यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको चेतावनी जारी गरेको छ । तापक्रम ५२ डिग्री सेल्सियसभन्दा माथि जाने अपेक्षा गरिएपछि थाई राजधानी बैंककमा अधिकारीहरूले अत्यधिक गर्मीको चेतावनी दिएका हुन् ।

बैङ्ककको कङ्क्रिटले फैलिएको क्षेत्रमा तापक्रम बुधबार ४० दशमलव एक डिग्री सेल्सियससम्म पुगेको थियो । बिहीबार पनि यस्तै स्तरको पूर्वानुमान लगाइएको थियो । यस साता दक्षिण र दक्षिणपूर्वी एसियाका केही भागमा असाधारण तातो मौसमको लहर चलिरहेको छ । यसका कारण फिलिपिन्सभर विद्यालय बन्द गर्नुपर्यो भने बङ्गलादेशमा उपासकहरूले वर्षाका लागि प्रार्थना गर्नुपरेको छ ।

तापक्रम सूचक (आद्र्रता, हावाको गति र अन्य कारकहरूलाई ध्यानमा राख्दै महसुस गरिने तापक्रमको मापन) बैङ्ककमा ‘अत्यन्त खतरनाक’ स्तरमा रहेको सहरको पर्यावरण विभागले चेतावनी दिएको छ । मुलुकको ग्रामीण उत्तरपूर्वमा रहेको उडोन थानी प्रान्तका अधिकारीहरूले पनि बिहीबार तीव्र तापक्रमको चेतावनी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयले बुधबार राति जनवरी १ देखि अप्रिल १७ को बीच लुबाट ३० जनाको मृत्यु भएको जानकारी दिएको छ । लुबाट सन् २०२३ मा ३७ जनाको मृत्यु भएको थियो ।

अधिकारीहरूले वृद्धवृद्धा र मोटोपनालगायत अन्तर्निहित अवस्था भएका मानिसहरूलाई घरभित्रै रहन र नियमितरूपमा पानी पिउन आग्रह गरिरहेको थाइल्यान्डका रोग नियन्त्रण विभागका उपमहानिर्देशक डायरेक खाम्पेनले बताए ।

थाइल्यान्ड र दक्षिणपूर्वी एसियाका मुलुकहरूमा अप्रिल सामान्यतया वर्षको सबैभन्दा तातो समय हो तर यस वर्ष अल निनो मौसमी ढाँचाले गर्मीलाई अझ बढाएको छ । गत वर्ष विश्वभर गर्मीको तनाव रेकर्डस्तरमा देखिएको थियो । संयुक्त राष्ट्रसङ्घको मौसम तथा जलवायु एजेन्सीले एसिया विशेषरूपमा द्रुत गतिमा तातो भइरहेको बताएको थियो ।

यस साता थाइल्यान्डमा भीषण गर्मी अनुभव गरिएको छ । सोमबार उत्तरी प्रान्त लाम्पाङमा ४४ दशमलव दुई डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ । यो गत वर्षको ४४ दशमलव छ डिग्री सेल्सियसको सर्वकालीन राष्ट्रिय रेकर्डभन्दा केही कम हो ।

सीमामा रहेको म्यान्मामा बुधबार तापक्रम ४५ दशमलव नौ डिग्री सेल्सियससम्म पुगेको थियो र बिहीबार पनि तापक्रम यति हुने अपेक्षा गरिएको छ । सन् २०२१ को सैन्य विद्रोहबाट उत्पन्न अराजकता र सङ्घर्षका कारण म्यान्माका अधिकांश भागमा विद्युत् बन्द भएको छ । यसबाट मानिसहरूलाई पङ्खा र एयर कन्डिसनका साथ चिसोमा बस्न अवरोध पुगेको छ ।

एजेन्सि । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।

मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयाेग हुँदै आएका गधा चाेरी हुन थालेपछि अफ्रिकाका गरिब  र ग्रामीण समुदायका नागरिक समस्यामा परेका बीबीसीले जनाएको छ ।

एक अध्ययनअनुसार अवैध रुपमा गधा चोरेर छाला निकाली व्यापार हुने गरेकाे पाइएको छ ।

चीनमा गधाको छालामा जिलेटिन मिसाएर इजियो नामको परम्परागत औषधि बनाउने गरिएकाे अध्ययनमा उल्लेख छ ।  यो औषधि स्वस्थ शरीर र युवाको ऊर्जा बचाउन प्रयोग हुने गरेको छ । गधाको छालाकाे अवैध व्यापारविरुद्ध यसअघि सन् २०१७ मै अभियान चलाए पनि प्रभावकारी हुन सकेको छैन ।

अभियानकर्ताहरुका अनुसार प्रत्येक वर्ष विश्वव्यापी रूपमा कम्तीमा ५ दशमलव ९ मिलियन गधा चीनमा आपूर्तिकै  लागि मार्ने गरिन्छ । अफ्रिकामा विश्वको ५३ मिलियन गधामध्ये दुई तिहाई गधा रहेका बीबीसीमा उल्लेख छ ।

हमासले इजरायलमा गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको र १ जना सम्पर्कविहीन भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।

हमासले गरेको रकेट आक्रमणका क्रममा सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत इजरायल पुगेका १७ जना नेपालीमध्ये १० जनाको मृत्यु भएको हो।

आक्रमणमा परेका एक नेपाली सम्पर्कविहीन रहेका छन् भने ४ जना नेपाली सुरक्षित स्थानमा रहेका छन्। आक्रमणमा सिकिस्त २ जनाको उपचार भइरहेको छ।

हमासविरुद्ध इजरायली सैनिक आक्रामक

यसैबीच इजरायलको सुरक्षा परिषदले लडाकु समूहहरु हमास र प्यालेस्टाइनी इस्लामिक जिहादविरुद्धको युद्धलाई आक्रमणको चरणमा लैजाने निर्णय गरेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्यालेस्टिनी लडाकु समूह हमासले एक्कासी इजरायलमाथि गरेको आक्रमणमा दुवै पक्षका सयौँ व्यक्तिको मृत्यु भएपछि ‘लामो र कठिन’ युद्ध हुने चेतावनी दिएका छन्।

इजरायली सेनाले गाजाको सीमा नजिकका सहरहरूमा बस्ने सबै बासिन्दाहरूलाई आगामी २४ घण्टाभित्र त्यस क्षेत्रबाट अन्यत्र सारिने बताएको छ। सेनाका अनुसार प्यालेस्टिनी लडाकु समूह हमास रहेको क्षेत्रमा आक्रमण तीव्र पार्ने क्रममा सीमा नजिकका क्षेत्रहरू खाली गर्न लागेको हो।

दक्षिणी इजरायलका विभिन्न क्षेत्रमा दोस्रो दिन पनि दुई पक्षबीच भिडन्त जारी छ। हमासको आक्रमणमा र भिडन्तमा ६ सय इजरायली मरिएका छन् भने सय जनाभन्दा बढी इजरायलीको अपहरण गरिएको छ।

दुई पक्षबीच भिडन्तमा सयभन्दा बढी प्यालेस्टिनी बन्दुकधारीहरू पनि मारिएको र कैयौँलाई गिरफ्तार गरिएको इजरायली सेनाले जनाएको छ। गाजास्थित प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले इजरायलले गरेको हवाई आक्रमणमा ३ सयभन्दा बढीको मृत्यु भएको र करिब २ हजार घाइते भएको बताएका छन्।

हिजबुल्लाह समूहले तीन वटा इजरायली चौकीमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले लेबनानमा पनि आक्रमण गरेको छ। इजरायलले आक्रमणमा आफ्ना कम्तीमा ३ सय नागरिक मारिएको र १ हजारभन्दा बढी घाइते भएको बताएको छ।

इजरायल-प्यालेस्टाइन तनावबारे छलफल गर्न राष्ट्र सङ्घीय सुरक्षा परिषद्को आज आपत्कालीन बैठक बस्दै छ। यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायललाई सहयोगका लागि प्रस्ताव गरेका छन्।

यता परराष्ट्र मन्त्रालयले एक सुचना जारी गर्दै सम्पर्क गर्न सकिने ब्यक्तिहरुको नाम र नम्बर उपलब्ध गराएको छ ।

काठमाडौं : बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् । उनले तत्काल लागू हुने गरी संसद्को सदस्यता त्याग्ने निर्णय गरेका समाचार संस्था एपीले जनाएको छ ।

उनले राजीनामा दिएपछि खाली हुने सिटमा उपनिर्वाचन हुनेछ । २०२२ मा प्रधानमन्त्रीको पद त्यागे पनि उनी सांसदको जिम्मेवारीमा कार्यरत थिए ।

जोनसन अहिले संसदीय छानबिनको क्रममा छन्। संसदीय समितिले कोरोनासँग सम्बन्धित सबै नियम पालना गरेको भन्दै सदनलाई ढाँटेको आरोपमा छानबिन गरिरहेको छ ।

अनुसन्धानले जोनसनको राजनीतिक भविष्यमा प्रभाव पार्ने सम्भावना छ। संसदको विशेषाधिकार समितिलाई बोरिस जोनसनले संसदलाई गुमराह गरेको पाइएमा १० दिनभन्दा बढीको लागि सदस्यता निलम्बन गर्न सिफारिस गर्ने अधिकार छ।

राजीनामाको क्रममा उनले आफूमाथि अनुसन्धान गरिरहेका सांसदविरुद्ध उग्र विरोध गरेका छन् ।

बेलायतमा अर्को वर्ष आम निर्वाचन हुँदैन । जोनसनको कदमले सत्तारुढ कन्जरभेटिभ पार्टीभित्र गहिरो विवादलाई संकेत गरेको छ ।

काठमाडौं : अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी) चिट्ठाको रिजल्ट आज राति आउँदै छ।

अमेरिकी प्रशासनका अनुसार ६ मे अर्थात् आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो। यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्‍यो कि परेन भन्ने थाहा हुने अमेरिकन डीभी शाखाले जानकारी दिएको छ।

डीभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका सम्बन्धित वेबसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नु पर्दछ। त्यसबाट डीभी परे नपरेको थाहा हुन्छ।

काठमाडौं : सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन्।

चीनको संसद, नेशनल पिपुल्स कंग्रेस ९एनपीसी० का झण्डै तीन हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा मतदान गरेका थिए। आज विहान भएको मतदानमा ६९ वर्षीय सी जिनपिङको अगाडि यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएनन्। चीनको यो संसदलाई राष्ट्रपतिको रबर स्ट्याम्पको रुपमा चित्रित गरिदै आएको छ।

सन् २०१८ मा चीनको संविधानमा परिवर्तन गरेर राष्ट्रपति बन्ने समय सीमा खारेज भएपछि यस निर्वाचनमा सी जिनपिङको जित निश्चित मानिएको थियो। उनले मात्सेतुङपछि सीले देशको सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित गरेका छन्।

राष्ट्रपति सीले सोमबार संसदको वार्षिक अधिवेशनमा सम्बोधन गर्ने टन्। तीन वर्षसम्म चलेको कडा कोभिड नीतिका कारण आज चीन आर्थिक संकटको सामना गरिरहेको छ।

गत हप्ता सी जिनपिङले चीनको आर्थिक संकटका लागि अमेरिका र पश्चिमी देशलाई दोष दिएका थिए।

उनले चिनियाँ सशस्त्र बलको कमाण्डर–इन–चीफको रूपमा आफ्नो तेस्रो कार्यकाल सुरु गरिसकेका छन्।

चीनका राष्ट्रपति सी जिनपिङ र साउदी अरबको उच्च नेतृत्वबीच भेटवार्ता भएको छ ।

साउदी अरबका राजा सलमान र उहाँका ३७ वर्षीय छोरा राजकुमार प्रिन्स मोहम्मद बिन सलमानसँग भेटवार्ता भएकाे हाे । भेटमा दुवै पक्षले तेल बजारमा ‘स्थिरताको महत्त्व’ मा जोड दिएका छन् । यो भ्रमणमा चीन र साउदी अरेबिया सुरक्षादेखि तेलसम्मका विषयमा सहकार्य गर्न पनि सहमत भएका छन् । तर आपसी आन्तरिक विषयमा कुनै हस्तक्षेप नगर्ने सहमति भएको खबरमा उल्लेख छ ।

दुई देशबीच सम्झौतापछि साउदी प्रेस एजेन्सीले संयुक्त विज्ञप्ति सार्वजनिक गरेको छ । विज्ञप्तिमा ऊर्जा, सुरक्षा, इरानको आणविक कार्यक्रम, यमनको सङ्कट र युक्रेन–रुस युद्धलगायत विश्वव्यापी मुद्दाहरूमा छलफल भएको उल्लेख छ ।

साथै दुवै पक्षले सबै क्षेत्रमा संयुक्त कार्यलाई निरन्तरता दिने, दुई देशबीचको व्यापक रणनीतिक साझेदारीको ढाँचाभित्र रहेर सम्बन्धलाई प्रगाढ बनाउने र नयाँ तथा आशाजनक योजनामा जोड दिएका छन् ।

साउदी अरब र अमेरिकाबीच तेल उत्पादन, मानव अधिकारका मुद्दा र क्षेत्रीय सुरक्षालाई लिएर तनाव भइरहेका बेला चीनका राष्ट्रपति सीले तीन दिने साउदी अरबको भ्रमण गर्नुभएको हो ।

१७ कात्तिक, काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएका छन् ।

गुजरावालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । र्‍यालीमा रहेका उनीसवार कन्टेनरमा आक्रमणकारीले ३-४ राउण्ड गोली हानेका थिए ।

पाकिस्तान तहरीक-ए-इन्साफका महासचिव असद उमरका अनुसार खानलाई खुट्टामा गोली लागेको छ र उनलाई उपचारका लागि लाहोर पठाइएको छ ।

घटनामा अरु ३-४ जना पनि घाइते भएका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । घाइते हुनेमा पाकिस्तान तहरीक-ए-इन्साफका  नेता फैसल जावेद पनि छन् । गोली हान्ने एक जना व्यक्तिलाई पक्राउ गरिएको पाकिस्तानी प्रहरीले बताएको छ ।

कोरियन एयरलाइन्सको एउटा जहाज अवतरणको क्रममा आइतबार राति फिलिपिन्सको विमानस्थलमा धावनमार्गबाट निस्किएर घाँसे मैदानमा जोतिएको छ।

समाचार संस्था रोयटर्सका अनुसार दक्षिण कोरियाको इन्छन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एयरबस ए३३० जहाजले आइतबार मध्यराति फिलिपिन्सको सेबु अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डि ङका क्रममा धावन मार्ग छोडेको हो।

भारी वर्षा भइरहेकाले पाइलट दुई पटक गरेको अवतरण प्रयास असफल भएपछि तेस्रो पटकमा अवतरण गर्दा जहाज धावनमार्गबाट चिप्लिएको हो।
जहाजमा १६२ यात्रु र ११ जना चालक दलका सदस्य थिए। उनीहरूलाई सकुशल जहाजबाट निकालिएको छ।

उक्त जहाज घाँसे मैदानमा गएर धावनमार्गको अन्तिममा अड्किएपछि उक्त विमानस्थलमा उडान र अवतरण हुन सकेको छैन।  अधिकारीहरूले कोरियन एयरको जहाज निकाल्ने प्रयास भइरहेको बताएका छन्। घटनाका विषयमा अनुसन्धान भइरहेको छ।

घटनापछि कोरियन एयरलाइन्सका अध्यक्ष  इ होङ हले वक्तव्य जारी गर्दै माफी मागेका छन्।

१२ असोज, । सामान्यतया राजा राष्ट्र प्रमुख हुने भएकाले उनीहरु आलंकारिक भूमिकामा बस्छन् र जनप्रतिनिधिले कार्यकारी भूमिकामा काम गर्छन् ।

तर, यो मामिलामा साउदी अरेयिबा अलग छ । त्यहाँको राजपरिवारका सदस्य नै सरकार सञ्चालनमा समेत सहभागी हुने गरेका छन् । यही सिलसिलामा साउदी अरबका राजा सलमानले युवराज मोहमद बिन सलमानलाई प्रधानमन्त्री बनाएका छन् ।

साउदी प्रेस एजेन्सीमा प्रकाशित आदेश अनुसार राजाले मन्त्रिपरिषद पुनर्गठन गर्दै छोरा मोहमद विन सलमानलाई प्रधानमन्त्री बनाएका हुन् । युवराज मोहमद यसअघि नै साउदीको ‘डिफ्याक्टो शासक’ जस्तै थिए । उनको प्रधानमन्त्रीमा नियुक्तिसँगै यसले औपचारिकता समेत पाएको छ ।

छोटकरीमा एमबीएसका नामले समेत चिनिने मोहमदले यसअघि नै उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको जिम्मेवारी पाइसकेका छन् । अब यो जिम्मेवारीमा उनका कान्छा भाइ खालिद सलमान हुने छन् जो यसअघि रक्षामन्त्री थिए ।

त्यस्तै विदेश मन्त्री पनि राजपरिवारकै सदस्यले निरन्तरता पाएका छन् । फैसल बिन फरहान विदेशमन्त्रीको रुपमा निरन्तरता पाएका हुन । अर्थ र लगानी मन्त्रीले पनि निरन्तरता पाएका छन् ।

युवराजलाई प्रधानमन्त्री बनाएर ८६ वर्षीय राजाले शक्ति हस्तान्तरण सुरु गरेको टिप्पणी खाडी मुलुकहरुमा भइरहेको छ । यद्यपि अझै केही समय मन्त्रिपरिषद बैठकको अध्यक्षता भने राजाले नै गर्ने छन् ।

राज्यका महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका ३७ वर्षका युवराज मोहमदले सन् २०१६ मा ‘भिजन २०३०’ सार्वजनिक गरेका थिए । जसमा साउदीलाई अरब तथा इस्लामको केन्द्र बनाउने उल्लेख गरिएको छ ।

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते