वीरगंज – आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदका उम्मेदवारहरु छठ घाटमै पुगेर मत मागेको देखिएको छ । छठ मनाउन व्यस्त रहेका व्रतालुहरुको घाटमा पुगेर उम्मेदवारहरुले मत मागेका हुन् ।
यसैबिच,पर्सा क्षेत्र १(क) को उमेदवार रहबर अंसारीले व्रतालुहरुलाई शुभकामना दिंदै मत मागेका छन् ।
उनी घाट घाटमा पुगिरहँदा मतदाताहरु पनि उत्साहित देखिएका थिए । घाटमा पुगेका उम्मेदवार अंसारीलाई व्रतालुहरुले आफ्ना गुनासो र माग राखेका थिए ।
अंसारीले आफूहरुले पहिलो चरणको अभियान अन्तर्गत घरदैलो कार्यक्रम गरेको र आज मतदाताहरुसँग छठ घाटमै पुगेर आशिर्वाद थापेको बताए । उनले आस्थाको महापर्व छठमा पोखरी घाटहरुमा पुगेर छठि माताको दर्शन गर्नुका साथै मतदातासँग प्रत्यक्ष भेट्न पाउँदा आफू हर्षित भएको बताए ।
हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौलाले एक थान मन्त्री बन्न आफ्नै घरमा आगो झोस्नेबाट मकवानपुरको बिकास संभव नभएको बताउनु भएको छ ।
मकवानपुरको कैलाश गाउँपालिका ५, गोगनेमा आज कार्यकर्ता भेटघाट् कार्यक्रमलाई संबोधन गर्दै उहाँले मन्त्री पाउका लागि जे पनि गर्ने र कामै नगर्नेबाट फेरी पनि आस गर्न नसकिने बताउनुभयो । कैलाश क्षेत्रमा आज पनि माध्यमिक तह अध्ययन गर्न भौगोलिक तथा बर्षाका कारण समस्या रहेको बताउदै उहाँले पालिका स्तरीय एक आवसिय बिधालय निर्माण गर्ने बर्तौलाले बताउनु भयो ।
उहाँले आफु एक थान साँसदको फुलि लगाउन हैन जनताको सेवा गर्न उम्मेदवार बनेर नागरिकको घरदैलोमा आइपुगेको बताउनुभयो । घर्तिखोलाबाट डाँडाबास हुँदै डाँडाखर्क भार्ताबाट मनहरी सडक स्तरोन्नति गर्न आफुले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । यहि सडक खण्डको गोगने कालिकाटार खण्ड जोड्ने सडक पनि सतरोन्नती गर्ने बताउनु भयो ।
कार्यक्रममा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नमबर–२ को (ख) का उम्मेदवार लाल बहादुर थापाले एमालेले यो निर्वाचन जितेपछी अहिले पाउदै गरेको ४ हजार सामाजिक सुरक्षा भत्ता बढाएर ५ हजार पुर्याउने बताउनु भयो । आफुले सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्न भुमिका खेल्ने बताउनु भयो ।
निराज रानाभाट , रुपन्देही : सरकारले अब त्रिभुवन विमानस्थलमा हवाई जहाजमार्फत हुने चार्टर्ड उडान प्रतिबन्ध गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले रुपन्देही जिल्लाको भैरहवास्थित गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन खर्च उठाउनु पर्ने भन्दै त्रिभुवन विमानस्थलबाट चार्टर्ड उडान गर्न नदिने निर्णय गरेको हो । यसले त्रिभुवन विमानस्थलको बिजनेस भैरहवाले पाउने भएको छ । सञ्चालन खर्च समेत नउठेपछि प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई विन्टर सिजनमा त्रिभुवन विमानस्थलबाट चार्टर्ड उडानको अनुमति नदिने निर्णय गरेको सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
त्रिभुवन विमानस्थलको ट्याक्सी – वे विस्तारको काम पनि गर्नुपर्ने भएकाले सकेसम्म भैरहवामा अन्तर्राष्ट्रिय उडानहरु लैजान खोजिएको उनको दावी छ । यसअघि प्राधिरकणले विदेशबाट आउने चार्टर्ड उडान भैरहवा पठाउन शुरु गरिसकेको थियो । प्राधिकरणले अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई उडान तालिकामा भैरहवाबाट पनि उड्न बाध्यकारी गराउने गरि त्रिभुवन विमानस्थलबाट हुने केही उडान कटौती गरिदिएको छ । प्राधिकरणले कार्तिक १३ गते , आइतबार ( अाज ) देखि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ – २ वटा अन्तर्राष्ट्रिय उडान भैरहवाबाट गर्न बाध्यकारी व्यवस्था गरेको छ । दैनिक ३ भन्दा बढी उडान गर्ने वायुसेवा कम्पनीले पुरानो गन्तव्यमा थप उडान गर्न भैरहवाबाटै उड्नु पर्ने नियम बनाइएको छ । विदेशी वायुसेवा कम्पनीलाई भने १५ डिसेम्बरसम्म भैरहवमा उडान भर्ने तालिका बनाउन समय दिइएको छ । यस्तो उडान नगरेमा त्रिभुवन विमानस्थलबाट उडान गर्न नदिने निर्णयअनुसार आइतबार ( अाज ) नेपाल एयरलाइन्सको दिल्ली उडान रोकिदिएको छ ।
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ राप्ती तटमा आज साँझ भव्य रुपमा छट पर्व मनाइएको छ । तराइका जिल्लाहरुमा जस्तै आज हेटौंडामा पनि धुमधामका साथ छठ पर्वको आज मुख्य दिनमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइएको हो ।
हेटौंडाको रापतीको उराठ लाग्ने बगर निकै झकिझकाउ बनाइएको छ । राप्तीमा झिलिमिली बत्तीले सिंगारिएको छ । ब्रतालुहरुले खोला नजिक बनाएको घाटमा विभिन्न परिकारहरु पर्वका पूजा, प्रसाद सामग्री ठेकुवा, गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घिउमा बनाइने खास परिकार, भुसुवा, कसार र अन्य मिष्टान्न परिकार, केरालगायतका सामग्रीहरु सूर्यलाई चढाउन राखेका छन् । आज साँझ ब्रतालुहरुले कम्मरसम्म पानीमा चोबलिएर नुहाएसँगै अस्ताउँदो सूर्यलाई अर्घ दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाएका छन् ।
यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर देखाइएपछि छठपर्व सम्पन्न हुने परम्परा छ ।
हेटौंडाको राप्ती तटमा ‘सझुका अरख’ सम्पन्न गरेर घाटमै बस्ने र सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडी अघिदेखि पानीमा चोबलिएर बर्तालुले गीतको भाखामा सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्छन् ।
राप्ती बगरमा रातभरि कोहीत जाग्राम बस्न गीत, सङ्गीत, नाटक र मनोरञ्जनका अन्य साधन व्यवस्था गरिन्छन् । कोही भने घर फर्कन्छन् र भोली बिहानै उदाउँदो सूर्यलाई अर्घदिन पुग्छन् ।
हेटौंडाको राप्तीमा मनाइएको छट पर्वका अवसरमा पूर्व उपप्रधानमन्त्री तथा मकवानपुर क्षेत्र नमबर–१ का उम्मेदवार कमल थापा, क्षेत्र नम्बर–१ को (ख) का उम्मेदवार एकालाल श्रेष्ठ लगायतका नेता तथा बिभीन्न क्षेत्रका समाजसेवीहरुको आतिथ्यता रहेको थियो ।
जनपत्र बाट
हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार तथा एमाले बागमती प्रदेश कमिटीका उपसचिब महेश कुमार बर्तौलाले मकवानपुरको चित्लाङ्गलाई मिनि काठमाडौ हैन अर्गानिक चित्लाङ्ग बनाउनुपर्ने बताउनु भएको छ । आज एमालेको आयोजनामा थाहा नगरपालिका वडा नम्बर–९ चित्लाङमा आयोजित भेटघाट तथा चियापान कार्यक्रमलाई संबोधान गर्दै उहाँले जवजव स्थानीयले चुनाब जिते त्यति बेला मात्रै यस क्षेत्रको बिकास भएको इतिहाँस रहेको बताउनुभयो ।
चित्लाङ्ग क्षेत्रको पर्यटन बिकासमा आफुले महत्वपूर्ण भुमिका खेल्ने बताउँदै उहाँले भन्नुभयो–‘चित्लाङ्गलाई मिनि काठमाडौ हैन अर्गानिक चित्लाङ्ग बनाउनुपर्छ अनी
चित्लाङ्ग चन्द्रागिरी सडकलाई सरर चल्ने र प्रत्यक दिन चित्लाङ्ग आउ आउ लाग्ने बनाउनुपर्छ ।’
चित्लाङ्गसंग मार्खु, कुलेखानी, बज्रबाराहिको कुन्छाल, भीमफेदिको चिसापानी गढि, मैत्री बगैँचा, रिखेस्वर महादेव तथा कैलाशको बैकुण्ठ जोड्ने गरि करिडोर बनाएर पर्यटन, पुर्वाधार बिकास गर्न आफुले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
चित्लाङ्ग र आसपासमा बसोबास गर्ने नेवारी समुदायको कला, संस्कृति, ईतिहास संरक्षण गर्न आफुले भुमिका खेल्ने बताउनुभयो । २० बर्ष सँसद भएका बिरोध खतिवडाले सदनमा चन्द्रागिरी सडकको बिरोध गरेको र जनताको बिचमा मैले गरेको भनेर भ्रम छरेको आरोप समेत बर्तौलाले लगाउनुभयो । २१ दिन तपाइले मिहिनेत गरेर सांसदको लागि आफुलाई म्याण्डेड मागिदिनुस आफू पाँच बर्ष जनताको नोकरको रुपमा सेवा गर्ने बताउनु भयो ।
गठबन्धनको उम्मेदवारले प्रचार गरेको जस्तो बजेट चित्लाङ्ग चन्द्रागिरी सडकमा बिनियोजन भएको छैन– बिष्णु ढकाल
एमालेका तर्फबाट क्षेत्र नम्बर–२ को (क) का उम्मेदवार बिष्णु प्रसाद ढकालले बिपक्षी गठबन्धनको उम्मेदवारले प्रचार गरेको जस्तो बजेट चित्लाङ्ग चन्द्रागिरी सडकमा बजेट बिनियोजन नभएको बताउनु भएको छ । चित्लाङमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यो सडकको नेतृत्व हिजो देखि एमालेले गरेको र भोलिब्पनी एमालेले नेतृत्व गर्ने र सडकबाट कम्प्लीट गर्ने बताउनुभयो ।
यस्लाई चित्लाङ्ग हुँदै डाँबासबाट मनहरी हुँदै चितवन जोडेर बैकल्पिक राजमार्गको बिकास गर्ने बताउनुभयो । पालुङ देखि चित्लाङ सम्म सिमेन्टको ढलान घर निर्माण हुन थालेकोमा दुख व्यक्त गर्दै यो बेल्टको चित्लाङ्ग, कुन्छाल, पालुङ्ग, दामन क्षेत्रको कला संस्कृतिको संरक्षण गर्दै नया भवन बन्नु पर्ने नितिगत व्यवस्थापन गर्नुपर्ने र आफुले त्यसमा भुमिका खेल्ने बताउनुभयो ।
हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम नेपाली कांग्रेसको तर्फबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर २ को प्रदेशसभा ‘२’ का उम्मेद्वार इन्द्रबहादुर बानीयाँलाई आफ्नै कार्यकर्ताले कालोझण्डा देखाएका छन् ।
बानीयाँले दर्जन बढी क्रियाशिल सदस्यहरुले कालोझण्डा देखाएका हुन् । मनहरी गाउँपालिका वडा नंबर १ को मानव धर्म आश्रममा देउसी भैलो कार्यक्रममो नाउँमा गठवन्धनको कार्यक्रममा सहभागि हुन पुगेका बानीयाँलाई कालो झण्डा देखाईएको नेपाली कांग्रेसका क्रियाशिल सदस्य विशाल उप्रेतीले बताए । उनले भने ‘सांसद भएपछि काम नगर्ने, झुटको खेति मात्र गर्ने, जनतालाई सधै झुटको बाचा गर्ने र पुनः यो गर्छु र त्यो गर्छु भन्दै चुनावमा भोट माग्न आएको कारण हामीले आज बानीयाँलाई कालोझण्डा देखाएका हौँ ।’ कालो झण्डा देखाउन कांग्रेसका स्थानीय युवानेता तथा क्रियाशिल सदस्यको सहभागिता रहेको उप्रेतीको भनाई छ।
हेर्नुहोस् भिडियो |
१३ कात्तिक, धनुषा । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र तीन करोड रुपैयाँको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका व्रतालुका लागि केरा अत्यावश्यक मानिन्छ । केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन ।
छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अर्घ्यका रुपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुने हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए ।
स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनुपरेको उनले बताए । अध्यक्ष यादवले अघिल्लो वर्ष पौने दुई करोड रुपैयाँभन्दा बढीको केरा जनकपुर भित्र्याइएको बताए । ‘यस वर्ष भित्र्याइएका केरा झण्डै ६० ट्रक छन्’, उनले भने ।
जनकपुरमा गोपाल र वंशीभोग केरा नेपालको सप्तरी जिल्लास्थित भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चिनी चम्पा केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए ।
छठ पर्वसँगै अघिल्लो वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको पूर्वेले बताए । ‘छठ पर्व मनाउने सङ्ख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो । यसैले बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष १५–२० ट्रक बढी ६० ट्रकजति केरा मगाइएको छ’ उनले भने ।
फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार दुई सय घरी केरा आउँछ । प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च रु छ लाख पर्छ । बजारमा प्रत्येक केराको घरीलाई पाँचसयदेखि एक हजार रुपैयाँभन्दा बढी मूल्यमा बिक्री गरिन्छ ।
नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छ । केरा उत्पादनका लागि तराई–मधेस वा समग्र नेपालको भूमि राम्रो मानिन्छ । तर केराको आवश्यकता हुने चाडपर्वका समयमा समेत भारतकै भरपर्नुपर्ने अवस्था छ । नेपालमा मालभोग, झापाली मालभोग, विलियम हाइब्रिड रोवस्टा, विलियम हाइब्रिडलगायत जातका केराखेती उत्पादन हुँदै आएको छ ।
सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ । देशभित्र यस्तो अवस्था छ भने उता भारतबाट आउने केराको मूल्य भने यहाँको भन्दा सस्तो पर्छ । भारतले किसानका लागि सहुलियत र विभिन्न प्याकेज दिने भएकाले उताको लागत कम परेको बताइन्छ ।
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् भोजपुर प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरधन राईले प्रदेश नं १ को मुख्यमन्त्री हुँदा भोजपुर जिल्लामा गरेका कामहरु समेटेर श्वेत पत्र सार्वजनिक गरेका छन् । आइतबार भोजपुरको हतुवागढी, घोरेटारमा एक कार्यक्रमको आयोजना गरेर उक्त श्वेत पत्र सार्वजनिक गर्दै राईले तीन वर्ष छ महिना सात दिन प्रदेश नं १ को मुख्यमन्त्री रहँदा आफ्नो गृह जिल्ला भोजपुरको विकास निर्माणका गरेका कामहरु श्वेतपत्रमा उल्लेख गरेको बताएका हुन् ।
श्वेतपत्रमा सडक, पुल, खानेपानी, सिचाइ, भवन, पर्यटन, शिक्षा, खेलकुद लगायतका कार्यक्रमहरू र बजेट समेत समावेश गरेर सार्वजनिक गरिएको छ । राई २०७४ फागुन २ गते प्रदेश नं १ को मुख्यमन्त्री नियुक्त हुन भएको थियो । २०७८ भदौ १० गते राईले राजीनामा दिँदै एमालेकै नेता भीम प्रसाद आचार्यलाई सत्ता हस्तान्तरण गरेका थिए । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा राई नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । त्यस्तै प्रदेश सभा तर्फ प्रदेश सभा क्षेत्र नं १ मा हरिबहादुर राई र २ मा खड्गबहादुर (प्रेम) कार्की उम्मेदवार छन् ।
१३ कात्तिक, धनगढी । दार्चुलामा सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर व्यास गाउँपालिका–२ का १२ वर्षीय पवन महराको मृत्यु भएको घटनामा भारतीय पक्षले
क्षतिपूर्ति वापतको रकम दिएको छ ।
शनिबार धार्चुलास्थित एसडिएम कार्यालयमा नेपाली प्रतिनिधि समेतको उपस्थितिमा भएको छलफलपछि तावाघाट–लिपुलेक सडक निर्माण गरिरहेको गर्ग एन्ड गर्ग कम्पनीले पीडित परिवारलाई क्षतिपूर्ति वापत नेपाली १६ लाख रुपैयाँ उपलब्ध गराएको प्रहरीले जनाएको छ ।
दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले पीडित पक्षसँग भएको सहमतीअनुसार गर्ग एन्ड गर्ग कम्पनीले १६ लाख (१० लाख भारु) उपलब्ध गराएको जानकारी दिए ।
डीएसपी पाण्डेका अनुसार उक्त कम्पनीले सडक निर्माणका क्रममा जिलेटिन विस्फोट गर्दा खसेको ढुङ्गा लागेर बालकको मृत्यु भएको थियो भने उनकी दिदी १४ वर्षीय सरिना महरा घाइते छन् ।
अगामी दिनमा जिलेटिन विस्फोट गराउँदा दुवै पक्षले पूर्व जानकारी दिनुपर्ने सहमती पनि भएको छ ।
यो घटनामा भारतीय कम्पनीले क्षतिपूर्ति दिएपछि मृतकका आफन्त बालकको शव बुझ्न तयार भएका छन् । परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको शव प्रक्रिया पूरा गरेर परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
दार्चुला – महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालकको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भारतले बिनासूचना विस्फोट गराउँदा हिक्मत महराका छोरा पवनको शुक्रबार ज्यान गएको हो । उनी दुम्लिङस्थित सर्वहित आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए ।
ढुंगा लागेर हिक्मतकी १४ वर्षीया छोरी सरिना घाइते भएकी छन् । खुट्टामा चोट लागेकी उनको जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ । व्यास–२ का वडाध्यक्ष धिरेनसिंह बुढाथोकीले बिहान साढे ९ बजेतिर तम्बाकुनजिक थीबाट फर्कने क्रममा पारिबाट आएको ढुंगा लागेर पवनको ज्यान गएको बताए । उनका अनुसार भारतीय पक्षले जानकारी नदिई विस्फोट गराएकाले उक्त घटना भएको हो । टाउकोमा गम्भीर चोट लागेका पवनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले बताए । उनको शव पोस्टमार्टमका लागि शुक्रबार साँझै जिल्ला अस्पताल खलंगा पुर्याइएको छ ।
डीएसपी पाण्डेका अनुसार व्यासकै तम्बाकु क्षेत्रबाट बुबा हिक्मतसँगै पवन र सरिना दुम्लिङस्थित घर फर्कंदै थिए ।
दसैंतिहारको बिदामा थी गाउँमा तरकारी लगाउन गएका उनीहरू स्कुल खुल्ने समय भएकाले घर फर्किएका थिए । ‘यसअघि विस्फोट गराउँदा सिटी बजाउँथ्यो, पारि सिटी बजेपछि सबै सचेत हुन्थे, विस्फोट अवधिभर कोही पनि बाटोमा निस्कँदैनथे,’ हिक्मतको भनाइ उद्धृत गर्दै वडाध्यक्ष बुढाथोकीले भने, ‘आज बजाएन । सिटी नबजाएपछि बाटैबाटो घर आउने क्रममा थियौं । त्यही बेला ढुंगा उछिट्टिएर आएर छोराको ज्यान लियो ।’
भारत पिथौरागढ जिल्लाको धारचुलाअन्तर्गत तवाघाट–लिपुलेक सडक खण्डको लखनपुर क्षेत्रमा काम गरिरहेको गर्ग एन्ड गर्ग निर्माण कम्पनीले विस्फोट गराएको थियो । विस्फोटअघि कम्पनीले कुनै सूचना नदिएको हिक्मतको भनाइ छ । ‘सीमा क्षेत्रमा कुनै जानकारी नदिई विस्फोट गराउँदा घटना भएको हो,’ उनले भने ।
अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै भौतिक संरचना बनाउँदा दुवै देशले एकअर्कालाई असर पुर्याउने काम गर्न पाउँदैनन् । विस्फोट गराउनैपर्ने भए विस्फोट अवधिभर प्रभावित क्षेत्रमा मानिसलाई आवतजावतमा रोक लगाउनुपर्छ । त्यसका लागि एकअर्का देशका प्रशासनबीच समन्वय हुनुपर्छ तर शुक्रबार भारतीय पक्षले विस्फोट गराउनुअघि त्यस क्षेत्रका बासिन्दालाई सूचना नै दिएन । दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दीर्घराज उपाध्यायले विस्फोटअघि भारतीय पक्षले सूचना प्रवाह नगरेकै कारण बाटोमा हिँडिरहेका बालकले ज्यान गुमाउनुपरेको बताए ।
‘महाकाली वारि नेपाली सेनाले पनि बाटो खनिरहेको छ, बाटो निर्माणका क्रममा हाम्रो पक्षबाट विस्फोट गराउनुअघि सिटी फुक्ने, माइकिङ गर्नेलगायत सम्भव भएसम्म प्रभावकारी रूपमा सूचना प्रवाह गर्ने गरेका छौं,’ प्रजिअ उपाध्यायले कान्तिपुरसँग भने, ‘भारतीय पक्षले पनि प्रभावकारी सूचना प्रवाह गर्नुपर्ने थियो तर शुक्रबारको विस्फोटमा उनीहरूले सावधानी अपनाएको देखिएन ।’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सडक निर्माणका क्रममा विस्फोट गर्दा सीमासँग जोडिएको नेपाली पक्षलाई जानकारी नदिएर भारतीय निर्माण पक्षले गम्भीर त्रुटि गरेको बताए । यस विषयमा कूटनीतिक माध्यमबाट सरकारले क्षतिपूर्ति दिलाउन र फेरि यस्तो हुन नदिन पहल गर्ने बताए । पूर्वमन्त्री एवं एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाले पनि लापरबाही गर्ने पक्षलाई कानुनी कारबाही र मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रजिअ उपाध्यायले नेपालको बाटो भारतीय सडकभन्दा निकै तल पर्ने भएकाले पारि निर्माण कार्य हुँदा नेपालको बाटोमा सधैं असर पुग्ने गरेको बताए । गत वर्ष नेपाली सेनाले टिंकर जोड्ने महाकाली लोकमार्गको काम थाल्नुअघि भारतीय पक्षसँग समन्वय गरेको थियो ।
व्यास–२ मा पर्ने कोठेधारदेखि नेपाल–चीन सीमा नाका टिंकरसम्मको ८७ किमि प्रस्तावित रणनीतिक सडकमध्ये ५५ किमि महाकाली नदी वारि पर्छ । कोठेधारदेखि महाकाली नदी किनार र कतै भित्री क्षेत्र हुँदै बनाइने सडकले व्यास–१, छाङरु (गागा) स्थित नेपाल–भारत सीमाको सीतापुल वारिसम्म जोड्छ ।
बालकको ज्यान गएको घटना जानकारी पाएलगत्तै प्रजिअ उपाध्यायले भारतीय समकक्षी पिथौरागढका जिल्लाधिकारी (डिस्ट्रिक्ट मजिस्ट्रेट) आशिष चौहानलाई फोन गरेर आपत्ति जनाएका थिए । जवाफमा जिल्लाधिकारी चौहानले घटना दु:खद भएको र विस्फोटबाट ज्यान गुमाएका बालकका परिवारलाई उचित क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिबद्धता जनाएको प्रजिअ उपाध्यायले बताए । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले दार्चुला घटना गम्भीर रहेको बताए । ‘मानवीय क्षति हुने गरी भएको घटनालाई हामीले गम्भीर रूपमा लिएका छौं, दार्चुला प्रशासनले पनि यसबारे पत्र पठाइसकेको छ,’ प्रवक्ता पोखरेलले भने, ‘पत्र छिट्टै परराष्ट्र मन्त्रालय पठाउँछौं, बाँकी विषय कूटनीतिक माध्यमबाट गर्नुपर्ने भएकाले के–कसो गर्नुपर्ने हो, परराष्ट्रबाटै हुन्छ ।’
२०७८ जेठ २५ मा पनि व्यास गाउँपालिकाका दुम्लिङ र कल्जु क्षेत्रबाट पारि भारतले बाटो विस्तार गर्ने क्रममा गराएको विस्फोटले चट्टान खसेर नेपालतर्फको बाटो महाकालीले भत्काएको थियो । दुम्लिङबाट करिब २ सय मिटर उत्तरतर्फको घोडेटो बाटो महाकालीले बगाएको थियो । बाटो बगाउँदा नेपालको भूमिबाटै चीनसँगको सीमा जोडिएको टिंकर गाउँ आउजाउमा व्यवधान पुगेको थियो ।
भारतीय विस्फोटका कारण महाकालीको धार नेपालतर्फ धकेलिएको थियो । त्यस क्षेत्रमा पारि विस्फोट गराउँदा उछिट्टिएर आएको ढुंगाले केही नेपाली घाइते पनि भएका थिए । सोही क्षेत्रमा चार वर्षअगाडि पनि भारतले सडकको ट्रयाक खोल्न गराएको विस्फोटमा नेपालतर्फ दुम्लिङका चारवटा घरमा क्षति पुगेको थियो । पारिबाट उछिट्टिएर आएको ढुंगा लागेर घरपालुवा चौपाया पनि घाइते भएका थिए ।
भारतले निर्माण गरिरहेको सडक महाकाली नदीबाट करिब ५ सय मिटर उचाइमा छ । तर, महाकाली किनारैकिनारको नेपाली बाटो १५ देखि २० मिटरको मात्रै उचाइमा पर्छ । दुवै देशले चट्टान फोर्न वा सीमा क्षेत्रलाई असर पुग्ने खालका विस्फोट गराउँदा दुवै देशका स्थानीय सुरक्षा संयन्त्रसँग सहमति लिने र समन्वय गर्नुपर्ने हो । तर, भारतीयले उक्त सडक खन्दा होस वा विस्तार गर्दा नेपाल पक्षसँग समन्वय गरेको छैन । यही सडक हुँदै कालापानी क्षेत्रको नेपाली भूभाग अतिक्रमण गरेर भारतले चीनको मानसरोवर जोड्ने बाटो खन्नुका साथै विस्तार गरिरहेको छ ।
२०७८ साउन १५ मा दार्चुलाको मालघाटमै भारतीयले तुइनको लट्ठा खुस्काइदिँदा व्यास गाउँपालिका–२, खाङदाङका ३३ वर्षीय जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएका थिए । धामी अहिलेसम्म फेला परेका छैनन् । तुइनको लट्ठा सशस्त्र सीमा बल (एसएसबी) का जवानले खुस्काइदिएको किटानीका साथ नेपालले भारतलाई कूटनीतिक नोट पठाउँदै संलग्नलाई कारबाही र बेपत्ता रहेका धामीका परिवारलाई उचित क्षतिपूर्तिको पहल गरिदिन आग्रह गरेको थियो । तर, उक्त घटनाको वर्ष दिन बितिसक्दा पनि भारतले तुइन घटनामा संलग्नमाथि कारबाही र धामीका परिवारलाई क्षतिपूर्ति दिनेबारे कुनै निर्णय गरेको छैन ।
दार्चुलामा खलंगादेखि छाङरुसम्मका एक दर्जनभन्दा बढी स्थानमा भारतीय पक्षबाट कतै पुलबाट आउजाउमा अवरोध पुर्याउने, कतै नदीको धार फेरिदिने, कतै तुइनबाट वारपार तर्न नदिनेदेखि पारि सडक निर्माण गर्दा नेपालतर्फको बाटो भत्काइदिनेसम्मका गतिविधि हुँदै आएका छन् ।
सीमा क्षेत्रमा भारतीय पक्षले ठूला पहाड फुटाउन विस्फोट गराएर महाकाली नदी किनारमा खसाउँदा नदीको बहाव नेपालतर्फ धकेलिने र व्यास जोड्ने घोडेटो बाटो भत्किने गरेको छ । बर्सेनि सरकारी निकायहरूले व्यास जोड्ने बाटो मर्मत गर्दै आए पनि नदीको बहावले कटान गरेर बाटोमा क्षति पुगेको स्थानीय बताउँछन् । दुम्लिङदेखि दोपखे बुदीसम्मको घोरेटो बाटो भारतीय सडककै कारण बर्सेनि भत्किँदै आएको दुम्लिङका स्थानीय वीरेन्द्रसिह बुढाथोकीले बताए । उनले नेपालतर्फ निर्माण गरेको बाटो केही ठाउँमा मात्र छ । अधिकांश क्षेत्रमा बाटो महाकालीले कटान गरेर भत्किएको छ । कुनै ठाउँमा बनाउन नै नमिल्ने गरी नदीको बहाव नेपाल मोडिएको उनको भनाइ छ । यसका सबै कारण भारतीय पक्ष भएको बुढाथोकीको भनाइ छ ।
क्षतिपूर्तिका लगि पहल हुन्छ : मन्त्री बडू
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले भारतीय सडक खन्दा उछिट्टिएर आएको ढुंगा लागी ज्यान गुमाएका पवन महराको मृत्युको कारण छानबिन र राहतका लागि पहल सुरु गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । मन्त्री बडूले सडक निर्माणका क्रममा विस्फोट गर्दा उछिट्टिएको ढुंगा लागेर बालकको ज्यान गएकोबारे मृतकका परिवारले आफूलाई जानकारी दिएको र यसको यथार्थ छानबिन गरी तत्काल भारतीय पक्षलाई जानकारी गराउन प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई निर्देशन दिएका हुन् ।
मन्त्री बडू पनि दार्चुलाकै स्थानीय हुन् । उनले गृह र परराष्ट्र मन्त्रालयलाई समेत यस विषयलाई गम्भीरताका साथ लिई राहत र क्षतिपूर्तिका लागि पहल गर्न ध्यानाकर्षण गराइसकेको बताए ।