क्षितिज विश्वकर्मा, लालबन्दी । सुनकोशी–मरिण बहुदेशिय आयोजनाबाट बागमती नदी पूर्वका उत्तरी क्षेत्र सिँचाई सम्भाव्यता अध्ययनका विषयमा लालबन्दीमा सर्वदलीय सर्वपक्षीय छलफल सम्पन्न भएको छ । छलफलले सिन्धुली जिल्लामा हाल निर्माणाधिन सुनकोशि मरिन आयोजनाबाट मधेश प्रदेशका विशेषगरि सर्लाही र महोत्तरीका उत्तरी क्षेत्रमा समेत पानि ल्याउन पहल गर्ने र त्यसको लागी सम्बन्धित मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको छ ।
सर्लाही जिल्लाको बागमती, हरिवन, लालबन्दी र इश्वरपुर नगरपालिका तथा महोत्तरी जिल्लाको वर्दिवास नगरपालिकाको उत्तरी क्षेत्रमा सिँचाइ एवम् खानेपानीको सुविधा नभएको र उत्तरी क्षेत्रमा दिन प्रतिदिन सुख्खाग्रस्तको अवस्था बढ्दो गतिमा रहेकोले सो क्षेत्रमा खानेपानी एवम् सिँचाइको सुविधा उपलब्ध गराउन आयोजनाको थप सम्भाव्यता अध्ययन गरि आयोजनाको विस्तारिकरण गरिदिन पहल गर्ने निर्णय गरिएको छ । छलफलले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, खानेपानी मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगमामा सो किसिमको सिफारिस गरि पठाउने निर्णय गरेको लालबन्दी नगरप्रमुख बासुदेव अधिकारीले जानकारी दिए ।
छलफल पछि सिन्धुली जिल्लामा हाल निर्माणाधिन सुनकोशि मरिण वहुउदेश्यीय आयोजनालाइ सर्लाही र महोत्तरी जिल्लाको उत्तरी वेल्टमा समेत विस्तारिकण गर्ने सम्वन्धमा सम्भाव्यता अध्ययन एवम् सुझाव संकलन गरि नेपाल सरकारसँग पहल गरि प्रकृया अगाडि वढाउन कार्यदल, सल्लाहाकार र विज्ञ समुह गठन गर्ने निर्णय गरिएको छ । कार्यदलमा लालबन्दी नगरपालिकाका नगरप्रमुखको अध्यक्षतामा हरिवन, बागमती, ईश्वरपुर नगरपालिका प्रमुख, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जिल्लास्थित क्रियाशिल राजनैतिक दलका प्रतिनिधिहरु सदस्य रहेका छन् । त्यस्तै, सुनकोशि सामुदायिक सेवा समाजको प्रतिनिधि सदस्य रहेका छन् ।
छलफल पछि सल्लाहाकार समुह पनि गठन गरिएको छ । जसमा पूर्व मन्त्री महिन्द्र राय यादव, नेपाल सरकारका रक्षामन्त्री हरि उप्रेती, संघीय सांसद राम प्रकाश चौधरी, पूर्व राज्य मन्त्री एवम् संविधान सभा सदस्य सम्भुलाल श्रेष्ठ, प्रदेश सांसदहरु वेची लुङ्गेली र जवाहारलाल कुशवाहा रहेका छन् । छलफलले विज्ञ समुह पनि गठन गरेको छ । जसमा विद्युत विज्ञ चेत प्रसाद वराल र नापी विज्ञ वलराम पोखरेल रहेका छन् । लालबन्दी नगरपालिकाका प्रमुख अधिकारीको सभाध्यक्षता तथा पूर्व खानेपानी मन्त्री एवम् सर्लाही क्षेत्र नं –२ का सांसद महिन्द्र रायको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा वक्ताहरूले आयोजनाको आवश्यकता र औचित्य औँल्याएका थिए । छलफलमा सुनकोशी मरिण बहुद्देशिय आयोजनाबाट उत्तरी क्षेत्रमा सिँचाई सुविधा पु¥याउन सकिने सम्भावनाका विषयमा नेपाल विद्युत प्राधिकरणका अवकाश प्राप्त ईन्जिनियर चेत प्रसाद बरालले आधारहरु प्रस्तुत गरेका थिए । उनले आयोजनाबाट उत्तरी क्षेत्रमा समेत सिँचाई पु¥याउन सकिने मुख्य दुई ओटा आधार प्रस्तुत गरे । उनका अनुसार आयोजना अन्तरगत समुद्री सतहबाट ४०७ मिटर उचाईमा रहेको सिन्धुलीको कुसुमटारमा बन्ने विद्युत गृहबाट पाईप लाईनमार्फत समुद्री सहतहबाट ४०० मिटर उचाईमा रहेको लखनदेही खोलाको सहायक खोला डायनी खोलामा पानी झार्न सकिन्छ । त्यस्तै ईन्जिनियर बरालले प्रस्तुत गरेको अर्को विकल्पमा कुसुमटारबाट १३÷१४ किलोमिटरमा पर्ने मरिन खोलामा ड्यामको सहायताले फुलवारी खोला क्रसगरी खयरसाल, बाघघारी गाउँ छिचोली चुरेको भित्तामा ल्याउन सकिन्छ । र ४.५ किलोमिटर पाईपलाईन र ७.५ किलोमिटर सुरुङ्ग समेत गरी १२ किलोमिटरमै डायनी खोलाको पुच्छारमै पानी झार्न सकिन्छ । त्यसरी लखनदेही खोलामा पथान्तरण भएको पानीले बागमती नहर पूर्वका उत्तरी क्षेत्रका ठुलो क्षेत्रफल भूभाग सिँचाई गर्न सकिने उनको दाबि थियो ।
सरकारले महत्वकांक्षी आयोजनाको रुपमा सुरु गरेको सुनकोशी मरिन डाइभर्सनबाट हाल सिँचित ४५ हजार हेक्टर जमिनका अलावा थप ७७ हजार हेक्टर गरी कुल १२२ हजार हेक्टर जमिन सिँचाई गर्ने लक्ष्य राखेपनि त्यसले बागमती नहर पूर्वका उत्तरी क्षेत्रका ठुलो क्षेत्र सिँचाई सुविधाबाट बञ्चित हुने भएपछि सम्भाव्यता अध्ययन थालिएको थियो । सो कार्यक्रममा मेयर, उपमेयर, प्रदेश सांसद, संघीय सांसद, वडाध्यक्ष, वडासदस्य, विभिन्न दलका स्थानीय तथा केन्द्रस्तरका नेताहरु लगाएतको उल्लेख्य सहभागिता रहेको थियो ।
रौतहट : रौतहटमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बृन्दावन नगरपालिका-१ बलेरी टोल ४० वर्षीय तीर्थ वाइबाले श्रीमती सोती माया वाइबाको हँसियाले घाँटी रेटेर हत्या गरेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्या गरेर वाइबाले धारिलो हतियारले आत्महत्याको प्रयाससमेत गरेको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले घाइते अवस्थामा भेटिएका वाइबाको उद्धार गरी अस्पताल लगेको थियो।
उनलाई चन्द्रपुरमा उपचारको लागि पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी एलिजा गिरीले जानकारी दिइन् । बागमतीको बगरमा घाँस काट्न गएका उनीहरूबीच विवाद भएको थियो ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरू गरेको जनाएकाे छ।
क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको हरिवन नगरपालिकाले स्वास्थ्य संस्थामा नियमित गर्भ परीक्षण गराएका र स्वास्थ्य संस्थामै आएर प्रसुति गराएका सुत्केरीलाई प्रोत्साहन भत्ता प्रदान गरेको छ ।
‘हामी दुई, हाम्रा दुई, स्वस्थ आमा र स्वस्थ बच्चा’ भन्ने मूल नारासहित स्वास्थ्य चौकी सासापुरमा गएको साउनदेखि पुस महिनासम्मको अवधीमा प्रसुति सेवा लिएका १६१ जना सुत्केरीलाई जनही चार हजार रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गरेको हो । नगरप्रमुख रमेश बुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलान, सासापुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं हरिवन ४ का वडाध्यक्ष केशवराज थापा, हरिवन १ का वडाध्यक्ष अर्जुन कुमार योन्जन, हरिवन ३ का वडाध्यक्ष दीपमान लोप्चनलगायत भएर सुत्केरीलाई प्रोत्साहन भत्ता प्रदान गरेका हुन ।
हरिवनमा सरकारीस्तरमा स्वास्थ्य चौकी सासापुर, सहकारी संस्थाद्वारा सञ्चालित नमूना अस्पताल हरिवन र नेपाल परिवार नियोजन सङ्घ शाखा हरिवनद्वारा सञ्चालित बर्थिङ सेन्टर गरी तीनवटा बर्थिङ सेन्टर छन् । तीनवटै बर्थिङ सेन्टरमा आमा सुरक्षा कार्यक्रम लागू रहेको र तीनमध्ये जहाँ गएर प्रसुति गराए पनि प्रोत्साहनस्वरुप चार हजार रुपैँया नगद प्रदान गरिने हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिए ।
हरिवन नगरपालिकाले दुईवटा बच्चा जन्माउँदासम्म उक्त प्रोत्साहन भत्ता रकम प्रदान गर्ने नीति बनाएको छ । प्रोत्साहन भत्ता प्राप्त गर्न चारपटक स्वास्थ्य संस्थामा आएर गर्भवती जाँच गरेको हुनुपर्ने, टिडि खोप लगाएको हुनुपर्ने, आइरन चक्की र जुकाको औषधि खाएको हुनुपर्ने तथा बर्थिङ सेन्टरमै आएर बच्चा जन्माएको हुनुपर्ने स्वास्थ्य शाखाले जनाएको छ ।
हरिवन नगरपालिकाका प्रमुख बुढाथोकीले नगरभित्रका सम्पूर्ण गर्भवतीलाई स्वास्थ्य संस्थामा नियमित गर्भ परीक्षण गराउन र बर्थिङ सेन्टरमा आएर प्रसुति सेवा लिन प्रोत्साहन होस् भन्ने मुख्य उद्देश्यसहित सुत्केरी प्रोत्साहन भत्ता कार्यक्रम ल्याइएको बताए । हरिवन नगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि गत वर्षदेखि यो कार्यक्रम लागू गरिएको हो ।
नगरपालिकाबाट सुत्केरी प्रोत्साहन भत्ता पाउँदा आफुहरुलाई राहत मिलेको वडा नम्बर ८ चापिनी कौवाकी साबित्रा भण्डारीले प्रतिकृया दिईन । उनले चार हजार रुपैँया सुत्केरी प्रोत्साहन भत्ताको रुपमा पाउँदा बच्चालाई पोषिलो खानेकुरा खुवाउन र आफैलाई पनि पोषिलो खानेकुरा खान मद्दत पुगेको बताईन । यो महिलाहरुको लागी धेरै राम्रो काम भएको उनको भनाइ थियो ।
त्यसैगरि सम्शेर बहादुर स्याङ्तानले हरिवन नगरपालिकाले यो कमजोर आर्थिक अवस्था भएका महिलाहरुको लागी अत्यन्तै राम्रो काम गरेको बताए । आमा र बच्चाको पोषणका लागी संचालित यो कार्यक्रमले निरन्तरता पाउनु पर्ने र सबै महिलाहरुसम्म यो जानकारी पु¥याउनुपर्ने उनको धारणा थियो ।
गत वर्ष मापदण्ड पूरा गरेका १६९ जना सुत्केरीलाई प्रोत्साहन भत्ता प्रदान गरिएको थियो । सासापुर स्वास्थ्य चौकीमा आएर प्रसुति हुने नगरभित्रका गर्भवर्तीलाई घरसम्म नै लिन जाँदा र प्रसुतिपछि घरसम्म पुर्याउन जाँदा निःशुल्क एम्बुलेन्सकोसमेत व्यवस्था मिलाइएको छ । चौधरीले बर्थिङ सेन्टरमा आएर प्रसुति हुने सुत्केरीलाई नेपाल सरकारले दिने एक हजार यातायात खर्चबाहेक नै नगरपालिकाबाट चार हजार रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गर्ने गरिएको बताए ।
क्षितिज विश्वकर्मा, लालाबन्दी । ‘दैनिक गरौँ मह सेवन, हुन्छ स्वस्थ दीर्घ जीवन’ भन्ने नाराको साथ १८ औँ राष्ट्रिय मह दिवस सर्लाहीमा पनि मनाइएको छ । नेपाल मौरीपालक महासंघ सर्लाही शाखाको आयोजनामा हरिवन नगरपालिका ११ स्थित वडा कार्यालयको सभाहलमा कार्यक्रम गरिएको हो । कार्यक्रममा वक्ताहरूले महको उपयोगीता र यसले मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका विषयमा आ–आफ्नो धारणा राखेका थिए । आफ्नो स्वास्थ्य आफ्नै हातमा, शुद्ध मह सधैँ साथमा, खाऔँ आफ्नो बारीको, नखाऔँ सिमा पारीको भन्ने कार्यक्रमको मूल नारा रहेको थियो ।
जिल्लामा करिब ३ सय जना मौरीपालक किसान रहेका भए पनि १ सय जना जति मात्रै सक्रिय रहेका नेपाल मौरीपालक महासंघ सर्लाहीका अध्यक्ष डम्बरदेव पाण्डेले कार्यक्रममा जानकारी गराए । उनका अनुसार सर्लाहीमा वार्षिक २ सय मेक्ट्रिक टन मह उत्पादन हुने गरेको छ । उत्पादित मह काठमाडौँसहित देशका अन्य स्थानमा पुग्ने गरेको नेपाल मौरीपालक महासंघका केन्द्रीय सदस्य हेमराज देवकोटाले बताए । उनका अनुसार विगतका वर्षमा सर्लाहीमा वार्षिक ७ सय ८० मेक्ट्रिकटन सम्म मह मह उत्पादन भएको तथ्यांक छ ।
जलवायु परिवर्तन, वन विनाश (डडेलो) र किसान प्रति राज्यले गर्ने गरेको बेवास्ताका कारण मह उत्पादनमा ह्रास आएको किसानहरुको भनाई छ । सहभागी अन्य वक्ताहरूले महको लेबलिङ्ग, प्याकेजिङ्ग, ध्यान दिनुपर्ने, मह उपभोक्तालाई सहजै उपलब्ध गराउनुपर्ने, महको विषयमा सचेतना फैलाउनु पर्ने लगायतका विषयमा जोड दिएका थिए । पछिल्लो समय तेस्रो मुलुकबाट निर्वाधरूपमा भित्रने गरेको मह जस्तै गुलियो पदार्थका कारण यहाँका किसानले महको उचित मूल्य प्राप्त गर्न नसकेको मौरी पालक किसानहरूको गुनासो छ । नेपालमा यस वर्ष करिव ३५ सय मेक्ट्रिकटनको हाराहारीमा मह उत्पादन भएको छ । यहाँ वार्षिक ८ हजार मेक्ट्रिकटन भन्दा बढी महको माग रहेको छ ।
राज्यले मह उत्पादन गर्न ठोस निति ल्याएर नेपाली मह विदेशी बजारमा निर्यात गर्ने वातावरण सिर्जना गुर्नपर्ने यहाँका मौरी पालक किसानको माग छ । सो कार्यक्रममा हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी, उपप्रमुख हरिमाया घलान लगायत जिल्लाका मौरी पालक किसानहरुको सहभागीता रहेको थियो ।
मह स्वास्थ्यका लागि एकदमै उपयोगी खाद्यपदार्थ हो । यसमा शक्तिवद्र्धक र रोग निरोधक दुवै गुण हुन्छन् । यसर्थ, महलाई आयुर्वेदमा समेत औषधीय गुणले भरिपूर्ण भनेर व्याख्या गरिएको छ ।
महका फाईदा यस प्रकार छन ।
– दैनिक नियमित एक चम्चा मह सेवन गर्दा रुघाखोकी र घाँटीको समस्याबाट बच्न सकिन्छ ।– दुई वर्षभन्दा माथिका बच्चालाई दैनिक एक चम्चा मह खुवाउँदा शरीरलाई चाहिने आवश्यक भिटामिन पूर्ति हुनुका साथै रोग प्रतिरोधात्मक क्षमतासमेत बढ्छ ।
– बकाइनोको फूलको रसमा मह मिसाएर बिहान–बेलुका खाँदा महिनावारी गडबडीको समस्या हल हुन्छ ।
– महलाई अमलाको चूर्णसँग मिसाएर खाएमा स्मरणशक्ति बढ्ने, छालामा चमक आउने र पेट सफा हुने हुन्छ ।
– मह सेवनले चिसो लाग्दैन, शरीरमा रगतको कमी पनि हुँदैन । र, हड्डी तथा मांसपेशी पनि बलियो बनाउँछ ।
– शुद्ध तोरीको तेलमा मह मिसाएर शरीरमा लगाउँदा बाहिरी ब्याक्टेरियाले आक्रमण गर्न पाउँदैन ।
क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाही जिल्लाका माछा पालक किसानले शुक्रबार राजमार्गमा माछा फ्याँकेर राजमार्ग अवरुद्ध गरेका छन । सरकारले माछा पालनका लागी पोखरी खन्न १० प्रतिशत अनुदान दिएर बिद्युत मिटरमा महशुल बढाएको भन्दै माछा पालक किसानले राजमार्गमा माछा फ्याँकेर आन्दोलन गरेका हुन । जिल्लामा सबैभन्दा धेरै माछा उत्पादन हुँदै आएको ईश्वरपुर र चन्द्रनगरका सयौँ किसानको उपस्थितीमा पूर्व पश्चिम राजमार्गस्थित ईश्वर नगरपालिकामा पर्ने फुलजोर चोकमा ५ क्विन्टल माछा फ्याँकेर आन्दोलन गरिएको हो ।
माछा पालन व्यवसायलाई प्रोत्साहित गर्ने उदेश्यले सरकारले पोखरी खन्न अनुदान उपलब्ध गराए पछि यहाँका किसानले धमाधम परम्परागत खेती मासेर पोखरी खन्न थाले । यसरी जिल्लामा पोखरीको संख्या सयौँ विगाहमा हुन थाल्यो । लगतै सरकारले माछा पालन व्यवसायलाई कृषिबाट उद्योगमा गाभ्यो । त्यसपछि सरकारले किसानसँग विद्युतमा औद्योगिक महसुल लिन थाल्यो । यसअघिसम्म किसानले ३ रुपैँया प्रति युनिट विद्युत महसुल बुझाउँदै आएकामा उद्योगमा गाभिएपछि एकाएक १२ रुपैयाँ सम्म तिर्नु पर्ने अवस्था आयो । यसको विरोधमा आफूहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको भएपनि त्यो सुनुवाई नभएपछि यसरी आन्दोलन गर्नुपरेको माछा पालक किसान संघर्ष समितिका संयोजक रञ्जित सहनीले बताए । उनले ज्ञापन पत्रको सुनुवाई नभएपछि ऊर्जामन्त्रीलाई भेट्न मन्त्रालयमै पुग्दा पनि मन्त्रीले समय नदिएको, नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले चाँडै नै यसको सम्बोधन गर्ने भनेपनि एक वर्ष वितिसक्दा पनि सुनुवाई नभएपछि आफूहरु संघर्षमा उत्रन बाध्य भएको बताए ।
माछापालक किसान ईश्वरपुर नगरपालिका ३ का रामनारायण सहनीले अहिले बढाएको विद्युत् महशुल अनुसार माछापालन गर्दा आफूहरुलाई टिक्नै गाह्रो पर्ने दुखेसो पोखे । उनले विद्युत् महशुल बुझाउन नसकेर व्यवसाय नै त्याग्नुपर्ने अवस्था आएपछि सडकमा उत्रिएको बताए । भक्तिपुरकै किसान लक्ष्मीप्रसाद लामिछानेले यसअघि माछापालनका लागि पोखरीमा मोटर चलाउँदा प्रति युनिट तीन रुपियाँ विद्युत् महशुल तिर्दै आइरहेकामा विगत चार÷पाँच महिनादेखि महशुल बढाएर प्रति युनिट १२ रुपियाँ पुयाइएको बताए ।
माग सम्बोधनका लागि पटक पटक डेलिगेसन जाँदासमेत सम्बोधन नभएपछि आन्दोलित भएका किसानलाई यहाँका मुख्य राजनीतिक दलका अगुवाहरुले समर्थन जनाउँदै ऐक्यवद्धता व्यक्त गरेका छन् । उनीहरुले माछा पालक किसान मारमा परेको भन्दै मागलाई यथाशिघ्र सरकारले सम्बोधन गर्नु पर्ने बताएका छन् । किसानका माग प्रति सरकार मौन रहे चरणबद्ध आन्दोलन गर्दै सिंहदरवार घेर्न बाध्य हुने उनीहरुले चेतावनी दिएका छन् ।
माछापालन किसानसँगै प्रदर्शनमा उत्रिएका ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले आफ्नै ठाउँमा माछापालन गरेर आयआर्जनमा लागेका किसानलाई विद्युत् महशुल वृद्धि गरेर अन्याय गरिएको बताए । मेयर आचार्यले माछापालक किसानको माग सम्वोधनका लागि आफू सिंहदरबारमै पुगेर लम्पसार पर्न समेत तयार रहेको जानकारी गराए ।
यहाँ बार्षिक दुई हजार दुई सय मेट्रिक टन माछा उत्पादन हुने गरेको तथ्यांक छ । जसका कारण केही वर्ष अघि सम्म छिमेकी देश भारतबाट आयत हुँदै आएको माछामा भारी मात्रामा कटौती भएको छ । अहिले यहाँ उत्पादन भएका माछा काठमाण्डौँसहित देशका मुख्य सहरहरु सम्म पुग्न थालेका छन् ।
नेपाल विद्युत प्राधिकरणको लालबन्दी वितरण केन्द्रले कृषि मिटर राख्दै आएका माछापालक किसानलाई गएको साउनदेखि उद्योग अन्तर्गत राखेर विद्युत महशुल उठाउँदै आएको छ ।
लालबन्दी वितरण केन्द्रका प्रमुख इन्जिनियर त्रिभुवन यादवले माछापालनका लागि सिँचाई मिटरको प्रयोग गर्न नपाइने बताए । ‘विद्युत् महशुल सङ्कलन विनियमावली २०७८ बमोजिम माछापालनका लागि सिंचाई मिटरको प्रयोग गर्न पाइँदैन,’ वितरण केन्द्र प्रमुख यादवले भने, ‘माछापालन व्यवसायका लागि भनेर बेग्लै मिटर दिने व्यवस्था पनि छैन् त्यसैले हामीले अहिले माछापालक किसानलाई घरेलु कार्यालयबाट कागजात लिएर आएपछि ग्राहस्थ मिटर दिइरहेका छौँ, उहाँहरुले पाउनुभएको कृषि मिटर होईन ।’
इन्जिनियर यादवले सरकारले माछापालनलाई कृषि अन्तर्गत राखेपनि विद्युत प्राधिकरणको नियमावलीमा त्यस्तो उल्लेख नरहेको बताए ।
प्राधिकरणले कृषि मिटरको महशुल प्रति युनिट दुई रपियाँ २५ पैसा लिंदै आएको छ ।
माछा पालक किसानहरुको आन्दोलनमा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, पूर्व सांसाद प्रमोद साह, ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्य, पूर्व मेयर मनोज कुमार देवकोटा, नेपाली काँग्रेस महासमिति सदस्य प्रमोद बराल, नेकपा एमालेका नेता सुशील कुमार थपलिया, माओवादी केन्द्रका नेता लुमडी प्रसाद धिताल(लोचन), लोकेन्द्र मुखियालगायतले आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । माछा किसानले फुलजोर चोकमा करिब पौने घण्टा चक्का जाम गरेका थिए ।
लालबन्दी । सर्लाहीको हरिपुरमा प्रशिक्षकका लागि प्रशिक्षण तालिम ‘The Training of Trainers (ToT)’ सम्पन्न भएको छ । बाल्यकाल देखि नै वित्तिय अनुशासनको विकास गर्दै बाल क्लबका माध्यमबाट बालबालिकामा बचतको संस्कृति विकास गराउने उदेश्यले आयोजना गरिएको तालिमको बिहिवार समापन गरिएको हो ।
सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामिण नारी उत्थान संघ हरिपुरको सहजीकरणमा संचालित समुन्नति परियोजनाले प्रशिक्षकका लागि ५ दिने प्रशिक्षण तालिम आयोजना गरेको थियो । तालिममा हरिपुर नगरपालिकाका नौ वटै वडाका एक वडा एक प्रशिक्षक रहने गरी वित्तीय साक्षरताका लागि सहजकर्ता (प्रक्षिक्षक) तयार गरिएको समुन्नति परियोजनाकी कार्यक्रम अधिकृत सुजाता शर्माले जानकारी दिनुभयो । ९ जना प्रशिक्षक तयार गर्दै सम्पन्न कार्यक्रमको सहजीकरण तथा प्रशिक्षण सेभ द चिल्ड्रेनका बाल संरक्षण शाखाकी प्रसिक्षक कान्ती खडका र दिगो जिविको पार्जनकि प्रशिक्षक नविनराज ज्ञवालीले गर्नु भएको परियोजना संयोजक दिपक भण्डारीले बताउनुभयो ।
तालिममा संस्थाका उपाध्यक्ष बिष्णु चालिसेले सेभ द चिल्ड्रेनको सहयोगमा ग्रामिण नारी उत्थान संघ हरिपुरले बाल विबाह न्यूनीकरण, बालवालिकाको सर्वाङ्गिण विकास, स्वास्थ्य, शिक्षा, पोषण, कृषि आदि क्षेत्रमा कार्य गर्दै आएको बताउनुभएको थियो । उहाँले तालिमले हरिपुर नगरका १४ देखि १८ वर्ष उमेर समुहका किशोर किशोरीलाई बचत गर्ने बानीको विकाससँगै आर्थिक विकास र जीवन समुन्नतिमा टेवा पुर्याउने बिश्वास ब्यक्त गर्नुभयो ।
तालिम ग्रामिण नारी उत्थान संघको सभाहलमा सम्पन्न भएको हो ।
Related Video :
लालबन्दी । बुधबार साँझ सर्लाहीको नवलपुरमा बस र ट्रक आपसमा ठोक्किँदा गम्भीर घाइते भएका ट्रक चालकको मृत्यु भएको छ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका – ३ घर भएका ४३ वर्षीय तोङश्री बहादुर गोलेको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका गोलेलाई उपचारको लागि राति नै वीरगन्ज लगिएको थियो। राति १० बजेतिर वीरगन्जस्थित नारायण अस्पतालमा उनको मृत्यु भएको डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए।
दुर्घटनामा बसमा सवार १० यात्रु घाइते भएका थिए। घाइतेमध्ये ८ जना उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन्।
सिन्धुलीका २५ वर्षीय जीवनप्रसाद गौतम र महोत्तरी बर्दिबासकी अम्बिका कार्कीको भने नवलपुरमा रहेको वीएण्डआर अस्पतालमा उपचार भइरहेको डीएसपी पञ्जियारले बताए।
बुधबार साँझ पूर्वपश्चिम राजमार्गमा पर्ने लालबन्दी नगरपालिका १ नवलपुर बजारमा जनकपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा ४ ख ३२४ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख ४३३ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनापछि बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
लालबन्दी । मोस्टवान्टेड सूचीमा रहेका दुई भारतीय अपराधिलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको छ । सोमबार राति बरहथवा नगरपालिका–६ मगर टोलबाट इलाका प्रहरी कार्यालय बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट सादा पोशाकमा खटिएको प्रहरीको संयुक्त टोलीले २ जना भारतीय फरार अपराधीलाई अमेरिकन पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलि सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत बिहार जिल्ला सितामढ़ी थाना सैयारा ग्राम सैयारा बस्ने लक्ष्मण सिंहको छोरा २८ वर्षीय सन्नी कुमार सिंह र मोतिहारी गंगापिपरा बस्ने अशोक राउतको छोरा २४ वर्षीय जितेन्द्र कुमार राउत रहेका छन् । उनिहरुलाई मंगलबार बिहान १० बजे जिल्ला प्रहरी कार्यालय मलंगवामा पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको हो । बरहथवास्थित स्थानीय रामटहल महतोको घरमा डेरा गरि बसेको भन्ने विशेष सुराकीका आधारमा पुगेको प्रहरी टोली देख्ने बितिकै जितेन्द्र कुमार राउतले आफ्नो साथमा रहेको मेड ईन युएसए लेखेको नौ एमएमको स्वचालित पेस्तोलबाट १ राउण्ड गोली फायर गरेको पत्रकार सम्मेलनमा एसपी ज्ञवालीले जानकारी दिए ।
एसपी ज्ञवालीका अनुसार तत्काल सुरक्षाकर्मीहरुले घेरा हालेर दुवैजना तथा उनिहरुको साथमा रहेको १ थान पेस्तोल, ६ राउण्ड गोली र फायर भएको १ थान खोका समेत बरामद् गरेको थियो । उनिहरुलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय मलंगवा लैजाँदै गर्दा बसबरिया गाउँपालिका–६ पोखरीयाबाट ७०० मिटर अगाडी प्रहरी भ्यानको पछाडीबाट भाग्न सफल भएका राउतलाई प्रहरीले ५ राउण्ड गोली हानेर पुनः नियन्त्रणमा लिएको हो । भाग्ने क्रममा प्रहरीले चलाएको गोली राउतको बाँया घुडा र दाहिने तिघ्रामा २ राउण्ड गोली लागेको थियो । उनलाई प्रादेशिक अस्पताल मलंगवामा उपचार गरि थप उपचारका लागी जनकपुर पठाईएको एसपी ज्ञवालीले बताए ।
राउतलाई लखेट्ने एवं नियन्त्रणमा लिने क्रममा प्रहरी जवानद्वय रमेश विक र दिपेश चौहान लडेर सामान्य घाईते भएको जिप्रकाले जनाएको छ । उनिहरुको साथबाट बिआर ०६ एयु २०१८ नम्बरको भारतीय मोटरसाईकल समेत बरामद् भएको डीएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए । पक्राउ परेका दुवैजना २ वटा कर्तव्य ज्यान, १ ज्यान मार्ने उद्योग र एक लागूऔषध मुद्दामा भारतीय अदालतबाट दोषि करार भई फरार रहेका अपराधि हुन् ।
नेपाली भूमिमा समेत उनिहरुले बैंक तथा सहकारी लुटपाटमा संलग्न भएको तथा कसैको हत्या गर्न ‘सुपारी किलर’ को रुपमा समेत आएको हुनसक्ने आशंका सहित सूक्ष्म ढंगले अनुसन्धान भईरहेको एसपी ज्ञवालीले जानकारी दिए ।।
लालबन्दी । सर्लाहीको लालबन्दी १२ जियाजोरमा संचालित नर्सरी ब्यवस्थापन तालिमको मंगलबार समापन गरिएको छ । ग्रामिण नारी उत्थान संघ हरिपुर २ ले ग्राउण्ड स्वेल ईन्टरनेशनलसँगको साझेदारी अन्तर्गत दिगो कृषि तथा सामाजिक परिचालन कार्यक्रममा संलग्न प्रगतिशील महिला समुह र नयाँ टोल सृजनशिल महिला समुहका सदस्यहरुलाई तालिम प्रदान गरिएको हो ।
तालिममा सहभागी ३८ जनालाई ग्राउण्ड स्वेल ईन्टरनेशनलका प्रतिनिधि नवराज उपाध्याय र ग्रामिण नारी उत्थान संघका कार्यकारी निर्देशक डा. कमल बहादुर थिङ्गले प्रशिक्षण प्रदान गर्नुभएको थियो । तालिममा नर्सरी कसरी तयारी गर्ने, मौसमि तरकारीको बारेमा जानकारी गराउनुका साथै तरकारी नर्सरी तथा बोटबिरुवामा आउने समस्याहरु बारे पनि जानकारी गराइएको थियो । सहभागीलाई नर्सरी निर्माणबारे प्रत्यक्ष अभ्यास गरि सिकाइएको थियो ।
तालिममा सहभागिहरुले अर्गानिक पद्दतिबाट नर्सरी तथा तरकारी खेती गर्ने प्रतिबद्धता समेत जनाएका थिए । तालिममा संस्थाका उपाध्यक्ष बिष्णु चालिसेले सहभागीहरुलाई तालिममा सिकेका कुराहरु ब्यबहारमा लागु गर्न आग्रह गर्नुभएको थियो ।
धेरै मानिसहरु विवाहका लागि मोटाउने वा दुब्लाउने गर्दछन् । विवाहमा आर्कषक देखिन शरीरलाई सन्तुलनमा ल्याउन धेरैले निकै मेहनत गर्दछन् ।तर विवाहपछि भने मानिसहरु शरीरको फिटनेसमा वास्ता गर्दैनन् । त्यसैले पनि अधिकांश मानिस विवाहपछि अस्वभाविक रुपले मोटाउने गर्दछन् । अरु के के कारणले मानिसहरु विवाहपछि मोटाउछन् त ?
१. ब्यायाम नहुनु : विवाहअघि शरीरलाई सन्तुलनमा ल्याउन ब्यायाम गर्नेहरु विवाहपछि भने शारीरिक बनावट, डाइट र फिटनेसमा ध्यान दिँदैनन् । जसका कारण विवाहपछि मानिसहरु अस्वभाविक रुपमा मोटाउने गर्दछन् ।
२. ढिलो विवाह : मानिस मोटाउने उमेर भनेको औसतमा ३० बर्षपछि शुरु हुन्छ । र, आजकाल धेरै मानिस सेटल भएपछि वा ३० बर्षको हाराहारीमा विवाह गर्दछन् । जबकी ३० वर्षको उमेरपछि हाम्रो शरिरमा मेटाबोलिजमको रेट कम हुन गइ तौल बढ्न थाल्छ ।
३. हर्मोनल परिवर्तन : विवाहपछि मानिसको दैनिकी र जीवनशैली परिवर्तन हुन्छ । जसले शरीरमा थुप्रै हर्मोनल परिवर्तन हुन्छन् । जसका कारण मानिसहरु विवाहपछि अस्वभाविक रुपमा मोटाउने गर्दछन् ।
४. अनिन्द्रा : विवाहपछि मानिस मोटाउनुको अर्काे कारण भनेको अनिन्द्रा हो । विवाहपछि मानिस निकै व्यस्त हुने भएकाले उनीहरु पर्याप्त निदाउन पाउँदैनन् । अध्ययन अनुसार नियमित ६ घण्टाभन्दा कम सुत्ने मानिसको शरीरमा मेटाबोलिजम कम हुन्छ, जसको कारणले मानिस मोटाउने गर्दछन् ।
५. तनाव बढ्नु : विवाहपछि मानिसको जीवनमा आएका परिवर्तनहरुले कतिपय विवाहिताहरु तनावमा हुने गर्दछन् । तनावमा भएका मानिसमा भोक ज्यादा हुन्छ र उनीहरु असन्तुलित खानपान गर्दछन् र मोटाउने गर्दछन् ।
६. अन्य कारण : विवाहपछि मानिसहरु भेटघाट तथा घुमघाममा जादा बढी मात्रामा अनेकौं परिकारहरु खानुपर्ने हुन्छ । बाहिरको खानामा क्यालोरीको मात्रा अधिक हुन्छ । साथै, हेभी खानाले स्वतः शरीरको वजन बढाउने गर्दछ ।