लालबन्दी : सर्लाहीको हरिपुर ८ ईन्द्रपुरमा रहेको एक विद्यालयमा आईतवार बिहान ५० थान स्कुल ब्याग वितरण गरिएको छ ।
लायन्स क्लब अफ लालबन्दी सेन्चुरिले स्थानीय ईन्द्रपुर युवा क्लबसँगको समन्वयमा ईन्द्रपुर जनता प्राबिका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको हो । अभिभावक, शिक्षक शिक्षिका, एवं स्थानीय समाजसेवी बुद्धिजीवीको उपस्थितिमा विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको क्लबले जनाएको छ ।
ईन्द्रपुर युवा क्लबका अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षता तथा लायन्स क्लब अफ लालबन्दी सेन्चुरिका अध्यक्ष गोपाल बहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा भएको ब्याग वितरण कार्यक्रममा क्लबका साकार शर्मा चौलागाईं, विश्वकृष्ण थापा, सन्तोष आचार्य, मेची महाकाली संयुक्त बुहारी आवाजकी सर्लाही संयोजक रमा काफ्ले, सचिव अम्बिका राउत, विद्यालयका प्रधानाध्यापक महेन्द्र गिरि, ब्यबस्थापन समितिका पदाधिकारी, शिक्षा प्रेमीहरुसहित पत्रकार क्षितिज विश्वकर्माको आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लब अफ सेन्चुरिका अध्यक्ष श्रेष्ठले विद्यालयमा दोश्रो पटक सेवा गर्ने मौका पाएकोमा खुसी ब्यक्त गर्नुभएको थियो । श्रेष्ठले आउँदो असारमा विद्यालयमा बृक्षारोपण गर्न चाहेको र क्लबले विद्यालयलाई सुन्दर बनाउनका लागि बृक्षारोपण गर्ने तर त्यसलाई हुर्काउने बढाउने जिम्मा विद्यालयकै भएको बताउनु भएको थियो ।
विद्यार्थीहरु स्कुल ब्याग पाएपछी खुसी भएका थिए ।
हरिवन : सर्लाहीको हरिवनमा ‘हाम्रो प्रतिबद्धता : विचार अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रता’ भन्ने मूल नाराका साथ प्रथम राष्ट्रिय लेखक दिवस २०८० मनाइएको छ ।
नेपाली लेखक सङ्घ सर्लाही शाखाको आयोजनामा हरिवन – ११, स्थित सगुन बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा नेपाली लेखक सङ्घ सर्लाही शाखाले शनिवार (आज) मुक्तक, कविता तथा गजल वाचन गरेर प्रथम राष्ट्रिय लेखक दिवस २०८० मनाइएको हाे ।
दिवसको अवसरमा मुक्तककार हरिकृष्ण काफ्ले, छन्द कवि कुमार दाहाल ‘कुसुम´, गजलकार सुमित्रा आचार्य, गद्यकवि सुमन घिमिरे ‘अग्रिम’, गजलकार विवश पौडेल, गजलकार कवि सुवेदी ‘कञ्जुश’ मुक्तककार रामनारायण चौधरी, मीना देवकोटा, प्रेम घिमिरे, हरि पङ्गेनी, जीवन आचार्य, तेजनारायण आलेलगायतका साहित्यकारहरूले मुक्तक, कविता तथा गजल वाचन गरेका थिए ।
आमन्त्रित सबै अतिथिहरु उपस्थित नभएपनी कार्यक्रम राम्रो भएको कवि जीवन आचार्यले बताउनुभयो ।
लालबन्दी : गृह मन्त्रालयले भ्रष्टाचार र भ्रष्टाचारी बिरुद्वको कामलाई प्राथमिकतामा राखेको उप-प्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले बताउनु भएको छ ।
शनिवार सर्लाही आईपुग्नु भएका उपप्रधान तथा गृह मन्त्री श्रेष्ठले बागमती नगरपालिका–११, स्थित नमुना पहरी बस्ती उद्घाटन समारोहमा यस्तो बताउनु भएको हो । गृह मन्त्रालयले देशमा हुने हरेक किसिमका भ्रष्टाचार र त्यसमा संलग्न भ्रष्टाचारीहरु बिरुद्वका कार्यक्रमलाई प्राथमिकतामा राखेको उहाँको भनाई थियो ।
‘गृह मन्त्रालयको योजना भ्रष्टार नियन्त्रण गर्न जे गर्नु पर्ने हो त्यो गर्ने ।’ उन्ले भने, ‘भष्टाचार नियन्त्रण गर्ने अरु निकाय पनि छन् । तर, गृह मन्त्रालय अन्तरगतको नेपाल प्रहरी र प्रशासनको तर्फबाट गर्न सकिन्छ, भ्रष्टाचार र भ्रष्टाचारीहरुको बिरुद्वगर्ने कामलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ । आमनागरिकले सविधानले दिएको अधिकार र सुरक्षा सुनिष्चत तथा प्रत्याभुतीको लागि हामी अत्यन्त दृढताका साथ लागिरहेका छौँ ।’
उपप्रधान मन्त्री श्रेष्ठले कार्यक्रम मार्फत नमुना पहरी वस्तीका १३ परिवारलाई घरको साचो हस्तान्तरण गर्नु भयो । नदि किनार तथा बन क्षेत्रमा अब्यवस्थित रुपमा बसोवास गर्दै आएका पहरी परिवारलाई प्रदेश सरकार र बागमती नगरपालिकाले लगानी गरेर एकै स्थानमा पक्कि घर निर्माण गरिदिएको हो । पक्कि घर पाएका पहरी परिवार खुसी भएका थिए । बागमती–११, स्थित हरिहर सामुदायिक बन क्षेत्रमा बस्ने उनीहरु नेपालको लोप उन्मुख जाती मध्यका एक हुन् । यसरी लोप उन्मुख जातीको संरक्षणमा नगरले देखाएको तदारुक्ताको उपप्रधान मन्त्री श्रेष्ठले प्रशंसा समेत गर्नुभयो । बसोवास सगैँ उहाँहरुको जिविकोपार्जनमा समेत ध्यानदिन उहाँले नगरपालिका सगँ आग्रह गर्नुभयो ।
उक्त बस्तीमा ७० जनाको संख्यामा पहरी परिवार रहदै आएका छन् । त्यसमध्य केही नगरपालिकाले निर्माण गरिरहेको फनपार्कमा क्षमता अनुसार रोजगारीमा समेत संलग्न रहेका नगरपालिकाले जनाएको छ । केहीले भने बागमती नदिमा माछा मार्ने र त्यसबाट दैनिकी गुजार्ने गरेका स्थानीयको भनाई छ । यस लोपउन्मुख जातीको संरक्षणमा नगरले हरेक हिसावले ब्यवस्थापन गरिरहेको बागमतीका मेयर भरतकुमार थापाले जानकारी दिनुभयो ।
उपप्रधान मन्त्री श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै देशमा हुने भ्रष्टाचार, मिटर ब्याज र दलित तथा महिला माथि हुने विभेद सह्य नहुने बताउनु भयो । यस बिरुद्व गृह मन्त्रालय निर्मम ढंगले लागेको उहाँको भनाई थियो । उहाँले सुरक्षा निकायलाई आम नागरिकको पहुचमा पुगेर सेवा दिने गरी कार्य प्रद्धती परिवर्तन गर्न बिषेश निर्देशन दिएको समेत उल्लेख गर्नुभयो ।
‘हामीले नेपाल प्रहरी लगाएतका सुरक्षा संयन्त्रलाई बिषेश निर्देशन दिएका छौँ ।’ उन्ले भने, ‘त्यो भनेको केहो भने, आम जनताको पहुचमा पुगेर सेवा प्रवाह गर्नु भनेको हो । कोही सेवाग्राही सेवा लिन आउदा उनीहरुले समन्वय गर्न नजानेका बिषयमा सहयोग गर्नु भनेका छौँ ।’ श्रमीक, गरिव, निमुखा पहुच नभएका जनतालाई पहिलो प्राथमिकता दिन समेत उन्ले आग्रह गर्नुभयो ।
सेवा लिन जादा कुनै किसिमको विभेद भए वा आफुना कुरा सुनुवाई नभए तत्काल उजुरी गर्न समेत उन्ले आग्रह गर्नुभएको हो । त्यस अनुसार कामगर्ने गृह मन्त्रालयले तयारी गरेको बताउनु भयो । सम्बोधनका क्रममा उन्ले मिटिर ब्याजी बिरुद्ध मन्त्रालय कडारुपमा प्रस्तुत भईरहेको उहाँको भनाई छ । सोही बिषयमा आईतवार जनकपुरमा कार्यलय स्थापना गरिने समेत जानकारी दिनुभयो ।
रिवन काटेर पहरी वस्तिीको उद्घाटन गरेका उपप्रधान तथा गृह मन्त्री श्रेष्ठ पहरी परिवार सगँको सहभोजमा समेत सहभागि हुनुभएको थियो ।
लालबन्दी : सर्लाहीको लालबन्दी बजार आज सफाई गरिएको छ ।
लालबन्दी नगरपालिकाको आयोजना तथा स्थानीय ब्यापारी, संघ संस्था, शिक्षक, विद्यार्थी एवं सचेत नगरवासिको सहभागीतामा लालबन्दी बजारमा सरसफाइ गरिएको हो । उक्त कार्यक्रममा लालबन्दी नगरप्रमुख बासुदेव अधिकारि, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलसहित सबै शाखाका प्रमुख एवं कर्मचारीको सहभागीता रहेको थियो ।
‘सफा सहर, स्वच्छ वातावरण, हाम्रो अभियान’ भन्ने नाराका साथ आफ्नो नगर आफै सरसफाइ गरि नियमित सरसफाइ गर्ने बानिको विकास गर्न जनचेतना जगाउने र फोहोर व्यवस्थापनको दिर्घकालिन समाधान गर्ने उद्देश्यले लालबन्दी नगरपालिकाको अगुवाइमा सफाइ अभियान सुरु गरिएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले बताउनुभयो । उहाँले हप्ताको एक दिन एक घण्टा लालबन्दी नगरपालिकाको विभिन्न स्थानहरुमा सरसफाइ गर्ने, उक्त स्थानका स्थानीय वासी, व्यवसायी र सम्बन्धित सरोकारवालाहरुलाई आफ्नो वरपरको सरसफाइ नियमित रुपमा आफै गरि जथाभावि फालिने फोहोरजन्य वस्तुलाइ व्यवस्थित गर्न प्रोत्साहन गरि सफा र शुन्दर नगर तथा स्वच्छ वातावरण निर्माणका निम्ति अग्रसर गराउने उद्देश्यले यो महाअभियान थालनी गरिएको बताउनुभयो ।
कार्यक्रममा लालबन्दी जेसिज, उद्योग वाणिज्य संघ लगाएतका पदाधिकारी एवं सदस्यहरुको सहभागीता रहेको थियो ।
बागमती : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार सर्लाही आउने भएका छन् ।
उनी नेकपा माओवादी केन्द्रले शनिबार राखेको विभिन्न कार्यक्रममा सहभागी हुन यहाँ आउन लागेका हुन् । माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष समेत रहेका गृहमन्त्री श्रेष्ठले सो दिन लालबन्दीमा पार्टी निकट दलित संगठनको प्रदेश स्तरीय भेला, बागमतीमा जिल्लाकै प्रथम शहीद इन्द्र कोइरालाको परिवारलाई पार्टीले बनाइदिएको घर हस्तान्तरण र बागमतीमै पार्टीका कार्यकर्तालाई सम्वोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र सर्लाहीका संयोजक तथा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) ले बताए ।
माओवादीले बागमतीमा सशस्त्र द्धन्द्धमा जिल्लामै प्रथम शहीद इन्द्र कोइरालाको परिवारका लागि ४ कोठाको आवास तयार पारेको छ । नेताहरु गृहमन्त्री श्रेष्ठको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमको तयारीमा जुटेका छन् ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको संसदको राज्य व्यवस्था तथा सुशासन समिति रोजेका छन् ।
लामिछाने संसदीय समिति अन्तर्गत संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको सभामुख देवराज घिमिरेले सदनको बैठकमा सुनाएका हुन् ।
लालबन्दी : जनता समाजवादी पार्टीका उपेन्द्र यादव विजयी भएका छन् ।
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा-२ बाट यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले हराएका हुन् ।
निर्वाचन आयोगका अनुसार विजयी उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहाले २३ हजार ३ सय ३४ मत पाए । त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरेका छन् ।
पूर्वडीआईजीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने २ हजार ८ सय २९ मत मात्र प्राप्त गरेका छन् ।
उनीपछि रहेका आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् ।
लालबन्दी : सर्लाहीको मलंगवामा मंगलबार सरोकारवाला तथा निर्माण व्यावसायिहरुको बैठक बसेर असार १५ सम्म हुलाकी राजमार्गको सम्पुर्ण काम सक्ने प्रतिबद्धता जनाईएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षता एवं जिल्ला समन्वय समिति, सर्लाहीका प्रमुख कौशल किशोर प्रसाद सिंहको प्रमुख आतिथ्यमा बसेको हुलाकी राजमार्ग समन्वय बैठकले त्यस्तो प्रतिबद्धता जनाएको हो । बैठकमा हुलाकी राजमार्ग योजना कार्यालय, जनकपुरका आयोजना प्रमुख कृष्णकुमार महतो र ईन्जिनियर रंजितकुमार रायको समेत सहभागीता रहेको थियो । हुलाकी राजमार्ग निर्माण गर्ने विगतमा भएका सहमती अनुरुप निर्माण कार्य नभएको जनगुनासो, देखिएका समस्या लगायत शान्ति सुरक्षाको समबन्धमा समेत बैठकमा छलफल गरि निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय मलंगवाका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिनुभयो ।
बैठकमा विगतमा भएका निर्णयहरुको समिक्षा गर्नुका साथै हुलाकी राजमार्ग निर्माण सम्बन्धमा २०८० बैशाख महिना भित्र प्राइमको काम सक्ने र असार १५ गते भित्र कालोपत्र सहितको सम्पूर्ण काम सक्ने प्रतिबद्धता गरिएको छ । त्यसैगरी हुलाकी राजमार्गमा पर्ने विद्युतका पोलहरु विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाले हटाउने, हुलाकी राजमार्ग पर्ने बस्ती, बजार क्षेत्रमा सडक र नाला निर्माण सम्पन्न नभएसम्म नियमित रुपमा सम्बन्धित निर्माण व्यवसायीले सडकमा पानी पटाउनेसमेत निर्णय भएको कम्प्युटर अपरेटर यादवले जानकारी दिनुभयो ।
बैठकमा जिल्लाका सबै सुरक्षा निकायका प्रमुख र हुलाकी राजमार्गमा पर्ने पालिका प्रमुखको सहभागीता रहेको थियो ।
लालबन्दी : सर्लाहीको हरिपुरमा स्कोर्पियोको ठक्करबाट एक प्रहरी जवान गम्भीर घाइते भएका छन ।
सोमबार साँझ पौने ६ बजेतिर सवारी चेकजाँचमा खटिएको अवस्थामा ट्राफिक प्रहरी पोस्ट हरिपुरका २८ बर्षिय प्रहरी जवान शैलेन्द्र साहलाई भारतीय नम्बर प्लेटको स्कोर्पियोले ठक्कर दिएको हो । हरिपुर ८ सानो जगतपुरमा चेकिङमा खटिएका साहलाई उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको BR 06 PF 0193 नम्बरको स्कोर्पियोले ठक्कर दिँदा उनको दाहिने खुट्टा भाँचिएको छ । साहको नवलपुरमा सामान्य उपचार गरि थप उपचारका लागि वीरगंज रेफर गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीलाई ठक्कर दिने स्कोर्पियो भने फरार भएको छ । बारा जिल्लाको प्रसौनी गाउँपालिका ५ घर भएका घाइते ट्राफिक प्रहरी जवान साह धनुषाको जनकपुर दरबन्दी भई हरिपुरमा कार्यरत थिए ।
नवलपुर-मलंगवा सडक खण्डमा प्रहरी नायब निरीक्षक सुरेस प्रसाद यादवको कमान्डमा २ जनाको टोलि सवारी चेकिङमा खटिएको थियो ।
लालबन्दी : मुलुकको जेठो साहित्यकारहरुको संस्था नेपाली लेखक संघले यहि २०८० साल बैशाख १६ गतेका दिन लेखक दिवस मनाउने निर्णय गरेको छ । निर्णय अनुसार सर्लाहीमा पनि कार्यक्रम गरिने भएको छ।
प्रथम राष्ट्रिय लेखक दिवसका दिन सर्लाहीको हरिओनमा मुक्तक, कविता र गजल वाचन कार्यक्रम गरिने भएको हो । नेपाली लेखक संघ सर्लाहीको आयोजनामा ‘हाम्रो प्रतिवद्धता : विचार अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रता’ भन्ने नाराका साथ हरिवनस्थित सगुन सहकारी संस्थाको सभाहलमा कार्यक्रम गर्न लागिएको नेपाली लेखक संघले जनाएको छ ।
कार्यक्रममा मुक्तककार हरिकृष्ण काफ्ले, कवि कुमार दाहाल ‘कुसुम’ र गजलगो सुमित्रा आचार्यले आफ्ना रचनाहरु वाचन गर्ने कवि तथा नेपाली लेखक संघका केन्द्रीय सदस्य जीवन आचार्य ‘निश्चल’ ले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम यही बैशाख १६ गते शनिवार दिउँसो साँढे १ बजे हुनेछ । कार्यक्रममा अन्य साहित्यकारहरुले समेत रचना वाचन गर्नेछन् ।
नेपाली लेखक संघले यसैवर्षदेखि हरेक वर्ष बैशाख १६ गते राष्ट्रिय लेखक दिवस मनाउने निर्णय गरे अनुरुप सर्लाहीमा पनि दिवस मनाउन लागिएको हो । ‘बैशाख १६’ नेपाली भाषा साहित्यको इतिहासमा लाईब्रेरि पर्वको रुपमा परिचित विशिष्ट घटनासँग सम्बन्धित दिन हो ।
१९८७ सालमा सरस्वती गुठी नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले ४५ जना कवि तथा लेखक एवं बुद्धिजीवीले हस्ताक्षर गरी श्री ३ भीम शमशेर समक्ष निवेदन पेस गर्दा श्री ३ महाराजले निवेदनमा हस्ताक्षर गर्ने सबै युवालाई दरबारमा बोलाउन लगाई दण्डित गरेको दिन (वैशाख–१६) लाई राष्ट्रिय लेखक दिवसको रुपमा मनाउन लागिएको नेपाली लेखक संघका केन्द्रीय सदस्य लेखक, कवि तथा साहित्यकार निश्चलले बताउनुभयो ।
दिवसका अबसरमा संघले पहिलो पटक ‘राष्ट्रिय लेखक पुरस्कार’ वरिष्ठ कवि एवं संस्कृतिविद् बैरागी काईंलालाई दिने निर्णय गरेको संघले निकालेको विज्ञप्तिमा उल्लेख गरेको छ ।