लालबन्दी । सर्लाहीको पर्सा  गाउँपालिका कार्यालयमा दुई सातादेखि तालाबन्दी हुँदा कामकाज ठप्प भएको छ । गाउँपालिका कार्यालयमा तालाबन्दी हुँदा सेवाग्राही मारमा परेका छन् । गाउँपालिकाका बहुमत कार्यपालिका सदस्यले १९ बुँदे माग राख्दै फागुन १ गतेदेखि कार्यालयमा तालाबन्दी गरेका हुन् ।

आर्थिक वर्ष २०७९/०८० को आय-व्ययको विवरण उपलब्ध गराउनुपर्ने, शाखा प्रमुखहरूको कामकाज सन्तोषजनक नभएकाले हेरफेर वा आवश्यकता अनुसार हटाउनुपर्ने, स्थायी, करार र दैनिक ज्यालादारी कर्मचारीको नामावली र तलबको विवरण उपलब्ध गराउनुपर्ने, इन्धन खर्चको विवरण उपलब्ध गराउनुपर्ने, २०७४ सालदेखि अहिलेसम्मको पेश्की र बेरुजु फर्स्योट गर्नुपर्ने लगायतका माग तालाबन्दी गर्ने पक्षले राखेका छन् ।

पर्सा गाउँपालिका-२ का वडाअध्यक्ष राकेश रामले आफूहरुले राखेको मागमा सुनवाइ नभएको र तालाबन्दी गरेको दुई साता बितिसक्दा पनि छलफलबाट समस्याको निकास निकाल्न कुनै पहल नभएको बताए ।

प्रमुख प्रशासकीय अधिकृतले हामीले मागेको सूचना कार्यालयको गोपनियतासँग जोडिएको भन्दै दिन मिल्दैन भनिरहेका छन् । जनप्रतिनिधिलाई नै सूचना दिँदा गोपनियता कसरी भंग हुन्छ ?’ वडाध्यक्ष रामले भने, ‘जबसम्म हाम्रो माग सम्वोधन हुँदैन तबसम्म हामी ताल्चा खोल्ने पक्षमा छैनौँ ।’

वडाध्यक्ष रामले सुरुमा कार्यपालिका बैठकबाटै १९ बुँदे माग पूरा गर्ने र बहुमत जनप्रतिनिधिले मागेको सूचना उपलब्ध गराउने निर्णय भए पनि पछि गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत कार्यपालिकाको निर्णयबाट पछि हटेको आरोप लगाए

पर्सा गाउँपालिकामा १५ जनाको कार्यपालिका सदस्य छन् । त्यसमध्ये चार जना वडाध्यक्ष र चार जना सदस्यसहित बहुमत सदस्यले १९ बुँदे माग राखेर गाउँपालिकामा तालाबन्दी गरेको पर्सा गाउँपालिका-४ का वडाध्यक्ष सुवोध राय यादवले जानकारी दिए ।

कार्यालयको मुलगेटमै तालाबन्दी भएपछि कर्मचारी दुई सातादेखि कार्यालयमा आएका छैनन् । पर्सा बजारस्थित गाउँपालिका कार्यालय अगाडि किराना पसल सञ्चालन गर्दै आएका रामईश्वर महतो कोइरीले गाउँपालिका कार्यालय बन्द हुँदा सेवा लिन आउने सेवाग्राही त्यसै फर्किरहेका बताए ।

आन्दोलित पक्षबाट गाउँपालिकामा कार्यरत वन प्राविधिक राजेशप्रसाद यादव, प्रशासन, योजना तथा जिन्सी शाखाका नायब सुब्बा उपेन्द्र राय यादव र सूचना तथा संचार प्रविधि अधिकृत विमलेश रायलाई हटाउनुपर्ने माग अघि सारिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार यादवले संघीय सरकार मातहतका कर्मचारी गाउँपालिकाले हटाउन नसक्ने बताए ।

गाउँपालिकाका अध्यक्ष धिरेन्द्र रायले आफू अहिले व्यक्तिगत काममा व्यस्त भएको र केही दिनभित्रै आन्दोलित जनप्रतिनिधिसँग छलफलमा बसेर समस्या सुल्झाउने बताए। जनप्रतिनिधिले मागेका सूचना प्रदान गर्न र कर्मचारीमा रहेका कमी कमजोरी सुधार गर्न आफू तयार नै रहेको उनले बताए ।

‘म आफ्नै महत्वपूर्ण काममा ब्यस्त भएकाले उनीहरूसँग छलफल गर्न पाएको छैन्, एक साताभित्रै मेरो व्यक्तिगत काम सम्पन्न भएपछि बैठक बोलाउँछु,’ गाउँपालिका अध्यक्ष रायले भने ।

गाउँपालिका कार्यालय बन्द भए पनि  वडा कार्यालय र मातहतका अन्य कार्यालय भने नियमित सञ्चालन भइरहेका छन् ।

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दी ९ बस्तिपुरमा रहेको जनज्योति माध्यमिक विद्यालयद्वारा आयोजित विज्ञान, प्रविधि तथा कला—संस्कृति प्रदर्शनीको उद्धाटन गरिएको छ ।

शुक्रवार र शनिवार चल्ने प्रदर्शनीको सर्लाही क्षेत्र नं. १, (ख) की प्रदेश सभा सदस्य वेची लुंगेलीले उद्धाटन गरेकी हुन । सो अवसरमा प्रदेश सभा सदस्य लुंगेली र लालबन्दी नगरपालिकाका प्रमुख (मेयर) वासुदेव अधिकारीले विद्यालय हाता भित्र हालसालै निर्माण गरिएको ल्याबहरुको रिबन काटेर उद्धाटन गरेका थिए । ‘विद्यार्थीको सीप—विद्यार्थीकै सिर्जना, प्राविधिक र व्यवहारीक ज्ञान जनज्योतिको चाहना’ भन्ने नराका साथ सुरु भएको प्रदर्शनीमा जनज्योति माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्मका वाली विज्ञान, डिप्लोमा, सिभिल र कम्प्युटर अध्ययन गर्ने विद्याथीहरु सहभागि भएका छन् ।

विद्यार्थीहरूले समुह बनाएर निर्माण गरेका विज्ञान, प्रविधि तथा कला-संस्कृतिका सामग्रीहरु ९० भन्दा बढि स्टलमा प्रदर्शनीका लागि राखिएको छ । लालबन्दी नगरपालिका भित्रका ४८ र जिल्लाका सम्पूर्ण नमुना माध्यमिक विद्यालय र संघसंस्थालाई प्रदर्शनी अवलोकनका लागि निमन्त्रणा गरिएको थियो । प्रदर्शनीको २० हजार बढि विद्यार्थी तथा अन्य आगन्तुकहरुले अवलोकन गर्ने अनुमान गरिएको छ । प्रतियोगितात्मक रुप दिइएको प्रदर्शनीमा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद, प्रमाण पत्र र सिल्ड प्रदान गरिने विद्यालयल प्रशासनले जनाएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा सामुदायिक विद्यालय महासंघका केन्द्रिय उपाध्यक्ष बलराम पोखरेलको अध्यक्षता, प्रदेश सभा सदस्य वेची लुंगेलीको प्रमुख अतिथ्यता तथा लालबन्दी नगर प्रमुख वासुदेव अधिकारी र हरिवनका नगर प्रमुख रमेश कुमार बुढाथोकी (कमल)को विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा विद्यालयलका प्रधानाध्यापक विष्णु बहादुर पोखरेलले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा लालबन्दी नगरपालिकाका बिभिन्न वडाका वडाध्यक्षहरु, राजनीनिक दलका नेता कार्यकर्ता, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक, शिक्षिका सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमका बक्ताहरुले सामुदायिक विद्यालयमा समेत यस्तो रचनात्मक कार्यक्रम आयोजना भएकोमा खुसि ब्यक्त गरेका थिए ।

लालबन्दी । सर्लाहीको बरहथवा ९ सोल्टिगेट नजिक ट्याक्टरले च्यापिएर चालकको ज्यान गएको छ । नयाँरोड–मधुवनी सडक खण्ड अन्तर्गतर सडकमा आलु लोड गरि जाँदै गरेको ना२त ७५२५ नम्बरको टयाक्टर पल्टिएको थियो ।

शनिबार बिहान पौने ८ बजेको समयमा भएको दुर्घटनामा परि बारा जिल्लाको पचरौता ५ घर भएका बर्ष ५० को भुवन महतोको मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय मुर्तियाका अनुसार प्रहरीले खबर प्राप्त हुनासाथ ४ जनाको टोली पुगी चालक महतोलाई ह्याप्पि अस्पताल बरहथवा पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

बाराबाट हरिवन बजार आउँदै गरेको ट्याक्टर साँघुरो बाटोको खोल्सि पुलमा पल्टिएको प्रहरीले जनाएको छ ।

सर्लाही । यौन व्यवसायमा संलग्न ४२ प्रतिशत महिलालाई विभिन्न प्रकारका यौन रोगको लक्षण देखिएको एक अध्ययनले देखाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको ‘महिला यौनकर्मीबीच एकीकृत जैविक र व्यावहारिक निगरानी सर्वेक्षण’ मा गरिएको अध्ययनमा ४२ प्रतिशतमा यौन रोगको लक्षण देखिएको पाइएको हो । अध्ययनमा सहभागी अनुसन्धानकर्ता प्रतिमा दवाडीले यौन व्यवसायमा संलग्न महिलाहरूमा एचआईभी/एड्स, हेपाटाइटिस ‘बी’, हेपाटाइटिस ‘सी’ र भिरङ्गीजस्ता रोग देखिएको बताउनुभयो ।

अध्ययनमा यौन रोग लागेका ३४ प्रतिशतले मात्र औषधि सेवन गरिरहेका पाइएको छ । यौन व्यवसायमा लागेका ५५ प्रतिशत महिलाले एचआईभी परीक्षण पनि नगरेको पाइएको छ ।

परिषद्ले पोखरामा गएको वैशाखदेखि असोजसम्म तीन सय ६४ जनामा यौन व्यवसायमा संलग्न महिलामा अध्ययन गरेको थियो । तीमध्ये विवाहित एक सय ६९, अविवाहित ८१ र सम्बन्धविच्छेद गरेका ९९ र विधवा १५ जना थिए ।

परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले धेरै महिलामा एचआईभी/एड्स र शारीरिक सम्बन्धबाट लाग्ने रोगबारे कम जानकारी रहेको पाएको बताउनुभयो । अध्ययनमा धेरैले परिवार पाल्नका लागि यौन व्यवसायमा आबद्ध भएको बताएका अनुसन्धानकर्ता दवाडीको भनाइ छ । अध्ययनमा यौन व्यवसायमा संलग्न ६० प्रतिशतभन्दा बढीले जाँड–रक्सी पिउने गरेको पाइएको छ ।

सर्लाही । नेकपा माओवादी केन्द्रले सबै तहको कमिटी प्रत्यक्ष निर्वाचनबाट निर्वाचित गर्ने भएको छ । माओवादी केन्द्रको हिजो सकिएको विधान अधिवेशनले पार्टीको सबै कमिटी प्रत्यक्ष निर्वाचनबाट निर्वाचित गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीले प्रत्यक्ष निर्वाचनको ढोका खोलेको बताउनुभयो।  उहाँले पदाधिकारीमा भने केन्द्रीय कमिटीको निर्वाचनपछि मात्रै निर्वाचन गरिने जानकारी दिनुभयो। केन्द्रीय कमिटीले पदाधिकारी निर्वाचित गर्ने उहाँको भनाइ छ।

त्यस्तै, विधान अधिवेशनले केन्द्रीय समिति १९९ जनाको र पदाधिकारी ११ जनाको बनाउने निर्णय गरेको छ। प्रवक्ता सापकोटाले विधानलाई छोटो बनाउँदै सबै कुरालाई नियमावलीमा स्पष्ट पार्ने निर्णय भएको बताउनुभयो ।

अधिवेशनले पार्टीको नाम र चुनाव चिह्न तत्काल नफेर्ने तर सन्दर्भ आएपछि फेर्न सकिने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।

एजेन्सि । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।

मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयाेग हुँदै आएका गधा चाेरी हुन थालेपछि अफ्रिकाका गरिब  र ग्रामीण समुदायका नागरिक समस्यामा परेका बीबीसीले जनाएको छ ।

एक अध्ययनअनुसार अवैध रुपमा गधा चोरेर छाला निकाली व्यापार हुने गरेकाे पाइएको छ ।

चीनमा गधाको छालामा जिलेटिन मिसाएर इजियो नामको परम्परागत औषधि बनाउने गरिएकाे अध्ययनमा उल्लेख छ ।  यो औषधि स्वस्थ शरीर र युवाको ऊर्जा बचाउन प्रयोग हुने गरेको छ । गधाको छालाकाे अवैध व्यापारविरुद्ध यसअघि सन् २०१७ मै अभियान चलाए पनि प्रभावकारी हुन सकेको छैन ।

अभियानकर्ताहरुका अनुसार प्रत्येक वर्ष विश्वव्यापी रूपमा कम्तीमा ५ दशमलव ९ मिलियन गधा चीनमा आपूर्तिकै  लागि मार्ने गरिन्छ । अफ्रिकामा विश्वको ५३ मिलियन गधामध्ये दुई तिहाई गधा रहेका बीबीसीमा उल्लेख छ ।

सर्लाही । सरकारले पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढाएको छ । गएरातिदेखि नै लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ लिटरमा दुुई/दुुई रुपैयाँले बढाएको हो । नयाँ मूल्य विभिन्न ठाउँअनुसार फरक हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ ।

पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६९ रूपैयाँ ५० पैसा तथा डिजल र मट्टीतेलको भाउ लिटरको १५७ रूपैयाँ ५० पैसा भएको छ ।

त्यस्तै, दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ लिटरको १७१ रूपैयाँ तथा डिजल र मट्टीतेलको भाउ लिटरको १५९ रूपैयाँ पुुगेको छ ।

यस्तै, तेस्रो वर्गअन्तर्गत काठमाण्डाै, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ लिटरको १७२ रूपैयाँ तथा डिजल र मट्टीतेलको लिटरको १६० रूपैयाँ पुुगेको छ । खाना पकाउने ग्यासको भाउ भने यसअघि जस्तै सिलिण्डरको १ हजार ९ सय १० रूपैयाँ नै कायम छ । हवाई इन्धनको भाउ पनि यथावत रहेको निगमले जनाएको छ ।

सर्लाही । एसीसी महिला प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले आज शुक्रबार घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे मलेसियाकाे बायोमास ओभलमा शुरु हुनेछ । खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ ।

यसअघि नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल खेल्न लागेका हुन् ।

एसिया कपमा महिला प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्का हुनेछन् ।

हरिवन नगरपालिका वडा नम्बर १ कोठीखोला गोले डाँडाका गुनिलाल गोले बेलुकाको खानामा चामल प्रयोग गर्दैनन्, बरु सखरखण्ड, पिँडालु, तरुल र कोदोरफापरको रोटी खान्छु भन्छन् । गोले बेलुकाको खानामा कोदो र फापर तथा अन्य रैथाने परिकार खान्छन्, जसले उनको शरीरलाई फाइदा पुगेको छ ।

रैथाने खानपानलाई अनुसरण गर्ने गोले एक जना प्रतिनीधि पात्र मात्रै हुन् । यतिबेला गाउँदेखि सहरिया भान्सामा चामल प्रयोग नगर्नेको संख्या दिनानुदिन बढ्दै गएको छ । बरहथवा नगरपालिका वडा नम्बर २ झिंगाइका सुबाइ मुखिया सम्झन्छन्, ‘आज भन्दा बीस बर्ष अगाडिसम्म गाउँ घरमा हरेक साँझ दुध रोटीरअलुवा दुधर हरिया मकै, पिँडालु, फर्सी, आलु , भुटेका मकैको भोजन हुन्थ्यो तर अहिले सम्पन्नताका नाममा खान्की तथा चालचलन, साँस्कृतिक रुपमा परिवर्तन भएको छ ।’

बाली बिज्ञ तथा हरिवन नगरपालिकाका कृषि अधिकृत प्रबिन तामाङ भन्छन् ‘मानिसकोस्वास्थ्य लाई सधैंभरी तन्दुरुस्त राख्ने रैथाने  बाली खाद्य तथा पोषण सुरक्षाका लागि महत्वपूर्ण मानिन्छ । कोदोमा चामलको भन्दा पैँतिस गुणा बढी क्याल्सियम पाइन्छ भने यसको प्रयोगले कुपोषण घटाउनुका साथै चिनी रोग लाग्न दिँदैन । लागेकालाई पनि रोकथाम गर्छ ।’ जलबायु परिवर्तन अनुकुलित रैथाने बाली हाम्रा लागि बरदान हुन् । हाम्रा बनजंगल, भिर पाखा, खाली मैदान, खोल्सा/खाल्सीमा प्रचुर रुपमा उत्पादन हुने फसल हाम्रा लागि बरदान हुन् तर हामीले कुरा नबुझेका कारण समस्या भएको तामाङको भनाइ छ ।

हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी आफु रैथाले बाली तर्फ जनतालाई आकर्षित गर्ने कार्यमा योजनाबद्ध ढंगबाट लागेको बताउँछन् । बुढाथोकी भन्छन् ‘कोदो, फापर, जुनेलो लगायतका बाली लागाउने किसानका लागि सहुलियत दिने तर्फ नगरपालिकाले सोँचेको छ । अझ चुरे तर्फ स्कुस, तरुल, पिंडालु, फुल तरुल, सिमल तरुल लगाउन किसानलाई प्रोत्साहित गर्ने तर्फ पनि सोँचिरहेको बुढाथोकीको भनाइ छ । नेपाल सरकारले स्थानीय रैथाने बालीलाई संरक्षण गर्न भनेर रैथाने बाली प्रबर्द्धन कार्यक्रम ल्याएको छ । सरकारले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर यो बालीलाई प्रचार प्रसारमा लैजाने रणनीति अख्तियार गरेको बुढाथोकीले सुनाए ।

बिगतका दिनमा मन्सुली चामलको भात खान मधेस झरेका किसान यतिबेला कोदो, फापर र सखरखण्ड खान पहाड चड्न थालेका हरिवन ९, का अगुवा किसान रामशरण उप्रेती बताउँछन् । हिजोका दिनमा कोदो र फापर खानेलाई गरिब भनेर बिभेद गर्नेहरु यतिबेला त्यही खानालाई अमृत सम्झेर प्रयोग गर्न थालेका उप्रेतीको भनाइ छ । प्रबिधिको बिकाससँगै नेपाल जब अन्तराष्ट्रिय ब्यापारमा जोडियो त्यसपछिका दिनहरू रैथाने बालीका लागि अफापसिद्द भयो तर रैथाने बालीको प्रयोग सिंगो मानव जीवनको स्वास्थ्यसँग जोडिएको हुँदा यसको महत्व हामीलाई कति छ भन्ने कुरा चाहिँ धेरैपछि आएर हाम्रा चेतनामा समाहित भयो ।

रैथाने बाली भन्नाले त्यस्ता प्रजाति हुन्– जुन पञ्जीकरण वा व्यवसायीकरण नगरिएको भन्ने बुझ्न सकिन्छ । सामान्यतया रैथाने प्रजातिहरू अन्य बाली सरह नै हुन्  तर, बाली प्रजनन अनुसन्धानका लागि मूल्यवान् मानिन्छन्, बाली बिज्ञ तथा हरिवन नगरपालिकाका कृषि अधिकृत तामाङले भने ।

नेपाल जैविक विविधताले धनी देश मानिन्छ । भू(बनोट, हावापानी तथा यहाँको विविध प्राचीन खेती प्रणाली बिश्वका लागि लोभलाग्दो मानिन्छ । जुन हाम्रा लागि पनि अनुकरणीय छ । हाम्रा गाउँका जैविक उत्पादनलाई हामीले संरक्षण गर्नु पर्दछ । कृषि पर्यावरणीय चक्र भत्किँदा आधुनिक खेती प्रणालीका नकारात्मक अभ्यास र अन्य मानवसिर्जित कारणले समग्र जैविक विविधता ह्रास हुँदै गएको छ ।

हाम्रो रैथाने कृषि जैविक विविधतामा पर्ने अन्न, घाँसे बाली, पशुपन्छी आदिको संरक्षणमा हाम्रो स्वास्थ्य दायित्व अग्रसर हुनु आवश्यक छ ।

इश्वरपुर निवासी मौरी बिज्ञ तथा मह ब्यबसायी हेमराज देबकोटा भन्छन् ‘परम्परागत बालिनालीको सही सदुपयोग गर्न सक्ने हो भने मात्रै पनि मान्छेलाई स्वस्थ जीवन बाँच्न सहयोग पुग्ने छ । रैथाने बालीसँग हाम्रा पुर्खाको गहिरो सम्बन्ध रहेको र सांस्कृतिक रुपमा पनि अन्तर्राष्ट्रिय स्तरमा हाम्रो पहिचान स्थापित हुने तर्फ सबैको चासो हुनु पर्दछ ।’

लालबन्दी । सर्लाहीको लालबन्दीमा प्रथम लालबन्दी महोत्स हुने भएको छ । उद्योग वाणिज्य संघ लालबन्दीले मंगलवार पत्रकार सम्मेलन गरी महोत्स बारे जानकारी गराएको हो । उद्योग वाणिज्य संघ लालबन्दी आयोजक रहेको महोत्सव फागुन १० गते देखि १९ गतेसम्म लालबन्दी – ६ स्थित राधाकृष्ण खेलमैदान हुने उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्र मकुमार बलम्पाकीले जानकारी दिए ।

“कृषि, पर्यटन, व्यापार , स्वरोजगार,आत्मनिर्भरताको आधार” भन्ने महोत्सवको मूल नारा रहेको छ ।

आर्थिक चहलपहल बढाउन,लालबन्दी विकास र परिचयको लागी महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष बलम्पाकीले पत्रकार सम्मेलनमा बताए । औद्योगिक शान्ती नेपाल र संयुक्त नेपाल मेला महोत्सव गुप प्रा.लि.को व्यवस्थापनमा महोत्सवमा अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारबाट प्रस्तुति रहने बलम्पाकीले जानकारी दिए । करिब ७१ लाख लगत अनुमान गरिएको महोत्सवमा झण्डै ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

महोत्सवमा स्थानीय कृषि उपजका स्टलहरूलाई निशुल्क, उद्योग वाणिज्य सङ्घमा आवद्धलाई सात हजार रुपियाँ र बाहिरका व्यवसायीलाई १२ हजार रुपियाँ शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ । आयोजकले महोत्सव अवलोकन गर्न आउने शारीरिक अशक्त र ज्येष्ठ नागरिक लाई प्रवेश निस्शुल्क गरिए पनि ,विद्यार्थीलाई ५० रुपियाँ र अन्य सर्वसाधारणलाई ७० रुपियाँ टिकट शुल्क निर्धारण गरेको छ ।

महोत्सवको लालबन्दी नगरपालिको संरक्षक तथा नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं र उद्योग वाणिज्य महासंघ मधेस प्रदेश सहयोगी रहेका आयोजक उद्योग वाणिज्य संघ लालबन्दीले जनाएको छ । आयोजकले महोत्सवमा सफल बनाउन अध्यक्ष दिपेन्द्र कुमार बलम्पाकी संयोजकत्वमा, निवर्तमान अध्यक्ष कल्याण कुमार जोशि र सूर्य बहादुर श्रेष्ठ सदस्य रहने गरि कार्य विभाजन गरेको जनाएको छ । उपाध्यक्ष प्रदिप भट्टराई संयोजक रहने गरि राम प्रसाद देवकोटा चुडामणी उप्रेति र,बिक्रम खड्का चिवालय व्यवस्थापनको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै समञ्च व्यवस्थापनको लागि अनु हाडाको संयोजकत्वमा कमला थापा ,राजकुमार चौधरी सदस्य रहेको उप समिति बनाएको छ । त्यस्तै प्रायोजत व्यवस्थापनका लागि सुवास दाहालको संयोजकत्वका उपसमिति बनाइएको आयोजकले जनाएको छ । जसको सदस्यहरूका बिक्रम खड्क, नागेन्द्र साह, भरत दाहाल र दिनेश पाठक रहेका छन् ।

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते