क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दीमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको नगरभेला सम्पन्न भएको छ । बिहिवार दिउँसो लालबन्दी ६ मा रहेको नगरपालिकाको पुरानो सभाहलमा कार्यक्रम भएको हो ।
माओवादीले यहि १६ गत्ते शनिवारबाट संचालन गर्न लागेको ३ महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ लाई सफल पार्नका लागी तयारी नगरभेला गरेको हो । भेलाले लालबन्दी नगरको १७ वटै वडामा कार्यक्रम संयोजक तोकेको छ । माओवादी केन्द्रको लालबन्दी नगर कमिटिको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता लालबन्दी नगर कमिटिका अध्यक्ष लेखराम जर्गा मगरले गर्नुभएको थियो ।
पार्टी केन्द्रिय सदस्य सिता दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लालबन्दी नगर कमिटिका पदाधिकारीहरु, वाईसियल केन्द्रिय सचिव समिर बराईली, पार्टबाट निर्वाचित जनप्रतिनिधिहरु, पार्टी नेताहरु राम बहादुर चौधरी, कृष्ण गौतम, केशव ढुंगाना लगाएतको आतिथ्यता रहेको थियो । कमिटिका सिमित पदाधिकारीको मात्रै उपस्थिती रहेको कार्यक्रममा प्रमुख अतिथी सिता दाहालले कार्यक्रमको औचित्यको बारेमा प्रस्ट्याउनु भएको थियो ।
नेता कृष्ण गौतम, देव नारायण महतो, राजु बुडाथोकी, कमला सेवासहित ७ जनाको अनुगमन समिति समेत बनाईएको कार्यक्रममार्फत १७ वटै वडाका लागी कार्यक्रम संयोजक तोकिएको छ । माओवादीको अभियान तयारीका लागी बसेको नगर कमिटिको बैठकले वडा नम्बर १ मा किरण पासवान, २ मा केशव ढुंगाना, ३ मा केम कार्कि, ४ मा श्याम श्रेष्ठ, ५ मा शिवराज धमलालाई कार्यक्रमको जिम्मेवारी दिएको छ ।
त्यसैगरि वडा नम्बर ६ मा सुमित्रा श्रेष्ठ, ७ मा राम नारायण चौधरी, ८ मा शुक्र लामा, ९ मा गणेश थापा, १० मा गोरख बल, ११ मा दुर्गा आले, १२ मा लेखराम जर्गा मगरले जिम्मेवारी पाएका छन । वडा नम्बर १३ मा श्याम श्रेष्ठ र सुमित्रा श्रेष्ठ, १४ मा पेमा लो, बिष्णु अधिकारी, १५ मा बिष्णु अधिकारी, १६ मा सिबा दाहाल र १७ मा समिर बराईलाई जिम्मेवारी प्रदान गरिएको कार्यक्रम संचालक एवं माओवादी लालबन्दी नगर कमिटिका सह–सचीव हेम कार्किले बताउनुभयो ।
पार्टीका केन्दिय अध्यक्ष एवं प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले भर्चुअल माध्यमबाट देशभर एकैसाथ उद्घाटन गर्ने अभयानको लागी जिल्लामा ब्यापक तयारी गरिएको माओवादी सर्लाहीले जनाएको छ ।
काठमाडौं : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए। त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ।
यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक कृष्ण प्रसाद अधिकारीले जानकारी दिए।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ।
आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ। यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ।
यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन्। यसलाई श्रावणी स्नान पनि भनिन्छ।
स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ। अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो।
वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो समेत भनिन्छ। रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत बागमती नदीको किनार र काठमाडौं उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ।
जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ। यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ।
विभिन्न थरी गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा शेषराज आचार्य बताउँछन्। यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उनको भनाइ छ।
नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ। यसबाट दिदी बहिनी र दाजुभाईका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ। काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुकल पूर्णिमा दिन बिहानैदेखि मेला लाग्ने गर्दछ।
क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दीमा मंगलवार ‘जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान’ अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सर्लाहीको आयोजनामा लालबन्दी ७ स्थित लालबन्दी पार्टी प्यालेसको सभाहलमा कार्यक्रम भएको हो । पार्टीको केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज राजु खड्काको अध्यक्षता तथा केन्द्रिय सचिव एवं मधेश प्रदेस ईन्चार्ज लिलामणि पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको पार्टीले जनाएको छ ।
कार्यक्रममा महोत्तरी ईन्चार्ज अच्युतम काफ्ले, केन्द्रिय सुसासन आयोगकी सशिकला दाहाल, केन्द्रिय सदस्य दिप बहादुर योञ्जन, केन्द्रिय सदस्य सिता दाहाल लगाएतको सहभागीता रहेको थियो ।
माओवादीले यहि भदौ १६ गतेदेखि मंसिर २५ सम्म सातै प्रदेशका सबै वडामा बिशेष कार्यक्रम गर्दैछ ।
हाल माओवादीले सोहि कार्यक्रमको सफलताको लागी बिभिन्न बृहत तयारीका कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
हरिवन । साहसी नेपाल नामक गैर सरकारी संस्थाको आयोजनामा यूवाहरुलाई ४ दिने पब्लिक स्पिकिङ तालिम प्रदान गरिएको छ । हरिवन नगरपालिकाको समन्वयमा संचालित युवाहरुलाई ४ दिने पब्लिक स्पिकिङ अर्थात सार्वजनिक भाषण तालिम मंगलावार समापन गरिएको हो ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा हेल्भेटास नेपाल र सहयोगि समाज नेपालको सहजिकरणमा तालिम सम्पन्न भएको हो । तालिम गत भाद्र ९ गते देखी १२ गते सम्म संचालन भएको आयोजक संस्थाका प्रवन्धनिर्देशक सन्तोष गदालले जानकारी दिए । स्थानीय शासन प्रकृयामा युवा संलग्नता प्रर्वद्धन(प्रोयल) परियोजनाको तेस्रो पक्षिय वित्तिय सहयोग उप–परियोजना अन्तरगत साहसी नेपालले स्थानीय सरकारको लागि युवा परियोजना कार्यन्वयन गरिरेहको हो । सोही अन्तरगत ४ दिने पब्लिक स्पिकिङ(सार्वजनिक भाषण) कार्यक्रम सम्पन्न गरिएको साहसी नेपालकी अध्यक्ष पबित्रा माझीले जानकारी दिईन् ।
तालिममा हरिवन नगरपालिका वडा नम्बर ६ देखी ११ सम्मका छनौटमा परेका २३ जना युवाहरु सहभागि थिए । उनीहरुलाई पत्रकार श्रवण थापाले मुख्य प्रशिक्षकको रुपमा सहजीकरण गरेका थिए । पब्लिक स्पिकिङ तालिमबाट आवश्यक पर्दा आफ्ना कुरा निर्धकका साथ हजारौको माझमा राख्ने बानीको बिकास भएको सहभागिहरुकोे प्रतिकृया छ । यस संस्थाले परियोजना अन्तरगत युवाहरुलाई यस पहिला नेतृत्व विकास तालिम समेत प्रदान गरेको थियो ।
उक्त तालिममा अनुभवी प्रशिक्षक नारायण खपाङ्गीले सहजीकरण गरेका थिए । परियोजना अन्तरगत संस्थाले युवाहरुलाई राजनीतिक साक्षरता सम्बन्धी तालिम समेत प्रदान गर्ने तयारी समेत गरेको जनाएको छ । मंगलवार आयोजित समापन समारोहमा सहजकर्ता संस्था सहयोगी समाज नेपाल हरिवनकी प्रादेशिक प्रमुख निरमा चौधरीको प्रमुख आतिथ्यतामा सहभागिहरुलाई प्रमाण–पत्र समेत वितरण गरिएको आयोजकले जनाएको हो ।
स्थानीय सरकारमा युवा सहभागिता आजको आवश्यक्ता रहेको कार्यक्रमका अधिकांस सहभागि युवाहरुको जोड थियो ।
नेकपा एमाले लालबन्दी नगर कमिटिको अध्यक्षमा युवा नेता सरोज न्यौपाने चयन भएका छन ।
नगर कमिटिको उपाध्यक्षमा दिपक लामा, सचिवमा कुल प्रसाद गौतम (शिवहरी), उपसचिवमा द्वय बर्षा लामा र सन्तोष राज रौनियार चयन भएका छन ।
नेकपा एमाले जिल्ला कमिटि सर्लाहीले केहिदिन अघि गरेको निर्णय अनुसार अहिले बिभिन्न कमिटिहरुमा युवालाई बिशेष प्राथमिकता दिने कार्य भएको उक्त पार्टीले जनाएको छ ।
लालबन्दी नगर कमिटि पूर्व अध्यक्ष बिक्रम भण्डारीका अनुसार बाँकी पदाधिकारी पार्टीको अर्को बैठकबाट टुंगो लगाइने छ । भण्डारीसहित युवा नेता उज्वल कार्की, महोन भण्डारी लगायत जिल्ला कार्यसमिति सदस्यमा मनोनित भएका छन ।
नेकपा एमालेले सर्लाही जिल्ला कमिटि १ सय ७५ जनाको बनाएको छ ।
बागमती । सर्लाहीको बागमतीमा रहेको श्री जनवाल कल्याण माद्यामिक बिद्यालय धरहराले दाता सम्मान तथा छात्रबृती वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार बागमती नगरपालिका–२, स्थित धरहरामा रहेको उक्त बिद्यालयले एक भब्य समारोहको विच दाता सम्मान गरेको हो । मधेश प्रदेश सभा सांसद जवाहरलाल कुशवाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम बिद्यालयलाई सघन पोषाक तथा अन्य ब्यवस्थापनमा सहयोग गर्ने ५३ जना सहयोगी दाताहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो ।
साथै बिद्यालयले सोही कार्यक्रमका विच रुद्रदिप स्मृती छात्रबृती वितरण तथा एसईईमा उत्कृष्ठ नतिजा ल्याउने बिद्यार्थी सम्मान समेत गरेको जनाएको छ । आन्तरिक आयश्रोतको माध्यम नभएको यस बिध्यालयले शैक्षिकगुणस्तर सुधारका लागि दाताहरुबाट आर्थिक संकलन गरेको थियो । सोही दाताहरुलाई सम्मान गरिएको बिध्यालय ब्यवस्थापन समिति अध्यक्ष टंक बहादुर बोहराले जानकारी दिए ।
बिध्यालय ब्यवस्थापन समितिको अगुवाईमा ५३ जना दाताहरुबाट ६ लाख ८३ हजार ७ सय ६९ रुपैया संकलन भएको बिध्यालय ब्यवस्थापन समिति अध्यक्ष बोहराले जानकारी दिए । त्यस मध्य बिद्यालयले ४ लाख ८७ हजार ५ सय रुपैयामा छात्रछात्राहरुको लागि सदन पोषाक खरिद गरिएको र २९ हजार रुपैयामा बिद्यालयको बाल कक्षा ब्यवस्थापन खर्च गरेको उल्लेख गरेको छ ।
यस्तै संकलित रकमबाट बाँकी एक लाख ६७ हजार दुई सय ३९ रुपैया बिद्यालयको नाममा नेपाल बैक हरिवन शाखामा रहेको खातामा मौजाद रहेको बिद्यालय ब्यवस्थापन समितिले जनाएको हो । खरिद गरिएको बिद्यालयको सदन पोषाक छात्रछात्राहरुलाई निःशुल्क वितरण गरिएको बिद्यालयका प्रधानाध्यापक प्रकाश बहादुर जिम्बाले जानकारी दिए ।
यस्तै बिद्यालयले सोही अवसरमा बिद्यालयका शिक्षक शिक्षिकालाई सम्मान तथा ७ जना शिक्षक शिक्षिकाहरुलाई विदाई समेत गरेको जनाएको छ । बिद्यालयले गत शैक्षिक सत्रमा एसईईमा उत्कृष्ठ नतिजा ल्याउन सफल एक छात्रलाई साईकल पुरस्कार वितरण गरेको थियो । भने, बिद्यालयका दुई उत्कृष्ठ छात्रछात्रा स्मृती बोहरा र रितेश धनुकीलाई रुद्रदीप स्मृती अक्षयकोष पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।
बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको बिशिष्ठ आतिथ्यता रहेको कार्यक्रममा उपमेयर लिला कुमारी मोक्तान, स्थानीय तथा सहयोगि डाक्टर उमेश दहाल, बागमती नगर शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्याय, शिक्षा अभियन्ता अभिषेक घिमिरे, बागमती वडानम्बर २ का वडाध्यक्ष टेक बहादुर बल, ३ का वडाध्यक्ष तिलक मोक्तान, शिक्षा संयोजक राज कुमार बिश्वकर्मा लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा छात्रछात्राहरुले बिद्यालय र बालबालिका प्रति अभिभावकले खेल्नुपर्ने भुमिका बिषयक नाटक तथा नृत्य समेत प्रस्तुत गरेका थिए । यस बिद्यालयले पछिल्लो समय बालबालिकाको सिप विकासका लागि विभिन्न गतिविधि संचालन गर्दै आएको छ ।
क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दीमा सोमबार साँझ राप्रपा लालबन्दीले राँके जुलुस प्रदर्शन गरेको छ ।
पार्टीको नगर जिल्ला अध्यक्ष सत्य नारायण यादवको नेतृत्वको समुहले वडा नम्बर ६ स्थित जनवादी चोकबाट पश्चिमतर्फ राँको बालेर अगाडि बढेको थियो । देशकोे राष्ट्रिय जनावर गाई एवं हिन्दु सनातनीको गौमाता आस्थालाई हत्या गर्न पाईंदैन, पुर्वमा भएको अवैधानिक कृयाकलापमा संलग्नहरुलाई कडा भन्दा कडा कारवाहि गरियोस भनेर राप्रपा लालबन्दीले राँके जुलुस प्रदर्शन गरेको प्रजातान्त्रीक महिला संगठनको केन्द्रिय सदस्य संगीता खतिवडा/दाहालले जानकारी दिनुभयो ।
जनवादी चोकबाट पश्चिम राँको बालेर अगाडि बढेको जुलुसलाई प्रहरीले रोकेपछि कुमारी बैंक अगाडि पुगरे कोणसभामा परिणत भएको थियो । कोणसभाका बक्ताहरुले धरानमा भएको कुकृत्यमा संलग्नहरुलाई अबिलम्व कारवाहि गर्नुपर्ने धारणा राखेका थिए ।
क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर २ मा रहेको श्री पाँचकुमारी प्राविमा आइतबार सेनाले विद्यार्थीको स्वास्थ्य परीक्षण गरेको छ ।
नजिकै रहेको सेनाको भैरबी दल गणले मध्य पूर्वी पृतना हेडक्वाटरकाे अवधारणा ‘ONE UNIT ONE SCHOOL SUPPORT’ कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत १८२ जनाको स्वास्थ्य परीक्षण गरेको हो । सेनाको चिकित्सक टोलिले विद्यार्थीको कान र आँखा परीक्षण गर्नुका साथै तौल तथा उचाई मापन गरेको थियो भने उनीहरुलाई जुकालगायतको औसधिसमेत प्रदान गरेको थियो ।
स्वास्थ्य परीक्षण गर्न फिल्ड अस्पताल बर्दिबासबाट प्राविधिक प्रमुख सेनानी डा. कविता कर्माचार्यसहितको मेडिकल टिम आएको थियो । त्यसैगरी गणको मेडिकल जनशक्ति पनि स्वास्थ्य परीक्षणमा खटिएका थिए ।
कार्यक्रममा भैरबी दलका गणपति प्रमुख सेनानी सुर्यबहादुर कार्की, वडाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, विद्यालयका शिक्षक लगाएत सहभागी थिए । बिहान पौने ११ बजेदेखि आयोजना गरिएको स्वास्थ्य परीक्षण कार्यक्रम अपरान्ह पौने चार बजेसम्म संचालन भएको थियो ।
स्वास्थ्य परीक्षणसँगै विद्यार्थीलाई स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम पनि संचालन गरिएको थियो । सेनाले चलाएको स्वास्थ्य परीक्षण कार्यक्रबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लाभान्वित भएका थिए । स्वास्थ्य सचेतना कार्यक्रम पनि गरिएकाले विद्यार्थीले घरमा आफ्ना अभिभावलाई स्वस्थ रहन प्रेरित गर्ने अपेक्षा गरिएको सेनाले बताएको छ ।
सेनाले सो बिद्यालयमा यस अघि पनि कार्यक्रम गरि विद्यार्थीहरुलाई सहयोग गरेको थियो ।
- क्षितिज विश्वकर्मा, सर्लाही ।
गायक सन्तोष दाहालको ‘उडायो सपना’ बोलको आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक दाहालको शब्द, संगीत तथा स्वरमा जिनियस म्युजिक कम्पनीबाट म्युजिक भिडियो सार्वजनिक भएको हो । अडियो भने केहि दिन अघि नै म्युजिक नेपालले सार्वजनिक गरेको थियो ।
दाहालले नेपालमै पहिलो पटक राति जोगीले बजाउने फेरीबाजाको प्रयोग गरेर गीत सार्वजनिक गरेको दाबि गरेका छन । उनले हालसम्म यो बाजा प्रयोग गरि कुनै पनि संगीत सिर्जना नगरिएको बताए ।
करिव एक दर्जन गीत सार्वजनिक गरिसकेका दाहालको ‘मेचीको कसम, कालिको कसम’ बोलको स्वदेस गीत र ‘मिडिया रे’ बोलको गीत अत्यधिक चर्चामा छन ।
दाहालको ‘उडायो सपना’ बोलको गीत सुन्न र हेर्न यहाँ तलको लिंकमा क्लिक गर्नुहोस ।
- लालबन्दी, सर्लाही ।
लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–०८० का लागि छनोट भएका १० कृतिको नाम लालबन्दी नगर वाङ्मय परिषद्ले सार्वजनिक गरेको छ । भाषा, कला, साहित्य, संगीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित परिषद्ले पुरस्कारका लागि छनोट गरेको सूची सार्वजनिक गरेको हो ।
स्वतन्त्र विज्ञहरूसहितको सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा रञ्जना निरौलाको ‘अनुभूतिको अवतरण’, सिम्रन क्षेत्रीको ‘झुमर’, दामोदर पुडासैनी किशोरको ‘डोल्पो ओ डोल्पो’, रमेश क्षितिजको ‘पर्वत पर्वतमा बटुवा घाम’, सन्तोष श्रेष्ठको ‘फरैना’, रामलाल जोशीको ‘बाआमा’, प्रोल्लास सिन्धुलीयको ‘भग्न भैरव’, युवराज नयाँघरेको ‘याकजी’, विदुर चालिसेको ‘लघुकथालय’ र अशोक थापाको ‘सन्तापको धून’ परेको परिषद्ले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
वाङ्मय परिषद्लाई प्राप्त १४५ कृतिमध्ये सम्मान तथा पुरस्कार छनोट समितिले छनोट गरी सूचीकृत गरेका १० कृतिमध्ये उत्कृष्ट एक कृतिलाई वाङ्मय परिषद्ले पुरस्कृत गर्ने बताइएको छ ।
सम्मान तथा पुरस्कार छनोट समितिले १० कृतिमध्ये पुनः एक उत्कृष्ट कृति सिफारिस गरेपछि उक्त कृतिलाई ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–०८०’ प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । पुरस्कारको राशि ५० हजार रुपैयाँ छ ।
यस अघि पहिलोपटक परिषदले गतबर्ष नवराज लम्सालको ‘अग्नी’लाई सम्मान गरेको थियो भने स्थानिय प्रतिभा पुरस्कार पत्रकार क्षितिज विश्वकर्माले प्राप्त गरेका थिए ।