तरमा सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । आइतबार एकै दिन प्रतितोला १ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ तोकेको छ । यसअघि जेठ २५ गते १ लाख ४५ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेकोमा आज सो रेकर्ड तोडिएको छ ।

नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भए पनि अन्तर्राष्ट्रिय बजारमा भने जेठ ७ (मे २०) कै रेकर्ड तोड्न सकेको छैन । सो दिन अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २४२६ डलर पुगेको सुन आज २३९१ मा छ । यहाँ जेठ १५ गते बजेटले सुनको भन्सार दर बढाएपछि जेठ २५ गते नै त्यसअघिका सबै रेकर्ड तोडिएको थियो ।

त्यस्तै चाँदीको भाउ आइतबार तोलामा २० रुपैयाँ बढेको छ । शुक्रबार प्रतितोला १ हजार ८७० रहेकोमा आइतबार १ हजार ८९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते